८ वैशाख २०८१ शनिबार
खेल

फर्केला त नेपाली साख ?

काठमाडौं – २ सय ३६ । नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले दुई वर्षअघि नामिबियामा बनाएको स्कोर हो । नामिबिया त्यही ठाउँ हो, जहाँ नेपालले विश्वकप लक्ष्य राखेर विश्व क्रिकेट लिग डिभिजन २ खेलेको थियो । नेपालबाट सबैभन्दा धेरै रन ज्ञानेन्द्रले नै बनाएका थिए । नेदरल्यान्ड्स,  क्यानाडा र नामिबियालाई हराएको नेपाल युगान्डा र केन्यासँग स्तब्ध बनेपछि विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पनि घुमाउरो बाटोतिर धकेलिएको थियो।

आयरल्यान्ड र अफगास्तिानलाई आइसिसीले एकदिवसीय वरीयतामा समावेश गर्दै नेपाल र केन्यालाई विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका दिएको थियो । दुई वर्षको अन्तरालमा ७ देशसँग १४ खेल खेलेपछि नेपाल पुनः त्यही धरातल अर्थात डिभिजन २ मा थचारिएको छ।

शनिबार नेपाली टोली दुबईको बाटो हुँदै पुनः नामिबियाका लागि प्रस्थान गरिसकेको छ, दुई वर्षअघिकै लक्ष्य लिएर । विश्व क्रिकेट लिग च्याम्पियनसिप, अन्तरमहादेशीय कप र विश्वकप छनोट प्रतियोगितालाई छानिनु, दुई वर्षअघि जस्तै यसपाली पनि नेपालका लक्ष्य हुन् । दुई वर्षको अन्तरमा समयले कोल्टे फेरिसकेको छ । यसपालि नेपालले दुई नयाँ प्रतिद्वन्द्वी पाएको छ, ओमान र युएई । केन्या, नामिबिया र क्यानडा पुरानै हुन् । अन्तिममा ‘फिनिसिङ’ गर्न नसक्दा दुई वर्षअघि अभागी टोलीको ट्याग भिरेको नेपालले यसपाली आफूलाई अब्बल साबित गर्न सक्ला त ?

‘हामी सकारात्मक छौं । पछाडि फर्केर हेर्नुभन्दा भविष्यमा राम्रो गर्नेतिर लाग्नुपर्छ,’ नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा भन्छन्, ‘प्रत्येक खेलाडी र समग्र क्रिकेटको भविष्य यो प्रतियोगितासँग जोडिएको छ । यहाँ दायाँबायाँ भयौं भने हामी फेरी ४ वर्ष पछि धकेलिन्छौं । त्यसैले पनि खेलाडीले मिहिनेतमा कुनै कमी गरेका छैनन् । मानसिक रूपमा हामी बलियो छौं ।’

नयाँ अनुहार
बलिङमा बलियो मानिएको नेपाल ब्याटिङमा भने सधंै संघर्ष गरिरहेको छ । तथापि गत संस्करणको तुलनामा यसपालि नेपालको ब्याटिङ संरचनामा व्यापक परिवर्तन हुने पक्का छ । नेपालको १४ सदस्यीय टोलीमध्ये ७ जना नयाँ अनुहार आउने निश्चित छ । गत संस्करणका ओपनर नरेश बुढाऐर, सुवास खकुरेल, सागर पुनसँगै विनोद भण्डारी, अमृत भट्टराई र भुवन कार्की टोलीमा नहुने पक्का छ । यसअघिका ६ मध्ये तीन खेलमा सागर र सुवास तथा तीन खेलमा सुवास र नरेशले नेपालको ओपनिङ सम्हालेका थिए । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ओपनिङ ब्याटिङ गरेका ज्ञानेन्द्र मल्लले यस प्रतियोगितामा नयाँ जोडी पाउनेछन् । मध्यक्रममा धेरै परिवर्तन नभए पनि ‘लोअर मिडिल अर्डर’ मा परिवर्तन हुने पक्का छ।

दिलीप नाथले ज्ञानेन्द्रलाई साथ दिने सम्भावना बलियो छ । मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले स्थान बनाउँदा लोअर मिडिल अर्डरमा आरिफ शेख, रोहितकुमार पौडेल र अनिलकुमार शाह हुने सम्भावना छ।

तयारी अपुग
आइसिसी विश्व क्रिकेट लिग खेलेर फर्किएपछि खेलाडीहरू घरेलु ट्वान्टी क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिगमा व्यस्त भए । त्यसपछि २१ जनाको प्रारम्भिक टोलीले तीन सातादेखि बन्द प्रशिक्षणमा थियो । नेपालले अब दुबईमा युएई ११ र त्यहाँको स्थानीय क्लबसँग तीन अभ्यास खेल खेलेर नामिबिया प्रस्थान गर्नेछ । तर, मुख्य प्रशिक्षक जगत टमाटा यस तयारीबाट पूर्ण रूपमा सन्तुष्ट छैनन्।

