८ वैशाख २०८१ शनिबार
खेल

फुटबललाई माया गर्नुस्, खेल्नुस्

कोलम्बो –  श्रीलंकाको महिला र पुरुष राष्ट्रिय फुटबल खेलाडीहरूका लागि बुधबारको बिहानी एउटा विशेष उत्साह लिएर आएको थियो । त्यही दिन कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरमा उनीहरूको खेलजीवनका लागि अत्यन्तै दुर्लभ एउटा अवसर प्रतीक्षारत थियो । खेलाडी करियरमा दैनिक हुनेजस्तो त्यो बिहान उनीहरूको कुनै अभ्यास थिएन । तर पनि एकाबिहानै उनीहरूलाई ओछ्यानबाट बाहिर ल्याएको थियो, श्रीलंकामा पहिलोपल्ट पुगेको विश्वकप ट्रफीले । आफैंले जितेर छुने सम्भावना नभएको ट्रफीलाई नजिकबाट हेर्ने र फोटो खिच्ने अवसर पाएका थिए उनीहरूले । त्यही मौका छोप्न पहेलो जर्सी र कालो ट्राउजरमा सजिएर श्रीलंकाका राष्ट्रिय फुटबल खेलाडीहरू इन्डिपेन्डेन्स स्क्वायर पुगेका थिए।

‘पूरै रात बिहानको प्रतीक्षामा बितायौं । बिहानी एउटा बेग्लै एक्साइटमेन्टका साथ आयो,’ श्रीलंकाली राष्ट्रिय टोलीका फरवार्ड निपुना बन्दराले भने, ‘आफ्नै आँखाअगाडि विश्वकप ट्रफी हेर्नु भनेको हामीले सपनामा पनि नसोचेको कुरा हो । अहिले हामी विश्व खेलकुदकै सबभन्दा ठूलो उपाधिसँग छौं।’

निपुनालगायतका राष्ट्रिय खेलाडीहरूलाई बिहानै इन्डिपेन्डेन्स स्क्वायर तान्ने अर्का आकर्षण थिए, १९९८ मा घरेलु मैदानमा विश्वकप जित्ने फ्रान्सेली स्टार क्रिस्टियन कोरम्बो । उनीहरूले त्यहाँ कोरम्बो र ट्रफीसँग फोटो खिच्नुका साथै कोरम्बोसँग विशेष छलफलको मौका पाएका थिए।

अघिल्लो रात ढिलो गरी कोलम्बो आइपुगेको ट्रफीलाई स्थानीय सांग्रिला होटलमा कोरम्बोले सीमित भिआइपीका बीच अनावरण गरेका थिए । त्यसपछि बुधबार बिहान इन्डिपेन्डेन्स स्क्वायरमा राष्ट्रिय खेलाडीका बीच छोटो समय राखेपछि ट्रफीलाई एक सम्मेलन केन्द्र (बिएमआइसिएच) मा आम समर्थकका लागि प्रधानमन्त्री रनिल विक्रेमेसिंगे र कोरम्बोले झन्डै १ हजार ५ सय दर्शकका बीच संयुक्त रूपमा अनावरण गरेका थिए।

‘संसारभरि फुटबल खेलाडीले जुनसुकै अवस्थामा करिअर सुरु गरे पनि त्यसको सबभन्दा राम्रो क्लाइमेक्स भनेको यही ट्रफी हो,’ ट्रफी अनावरणपछि भावविभोर देखिएका निपुनाले भने, ‘हामीले खेलेर जित्न नसके पनि यो ट्रफी नजिकबाट हेर्न र फोटो खिच्न पायौं । यो हाम्रा लागि जीवनभरको निम्ति अविश्मरणीय क्षण हो।’

निपुना र उनका राष्ट्रिय खेलाडीहरूका लागि यो अवसर झन् विशेष यसअर्थमा थियो कि, श्रीलंकाभित्रै पनि फुटबल एक नम्बर खेल होइन । क्रिकेटमा विश्वकप जित्ने गौरवशाली क्षण आत्मसात् गरिसकेको देशमा सबभन्दा लोकप्रिय खेल पनि क्रिकेट नै हो । त्यसपछि रग्बी, बेसबल हुँदै फुटबल लोकप्रियतामा धेरै पछाडि छ।

‘आफ्नै देशभित्र पनि फुटबलर हुनुको गौरव मजाले अनुभव गर्न नपाएका श्रीलंकाली फुटबलरहरूका लागि यो सायद करियरकै सुखद क्षण हुनुपर्छ,’ वरिष्ठ खेल पत्रकार हिसान वेल्मिलाले भने, ‘त्यसैले आज फुटबल खेलाडीहरू उत्सुकतासाथ यहाँ आइपुगेका छन् । चार वर्षमा फिफाका २ सय ९ सदस्य राष्ट्रमध्ये एउटामात्र विजेता बन्छ । तर, यसको महŒव बाँकी विश्वका लागि पनि विजेताको भन्दा कम हुँदैन । जित्न नसक्ने देशका फुटबल खेलाडी र फुटबलप्रेमीका लागि ट्रफी नजिकबाट हेर्ने अवसर यस्तै टुरले जिन्छ।’

