६ वैशाख २०८१ बिहीबार
राजनीति

संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव

काठमाडौँ (रासस)- नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन्।

अखिल नेपाल महिला संघले आज यहाँ स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र सहमति भएमा मधेशी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको स्पष्ट पारे। एमालेले प्रदेश नं २ मा मधेशी दलको नेतृत्वमा सरकार बनाउन पनि पार्टीले समर्थन गर्न सक्ने उनले बताए।

राष्ट्रिय जनता पार्टी र मधेशी जनाधिकार फोरम नेपालले प्रदेशको सीमांकन, नागरिकतालगायतका विषयमा संविधान संशोधनको माग राख्दै आएको छ। “हामीलाई जुन प्रकारले मधेश विरोधी भनेर चिनाउन खोजिएको छ, त्यो गलत हो, हामी जायज मागमा संशोधन र सहकार्यका लागि तयार छौँ।” महासचिव पोखरेलले भन्नुभयो, “औचित्यले पुष्टि गरेमा शक्ति सन्तुलनको विन्यासका आधारमा संविधान संशोधन सधैँ खुल्ला रहन्छ।”

अर्को प्रश्नमा उनले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढे पनि दुवैलाई एउटै सन्दर्भमा जोड्न नमिल्ने बताए। उनले पार्टी एकतापछि प्रधानमन्त्री वा पार्टी अध्यक्षमा आलोपालो नेतृत्व भन्ने सवाल नरही नेताको कार्यविभाजन हुने जनाए।  

महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनमा तालमेल र प्रदेशसभा गठनका विषयमा कार्यदलले काम गरिरहेको र अब बस्ने एकता संयोजन समितिले वैचारिक र संगठन व्यवस्थापनसम्बन्धी कार्यदल गठन गर्ने स्पष्ट पारे।

यसैगरी एमालेका सचिव भीम आचार्यले आज एक बेग्लै पत्रकार भेटघाट गरी प्रदेश नं १ को मुख्यमन्त्रीमा आफ्नो उम्मेदवारी हुने जनाउ दिए। उनले निर्वाचनको टिकट वितरणमा जोडेर आफूलाई लाञ्छित गरिए पनि त्यसमा सत्यता नभएको दाबी गरे। सो प्रदेशको मुख्यमन्त्रीमा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राईको पनि दाबी छ।

 

प्रकाशित: १३ माघ २०७४ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App