८ वैशाख २०८१ शनिबार
शिक्षा

एक बिद्यार्थीलाई पाँच शिक्षक ! (फोटो फिचरसहित)

एक जना विद्यार्थीलाई पढाउँदै शिक्षक । तस्बिर: दिनेश सुवेदी/नागरिक

रोल्पा – रोल्पाको एकमात्र जलजला बहुमुखी क्याम्पसमा हिजोआज ५ शिक्षकले एक जना बिद्यार्थी पढाईरहेका छन्। बिहान साढे ६ बजेदेखि पठनपाठन हुने क्याम्पसमा पढ्न आउने बिद्यार्थी मुस्किलले २०/२२ जना मात्र हुन्छन्। धेरैजसो कक्षा कोठामा एक बिद्यार्थीलाई एक शिक्षकले पढाई रहेका छन्। स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन संकाय पढाई हुने यस क्याम्पसमा दैनिकजसो शिक्षक र बिद्यार्थीको संख्या बराबर जस्तै रहन्छ। १७ जना शिक्षक रहेको क्याम्पसमा प्राय दैनिक बिद्यार्थी उपस्थिती पनि त्यतिकै संख्यामा हुने गरेको छ। 

रोल्पा नगरपालिकाका योगेश कुँवर बिए तेस्रो बर्षका बिद्यार्थी हुन। प्राय कक्षा कोठामा एक्लै हुने उनी पनि नियमित क्याम्पस आउँदैनन्। ‘प्राय म एक्लै हुन्छु। कहिले काँही एकजना साथी आउथें, उनले पनि कम्प्युटर सिक्न थालेपछि म एक्लै पढ्छु। वैशाखतिर जाँच हुन्छ होला। कोर्ष आधा पनि सकिएको छैन। पोहोर झन आधि पनि नपढेर जाँच दिएका हौं। सर नआएर भन्दा पनि हामी आफै नआएर पनि पढाई अगाडि नबढेको हो। आएर पनि के गर्नु चित्त बुझ्दो पढाई पनि छैन,’ कुँवरले भने। उनलेजस्तै धेरै बिद्यार्थीको पठन पाठनको स्तर खासै सन्तोषजनक नभएको गुनासो छ। 

एक जना बिद्यार्थीलाई विधिपूर्वक पढाईरहेका शिक्षक श्याम बुढामगर क्याम्पसमा बिद्यार्थीको उपस्थिति घट्दै गएपछि चिन्तामा छन्। ‘राम्रा बिद्यार्थी बाहिरी जिल्ला जान्छन। कोही टेक्निकल पढ्न गएका छन्। बाँकी भर्ना भएका पनि आर्थिक अबस्था कमजोर भएका कारण बिभिन्न जागिर, पेसामा जाने गरेका कारण एक दुई जनालाई पढाउनुपर्छ। शैक्षिक गुणस्तर भने राम्रो भएका बताउने बुढा भन्छन्– ‘रेगुलर आउनेहरु त केही पास भएकै छन तर पढ्नै नआएपछि के गर्नु? बिद्यार्थीलाई क्याम्पस जाउँजाउँ भन्ने बाताबरण पनि छैन। एक जनालाई यत्रो सिंगो कोठामा राखेर पढाउन मजा नै आउदैन । तै पनि के गर्नु पढाउनै पर्यो ’

शिक्षक अमृत बुढामगर बिएड तेस्रो बर्षका एक जना बिद्यार्थी हस्ताकुमारी घर्ती मगरलाई पढाईरहेका छन। ‘मेजर अंग्रेजी पढाउँदैछु। प्राय सधै यस्तै हो। एक जना उहाँ मात्र आउनु हुन्छ। यो क्लासका धेरै जसो त बिभिन्न पेशा ब्यबसायमा हुनुहुन्छ। कोही कतै शिक्षण पेशामा समेत संलग्न भएकाले क्लासमा आउने त एक जना मात्र हो,’ बुढाले भने– ‘समस्या छ। एक जनालाई क्लासमा राखेर पढाउनुपर्छ। धेरैलाई पढाएजस्तो आनन्द हुँदैन। बढी बिद्यार्थी आए भने कहिलेकाँही ३/४ जनासम्म आउनु हुन्छ।’

उता बिएड तेस्रो बर्षमा जनसंख्या बिषय पढ्दै गरेकी छात्रा दिपा बुढामगर पनि एक्लै कक्षा कोठामा पढ्नुपर्दा दिक्क छिन। ‘कोही साथी पनि आउँदैनन्। सधै एक्लै हुन्छु, बोर लाग्छ। त्यहीभएर आजकल म पनि कहिले काँही मात्र आउँछु। आए त पढाई हुन्छ। आफै आउँदिन। सधै पढे पो कोर्ष पनि सकिदो हो,’ उनले भनिन्। एक जना बिद्यार्थीलाई पढाउन बाध्य अर्का शिक्षक नबिन श्रेष्ठ पनि आफैसंग सन्तुष्ट छैनन्। ‘औपचारिकता जस्तो मात्र भयो। एक जनालाई भएपनि पढाउनुपर्ने। धेरै बिद्यार्थीलाई संगै राखेर पढाएजस्तो एक जनालाई पढाउँदा सन्तुष्टि हुँदैन रैछ। तर पनि बिद्यार्थी आएमा पढाईरहेका छौं।’  

