१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राेगले थलिँदै गाेलबजारवासी

गोलबजार नगरपालिकामा सञ्चालित डेढ दर्जनभन्दा बढी इँटाभट्टाले फालिरहेको कालो धुँवा। तस्बिरःमिथिलेश यादव

गोलबजार – एक दशकअघिसम्म अन्न उत्पादनको केन्द्र मानिने गोलबजार नगरपालिका अहिले इँटाभट्टाको केन्द्र बनेको छ । इँटाभट्टाको फैलिँदो सञ्जालले बस्तीमा खाद्य असुरक्षासँगै रोगको संक्रमण बढाउँदैछ । गोलबजार नगरपालिकामा २१ वटा इँटा उद्योग सञ्चालित छन् । एउटै वडामा पाँचवटासम्म भट्टा पाइएका छन् । धेरैवटा भट्टाबाट निस्कने धुवाँको असर यहाँका बस्ती, धाँजा फाटेका खेत र आँपका बगैंचामा सजिलै हेर्न सकिन्छ।

धुवाँ र प्रदूषणले आसपासका बगैंचामा आँप फल्दैन । खेतबारीमा अन्नबाली उत्पादन हुँदैन । बस्तीका मानिस श्वासप्रश्वास समस्याले पीडित छन्।

गोलबजार मुसहरी बस्तीका रामा सदाय (नाम परिवर्तन) क्षयरोगबाट थलिएका छन् । गाउँकै इँटाभट्टामा मजदुरी गर्ने उनी भन्छन्, ‘सुरुमा खोकी लाग्यो, धेरै समय निको नभएपछि जचाउँदा टिबी रहेको थाहा पाएँ ।’ बिसेक हुनका लागि उनले सरकारी अस्पतालबाट निःशुल्क औषधि त पाएका छन् तर कामको चापले नियमित सेवन गर्न नपाउँदा रोगले झनझनै च्याप्दै गएको छ । अहिले उनी घरमै थला परेका छन्।

राजनीतिक, आर्थिक र सामाजिक रूपमा बलिया इँटा उद्योग सञ्चालकलाई प्रतिकार गर्ने साहस स्थानीयसँग छैन । त्यसैले जति दुःख बेहोर्नुपरे पनि पनि उनीहरू चुपचाप छन् ।

इँटाभट्टाबाट निस्कने प्रदूषणका सिकार हुने सदाय एक्ला होइनन्, गोलबजारका अरू थुप्रै मानिस धुवाँको ’कुहिरो’ का बीच निस्सासिन बाध्य छन् । गोलबजारका बहादुर सदाय भन्छन्, ‘हावा नचलुन्जेल त ठीकै छ, हावा चलेपछि आगोले पोलेजस्तो हुन्छ । यहाँ त बसिनसक्नु हुन्छ ।’ अर्का सगमलाल सदाय घरआँगन कोइला बलेर निस्कने धूवाँको मुस्लो बस्तीभरि फैलिने बताउँछन् । ‘कतिचोटि त हावाले उडाएर ल्याउने कालो धुलो खानामै झर्छ,’ उनले भने।  

राजनीतिक, आर्थिक र सामाजिक रूपमा बलिया इँटा उद्योग सञ्चालकलाई प्रतिकार गर्ने साहस स्थानीयसँग छैन । त्यसैले जति दुःख बेहोर्नुपरे पनि पनि उनीहरू चुपचाप छन् । ‘बोल्यो भने मालिकले लात हानेर निकालिदिन्छ,’ भट्टामा आश्रितहरू भन्छन्, ‘रोगी हुँदा पनि पेटका लागि चुपचाप बस्नुपरेको छ । भोक हेर्ने कि रोग।’

यहाँका मुसहरहरू बर्खाको तीन महिनाबाहेकका समय भट्टामा काम गरेर गुजारा गर्छन् । बस्तीसँगै भट्टा रहेकाले धुवाँको पहिलो सिकार पनि उनीहरू नै हुन्छन् । स्थानीय बासिन्दा भन्छन्, ‘बच्चादेखि वृद्धसम्म सबैको नाकमा वर्षैभरि सकसक भइरहन्छ। बिहान उठ्दा नाकबाट कालैकालो पदार्थ निस्कन्छ । लाग्छ, रातभर धुवाँमा सास फेरेछु, बच्चालाई झन् कति गाह्रो हुँदो हो।’