‘हाम्रो हातमा केही छैन । वास्तविकता भन्ने हो भने सबै आइसिसीले गर्छ,’ क्यान निलम्बनको वर्तमान अवस्थालाई संकेत गर्दै मुख्य प्रशिक्षक टमाटाले थपे, ‘हामीले २ महिनाको कार्यक्रम बनाएर बुझाउँछौं । उनीहरू ३० दिनको समय दिन्छन् । कहिले २८ दिनको मात्र हुन्छ । नामिबिया नजिक पर्ने भएकाले हामीले दक्षिण अफ्रिकामा अभ्यास खेल मिलाइदिन अनुरोध गरेका थियौं । पहिले पनि हामीले त्यहीं अभ्यास खेल खेलेका थियौं । तर यसपालि दुबईमा पायौं । उहाँहरूले दुबई नै सहज भयो त्यहीं गर्नुस् भन्नुभयो।’

क्यान राजनीति
१९८८ मा एफिलिएट सदस्य हुँदै आइसिसीसँग आबद्ध भएको नेपाली क्रिकेटलाई एक समय पूर्ण सदस्यता पाउने सम्मावित राष्ट्रका रूपमा हेरिएको थियो । अहिले त्यो सम्भावना पनि यथावत् छ । तर, यहाँको आन्तरिक खिचातानी चरमोत्कर्षमा पुगेपछि अहिले निलम्बनको अवस्थामा छ । निलम्बनबाट सदस्यता खारेजीको अवस्थामा पुग्नै लाग्दा पनि सरोकारवाला जुँगाको लडाईमा अल्झिरहेका छन् । त्यसको असर टोलीको तयारीमा परेको छ । आइसिसीको खटनपटन शिरोधार्य गर्नुको विकल्प राष्ट्रिय टोलीसँग छैन । जुन यस प्रतियोगिताको तयारीमा देखिएको छ।

नेपाली क्रिकेटको यो अवस्था जति लामो समय चल्यो, त्यति नै कष्टकर हुने निश्चित छ । किनकि आइसिसीले यसबीचमा नेपालको क्रिकेट पूरै आफ्नो हातमा लिइसकेको छ । नेपाली टिम छनोटदेखि व्यवस्थापन, कीर्तिपुरमा हुने खेलसमेत आइसिसीले कब्जामा लिइसकेको छ । कीर्तिपुरमा नेपालको राष्ट्रिय टिम खेलिरहँदा झन्डा नेपालको फहरिए पनि त्यसमाथि निर्णयको अधिकार नेपालीमा नहुनु दुर्भाग्य हो।

कहिल्यै थिएन घरेलु संरचना
निलम्बनमा परे पनि घरेलु प्रतियोगिता गर्न सरोकारवालाहरुलाई खास समस्या थिएन । तर, निलम्बनकै बहनामा क्रिकेटका निकाय निष्क्रिय भए । निजी क्षेत्रको प्रयासमा ट्वान्टी–२० स्वरूपका केही प्रतियोगिता भएका छन् । त्यसकै लाज बचाउन राष्ट्रिय खेलकुद परिषद्् (राखेप) ले गत वर्षबाट सर्वाधिक पुरस्कार राशि भन्दै प्रधानमन्त्री कपको थालनी गरेको छ । वर्षा याममा भएको एकदिवसीय नकआउट प्रतियोगिताको दोस्रो संस्करण कहिले हुने अझै टुंगो छैन । क्यान अस्तित्वमै हुँदा पनि लाज जोगाउनकै लागि जसोतसो वर्षमा एक पटक क्षेत्रगत टोली समेटेर राष्ट्रिय प्रतियोगिता गथ्र्यो । त्यो पनि नभएको धेरै भइसक्यो । राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेपालमा घरेलु क्रिकेट भएको मान्न तयार छैनन्।

‘नेपालमा घरेलु क्रिकेट कहिले थियो र ? कहिल्यै थिएन, अहिले पनि छैन,’ खेलाडी छनोट समितिमा समेत रहेका कप्तानले थपे, ‘जबदेखि नेपालमा क्रिकेटको थालनी भयो त्यो बेलादेखि नै यहाँ छैन । अब नयाँ संरचना बनाएर नयाँ सोचका साथ अघि बढ्नुको विकल्प छैन।’

 

प्रकाशित: १४ माघ २०७४ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App