coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संरचना निर्माण गर्दा सेनाले महानगरसँग परामर्श गर्ने

काठमाडौं-  नक्सा नै पास नगरी संरचना निर्माण गर्ने गरेको सेनाले अब संरचना निर्माण गर्दा महानगरपालिकासँग परामर्श गर्ने भएको छ।

‘नेपाली सेनाले भौतिक संरचना निर्माण गर्दा महानगरसँग कसरी परामर्श गर्ने भन्ने विषयमा छलफल गर्दैछ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने। हाल  महानगरपालिकासँग कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल भइरहेको भण्डारीले जानकारी दिए। ‘सेनाले आन्तरिक रूपमा छलफल गरिरहेको छ । अनौपचारिक रूपमा महानगरसँग पनि कुराकानी भइहेको छ,’ उनले भने । यस विषयमा छिट्टै निष्कर्षमा पुग्ने भण्डारीको भनाइ थियो।

सैनिक प्रवक्ता भण्डारीले सेनाका संरचना निर्माण गर्दा नक्सा पास गर्ने कुरा भने सम्भव नभएको बताए। ‘सुरक्षाको दृष्टिकोणले नक्सा पास गर्ने कुरा सम्भव हुँदैन,’ भण्डारीले भने। नेपालमा मात्र नभएर अन्य मुलुकमा पनि सुरक्षा निकायद्वारा निर्माण गरिने संरचनाको सुरक्षाका कारण नक्सा पास नहुने उनको भनाई थियो। भण्डारीले नयाँ बनाउने संरचना मात्र नभएर हालसम्म सेनाले निर्माण गरेका कुनै पनि संरचनाको नक्सा पास नगरेको बताए।

‘विगतदेखि नै सेनाले सुरक्षाका कारण संरचना निर्माण गर्दा नक्सा पास गरेको थिएन,’ उनले भने। सेनाले महानगरलाई टेरेन भन्ने कुरा गलत भएको भण्डारीको भनाइ थियो। ‘सेना देशको कानुनभन्दा बाहिर छैन। महानगरभित्र भएपछि हामीले पनि यहीँकै नियम र कानुन मान्नुपर्छ, तर सुरक्षा संवेदनशीलतालाई पनि हामीले ध्यान दिनुपर्छ,’ प्रवक्ता भण्डारीले भने। महानगरको नियमलाई पालना गर्नकै लागि कसरी सहकार्य गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गरिरहेको र त्यसमा टुंगो लागेपछि महानगरसँगै बसेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने प्रवक्ता भण्डारीले जनाए। सेनाले नयाँ संरचना मात्र नभई निर्माण भइसकेका संरचनाका विषयमा पनि महानगरसँग परामर्श तथा छलफल गर्ने जनाएको छ।

काठमाडौं महानगरपालिकाले महानगरभित्र बन्ने संरचनाका लागि अनिवार्य नक्सापास गर्नुपर्ने नियम बनाएको छ। महानगरले भवन निर्माण प्रमाणीकरण कार्यविधी नै बनाएर भवन तथा संरचना निर्माण गर्दा नक्सापास गर्नुपर्ने नियम बनाएको हो। नेपाली सेनाले भवन तथा संरचना निर्माण गर्दा नक्सापास नै नगर्ने तथा महानगरबाट अनुमति नलिने गरेको भन्दै महानगरले असन्तुष्टि व्यक्त गर्दै आएको छ।

प्रकाशित: १३ माघ २०७४ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App