इलाका स्वास्थ्य चौकी गोलबजारका प्रमुख निरञ्जन शाक्यका अनुसार यस क्षेत्रका बासिन्दामा श्वासप्रश्वास, दम, क्षयरोगसम्बन्धी स्वास्थ्य समस्या बढी रहेको देखिन्छ । दैनिक जचाउन आउने बिरामीमध्ये चारपाँचजना श्वासप्रश्वासका बिरामी रहेको उनको भनाइ छ । नगरका १४ जना क्षयरोगी यो स्वास्थ्य चौकीमा नियमित औषधि सेवन गर्न आउने गरेको शाक्यले बताए । इँटाभट्टाको धुँवा (कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइड) ले वायुमा मात्र नभई पानी र माटोमा पनि नकारात्मक प्रभाव पार्ने उनले जनाए।

बस्तीको बीचमा इँटाभट्टा भएपछि प्रदूषणले मानव स्वास्थ्यलाई हानी पुर्याए पनि कोही बोल्न सक्ने अवस्थामा नरहेको स्थानीय बताउँछन् । एउटै नगरमा यति धेरै इँटा उद्योग हुने गोलबजार देशकै पहिलो नगर रहेको घरेलु कार्यालयका उद्योग अधिकृत राजेन्द्रलाल कर्णले बताए । थप आठदसवटा इँटाभट्टाको लागतकट्टा भइसकेको छ । इँटा उद्योग थपिए यसको संख्या ३० को हाराहारीमा पुग्नेछ । ‘पहिलेदेखि नै धेरै संख्यामा यो उद्योग सञ्चालनमा छन्,’ उनले भने, ‘यति धेरै उद्योगबाट निस्किएको धुवाँको असर त पक्कै पनि हुन्छ ।’ धेरै संख्यामा इँटाभट्टाले एकै ठाउँ स्थापित हुन वातावरण मूल्यांकन प्रतिवेदन कसरी पाए भन्नेबारे आफू अनभिज्ञ रहेको कर्णले बताए।

प्रतिवेदन तयार पार्दा उद्योग कर्मचारी उद्योग सञ्चालन हुने ठाउँमा पुग्नुपर्ने प्रावधान छ । स्थलगत अनुगमन गरेरै प्रतिवेदन तयार पारेको भए यस्तो अवस्था आउने थिएन।

घट्यो खाद्य उत्पादन
इँटाभट्टा (फिक्स चिमनी) ले फाल्ने हानीकारक धुवाँको प्रभावले गोलबजारमा मात्र होइन, आसपासका गाउँमा समेत खाद्यान्न उत्पादन घटेको छ। जिल्ला कृषि कार्यालयको सर्वेक्षणले यी ठाउँमा सञ्चालित इँटाभट्टाको धुवाँले उत्पादनमा असर पु¥याएको निष्कर्ष निकालेको छ।

कृषि कार्यालयका अनुसार जिल्लाको अन्य भागको तुलनामा यो क्षेत्र वातावरणीय दृष्टिले संवेदनशील छ । आँप, गहुँ, धानलगायत उत्पादन अन्य क्षेत्रको तुलनामा यहाँ अत्यन्त कम छ । पहिला वैशाखमा पनि पर्याप्त पानी हुने पोखरीमा अहिले धाँजा फाटेको छ, खेतको हालत पनि उस्तै छ । धुवाँले वातावरण प्रदूषित बनाउँदाको चरम असर यो क्षेत्रका रुखबिरुवा, अन्न उत्पादनमा देखिएको छ।

वायु प्रदूषणका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा रहेको हालै सार्वजनिक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा हालै सार्वजनिक गरेको ‘इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स २०१८’ (इपिआई) प्रतिवेदनअनुसार वायु प्रदूषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा रहेको छ।

प्रतिवेदनमा वायु प्रदूषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको उल्लेख छ । ऊर्जा खपत गर्ने उद्योगमा केही न केही जलाइन्छ । त्यसले धुवाँ पनि फाल्छ । इँटा उद्योगमात्र नभई जैविक इन्धनमार्फत ऊर्जा खपत हुँदा धुवाँ निस्कन्छ । इँटा उद्योगमा कोइला बढी प्रयोग हुनाले धुवाँ बढी आउँछ । त्यसमा मिसिने विषालु एसपिएम भन्ने कणलाई गनेर मापदण्ड बनाइन्छ।

प्रकाशित: १४ माघ २०७४ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App