८ वैशाख २०८१ शनिबार
समाज

खोटाङ दुर्घटना : जहाज नउडेपछि सुमो चढेका थिए चौहान

दुर्घटनामा ज्यान गुमाएका खोटाङका ज्ञानबहादुर चौहान । तस्बिर : फेसबुक

खोटाङ – बहिनीको बिवाह आउन १० दिन मात्र बाँकी थियो। बहिनीको बिवाहका लागि आवश्यक सामग्री लिन काठ्माडौं पुगेका खोटाङका ज्ञानबहादुर चौहान झापा फर्कनका लागि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। प्रतिकुल मौसमका कारण काठ्माडौं–विराटनगर उडान रद्ध भएपछि टाटा सुमो जीपबाट झापा (दमक) तर्फ हिँडेका चौहानको यात्रा सडक दुर्घटनाका कारण सँधैका लागि बिचैमा टुंगिएको छ।

काठ्माडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो गत शनिबार धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको पोर्ताहामा दुर्घटना हुँदा २७ वर्षीय चौहानसहित ६ यात्रुको मृत्यु भएको छ। खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा घर भएपनि दमकमा बस्दै आएका चौहानको मृत्युले परिवार शोकमा डुबेको मृतकका आफन्त एबं स्थानीय शिक्षक शंकरमान खत्रीले बताए। ‘कस्तो संयोग ! प्लेनबाट आउन खोजेका रहेछन्, प्लेन क्यान्सिल भएपछि जीपबाट आउनेक्रममा दुर्घटना भएको रहेछ,’ खत्रीले भने, ‘टाटासुमो पल्टिँदा ज्ञानबहादुरको घट्नास्थलमै मृत्यु भएको दुःखद जानकारी आएको छ।’

आफन्तका अनुसार बाबुआमा खोटाङमा बसिरहेका भएपनि ज्ञानबहादुर आफ्नो परिवारसहित दमकमा व्यापार व्यवसाय गर्दै आएका थिए। माघ २२ गतेका दिन हुने बहिनीको बिवाहका लागि आवश्यक सामान खरिद लगायतका कामका लागि उनी काठ्माडौं पुगेको खत्रीले बताए। बहिनीको बिवाहका लागि खोटाङबाट उनका बाबुआमा समेत केही दिनअघि मात्र दमक झरेको आफन्तको भनाई छ। विमानस्थल पुगेका चौहानले फ्लाईटबाट विराटनगर जाँदै गरेको फेसबुक स्टाटस लेखेपनि मौसमका कारण उडान रद्ध हुँदा जीप रिजर्भ गरेर यात्रा गरेको बताइएको छ। ‘बहिनीको बिवाहका लागि सामान लिएर आउनेक्रममा उनी (ज्ञानबहादुर) दुर्घटनामा परेको हो,’ खत्रीले भने, ‘परिवारलाई ठूलो चोट परेको छ।’ निर्मलीडाँडा माविबाट २०६३ सालमा एलएलसी पास गरेका चौहान केही वर्ष अघि मात्र विवाह बन्धनमा बाँधिएका थिए।

दुर्घटनामा संखुवासभाका २९ वर्षीय नवराज जिमी, विराटनगरका ३५ वर्षीया शारदा रेग्मी दाहाल, मोरङका ३३ वर्षीय प्रल्हाद न्यौपाने, मोरङ लेटाङका ४० वर्षीय खेमकुमार रानामगर र पाँचथर रविका ३१ वर्षीय प्रनिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ माघ २०७४ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App