२०६१ सालमा स्थापना भएको जलजला बहुमुखी क्याम्पस त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका रुपमा चले पनि अबदेखि आंगिक समेत हुने भएको छ। ‘आंगिक क्याम्पसका रुपमा घोषणा भएको छ। आंगिक स्वीकृति भएसंगै मध्यपश्चिम विश्व विद्यालयअन्तर्गत जानेछौं,’ क्याम्पस प्रमुख बिष्णु आचार्यले भने। बिद्यार्थी अनुपस्थित हुनुमा क्याम्पस प्रशासनको कुनै दोष नभएको बताउने आचार्य भन्छन्– ‘क्याम्पस पढ्ने उमेरका प्राय युवा बिदेश जान्छन। कोही जागिरमा छन भने रोल्पामा १२ पास गर्नेको संख्या पनि निकै न्युन छ।’

‘प्रथम बर्षका कक्षाकोठामा त अली अली बिद्यार्थी आउँछन। द्धितीय र तृतीय बर्षको कक्षाकोठामा नियमित आउने बढीमा त्यस्तै ४÷५ जना हो। कति कोठामा त यहाँले देखेजस्तै त्यही एक जना मात्र हो,’ सहायक क्याम्पस प्रमुख गोकर्ण पुनले सुनाए– ‘समाजमा पढ्नुपर्छ भन्ने मानसिकता नहुनु, आर्थिक अबस्था कमजोर भएका कारण कुनै पेशामा लाग्नुपर्ने भएकाले पनि नियमित बिद्यार्थी आउँदैनन्। एउटा बिषयको ५ पिरेड हुन्छ। एक जना मात्र बिद्यार्थी भएपनि ५ जना शिक्षकले ५ पिरेड पढाउनै प¥यो,’ पुन भन्छन।

करिब सवा दुई सय बिद्यार्थी रहेको यहाँ प्रथम बर्षमा अहिलेसम्म ५५ जनाले मात्र भर्ना गराएका छन्। त्यो मध्ये दैनिक क्याम्पस आउने १५÷२० जना मात्र छन्। क्याम्पसका अनुसार द्धितीय बर्षका लागि परीक्षा फारम भरेका करिब ६० जना छन्। उनिहरु पनि दैनिक कक्षा कोठामा आउने भनेका ८÷९ जना मात्रै हो। तेस्रो बर्षको फारम भरेका करिब ९० जना छन, तर दैनिक क्याम्पस आउने भनेको ५÷७ जना मात्र हो। आर्थिक अबस्था कमजोर रहेको यो क्याम्पसमा कहिले काँही त तलब खुवाउनै सकस पर्छ। ‘मासिक सात लाख जति तलब मात्र चाँहिन्छ । बिद्यार्थीको फिस र विश्वविद्यालय अनुदान आयोगबाट आउने ५÷७ लाख अनुदानले धानिएको छ,’ क्याम्पस प्रमुख आचार्यले भने– ‘एमए पनि संचालनको तयारीमा छौं हेरौ कस्तो हुन्छ।’

धेरैजसो शिक्षकहरु बिद्यार्थी नआएपछि बिहानभर क्याम्पस बसेर घरतिर लाग्छन्। कोही भने एक जनालाई पढाउँछन्। एउटा बिद्यार्थीलाई ५ वटा बिषयका शिक्षकले पढाउँछन्। कहि नभएको कक्षाकोठा देखिन्छ यहाँ। ‘पढाई राम्रो भए पो अभिभावकले आफ्ना छोराछोरी क्याम्पस पढ्न पठाउन। शिक्षक नियुक्ति गर्दा जहिले पनि आफन्त हेर्ने अनि कसरी पढाईको स्तर बढ्छ। गाउँतिरकाले यसै पनि डेरा गर्नुपर्ने भन्दै बाहिरी जिल्ला पठाउँछन्। बिद्यार्थी आउनलाई त पढाईको स्तर पनि हुनु प¥यो नि,’ रोल्पाका नागरिक अगुवा खेम बुढा भन्छन्– ‘बिद्यार्थी पढ्न नआउँदा पनि क्याम्पसले कुनै चासो लिएको छैन्। शिक्षकलाई तलब पाके भईहाल्छ। आजसम्म आफ्ना गतिबिधि, संचालन, समस्या, समाधानका बिषयमा क्याम्पस प्रशासनले कतै छलफल गरेको पाईदैन।’ सबै तस्बिर दिनेश सुवेदी/नागरिक

एक जना विद्यार्थीलाई पढाउँदै शिक्षक । तस्बिर: दिनेश सुवेदी/नागरिक
एक जना विद्यार्थीलाई पढाउँदै शिक्षक । तस्बिर: दिनेश सुवेदी/नागरिक
एक जना विद्यार्थीलाई पढाउँदै शिक्षक । तस्बिर: दिनेश सुवेदी/नागरिक
एक जना विद्यार्थीलाई पढाउँदै शिक्षक । तस्बिर: दिनेश सुवेदी/नागरिक
एक जना विद्यार्थीलाई पढाउँदै शिक्षक । तस्बिर: दिनेश सुवेदी/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App