दुई दशकदेखि श्रीलंकामा खेल पत्रकारिता गरिरहेको हिसानको अनुभवलाई कोलम्बोमा भेटिएका एक ट्याक्सी चालक अरुनाको भनाइले पनि पुष्टि गर्छ । ‘हामी श्रीलंकनलाई क्रिकेट धेरै मन पर्छ । खासमा क्रिकेट हाम्रो धर्मजस्तै हो । यो हामी श्रीलंकनको गौरव हो । अहिले हाम्रो टिमले धेरै विवादका कारण अन्तर्राष्ट्रिय रूपमा राम्रो नतिजा ल्याउन सकिरहेको छैन । तर एक दिन फेरि हामी क्रिकेटको सबै स्वरूपमा विश्वको नम्बर एक बन्नेछौं । अहिले नतिजा राम्रो नआए पनि केटाहरूले राम्रो गरिरहेका छन्,’ ट्रफी टुरका लागि कोलम्बो पुगेका विदेशी पाहुना बोकिरहे पनि त्यसप्रति कुनै चासो नभएका उनले ट्रफी हेर्ने प्रस्ताव अस्वीकार गर्दै भने, ‘फुटबल मन पर्दैन । फुटबलको कुनै मतलब छैन । क्रिकेट हाम्रो खेल हो।’

विश्व फुटबलको सर्बोच्च निकाय फिफाको मार्केटिङ नीतिअनुसार विश्वकपको प्रत्येक संस्करणअघि ट्रफीलाई विश्व भ्रमणमा निकाल्ने गरिन्छ । फुटबल कम लोकप्रिय भएका ठाउँमा पनि यो खेल र आसन्न विश्वकपप्रति चासो जगाउने उद्देश्यमा २००६ को संस्करणअघि फिफाले प्रायोजक कोकाकोलासँगको सहकार्यमा ट्रफी टुर सुरुआत गरेको थियो । त्यसैको निरन्तरतास्वरूप अघिल्लो संस्करणअघि ट्रफी नेपाल, भारत, बंगलादेश र भुटान गरी दक्षिण एसियाका चार देश ल्याइएको थियो । एकै देशमा लगातार दोस्रो पटक ट्रफी नलाने फिफाको नीतिअनुसार यसपाली ट्रफीको गन्तब्य नेपाल परेन । दक्षिण एसियाका श्रीलंका, माल्दिभ्स र पाकिस्तानले यसपाली विश्वकप ट्रफीलाई आतिथ्य प्रदान गर्ने मौका पाए।

ट्रफी टुरको व्यवस्थापन गरिरहेको कोकाकोलाका दक्षिण पश्चिम एसियाका उपाध्यक्ष देवब्राता मुखर्जी श्रीलंकाजस्तो फुटबल लोकप्रिय नभएको देशमा यस्तो टुर झनै अर्थपूर्ण हुने बताउँदै यस्तो कार्यक्रम राखिएको बताउँछन् । भन्छन्, ‘श्रीलंकामा फुटबल नम्बर एक खेल होइन । यहाँ फुटबल खास मन पराइन्न । तर ट्रफी यहाँ आएपछि जो वालवालिकाले यसलाई नजिकबाट देखेका र यसबारे सुनेका छन्, तिनले विस्तारै फुटबलप्रति चासो राख्न थाल्नेछन् । फुटबल खेल्न थाल्नेछन् । आज खेल्न थाल्ने कुनै दिन अन्तर्राष्ट्रिय स्तरमा पुग्छन भन्ने हाम्रो मान्यता हो।’

फुटबलीय दृष्टिले हेर्दा दक्षिण एसियाको एउटा सानो देश श्रीलंकाबाट विश्वकप ट्रफी टुर सुरु गर्दा २० वर्षअघि विश्वकप जितेका कोरम्बो पनि कम भावुक थिएनन् । ब्राजिललाई हराउँदै विश्वविजेता बन्दाको जोस र भावना कोलम्बोमा ट्रफीको सानिध्यमा रहँदा पनि उनको आँखामा प्रस्टै देखिन्थ्यो । यसपालि रुसमा जुन १४ मा सुरु हुने विश्वकपमा इङल्यान्ड र ब्राजिलसँगै फ्रान्सलाई मुख्य दाबेदार मान्ने कोरम्बोसँग श्रीलंका र दक्षिण एसियाका लागि एउटा सन्देश छ, ‘फुटबल कुनै जात, देश वा वर्गविशेषको सम्पत्ति होइन । यो सम्पूर्ण विश्वको साझा र सुन्दर सम्पत्ति हो । त्यसमा विश्वकप ट्रफीले धेरै समर्थकको सपना र योसँग सम्बन्धित धेरैको त्यागलाई प्रतिनिधित्व गर्छ । त्यसैले फुटबललाई माया गर्नुस् । फुटबल खेल्नुस् । कुनै दिन तपाईंहरु पनि जितेर यसलाई उचाल्न सक्षम हुनुहुनेछ।’

प्रकाशित: १४ माघ २०७४ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App