रंगमञ्च

थिएटरमा दुर्गानन्दको कथा

शनिबार, १३ माघ २०७४, १० : ३१ अनिलकुमार कर्ण

एउटा पात्रको मानसिक उद्वेग, तनाव, द्वन्द्व, कुण्ठा, व्यग्रता र संशयबाट आरम्भ हुन्छ, नाटक काशीदेवी । नेपथ्यविहीन रंगमञ्चमा मधुरो प्रकाशसँगै यी जम्मै संवेगले एउटा कालखण्डको निर्ममता र निष्ठुरतालाई पर्गेल्दै सुस्तरी दृश्यहरूको नाटकीयताभित्र एउटा काव्यशृंखला तयार पार्छ । जहाँ अशान्त, अस्थिर र खण्डित जीवनसंघर्षका विडम्बना र विषमता छन् । रंगमञ्चमा घरीघरी हुने हलचलभित्र बाँच्नेहरूको तिक्ततापूर्ण अभिव्यक्ति छ, कटाक्ष व्यवहारको प्रतिविम्बन छ । नैराश्य र पीडाको भारी बोकेर बदलिँदै गरेका सजीव चित्रले दर्शकलाई भने आरम्भदेखि अन्त्यसम्म आँखा रसाउन बाध्य तुल्याउँछ। 

वीरताको कथाले रूपान्तरणका लागि संकल्प र साहस दिन्छ अनि भावी जीवनका लागि मार्गप्रशस्त गर्छ । अर्थात् प्रेरणाको बाछिटाले अन्तर्मनलाई भिजाउँछ । तर, राजनीतिक परिवर्तनका कालजयी पात्र सहिद दुर्गानन्द झाको जीवनवृत्तमा आधारित यो नाटकले त्यतिमात्र गर्दैन, तत्कालीन समाजका बेथिति र विसंगतिलाई उधिन्दै यसमा समकालीनताको स्वाद पस्कन्छ । यो सामयिक चेत नै हो, जसले नवनाटककार निराजन झालाई ‘सम्भावना भएका सर्जक’ भन्दा माथि उठाएको छ । निराजन नाटक निर्माता पूर्णेन्दु प्रोडक्सनको खोज पक्कै होइनन्, तर चलचित्र निर्देशक पूर्णेन्दु झाको नाटकयात्रा गर्ने रहरमा ‘गुन’ लगाउने एउटा प्रतिभाशाली अध्येता भने भएका छन् । तीन वर्षभन्दा लामो अनुसन्धानपछि लेखिएको नाटक काशीदेवीमा आधुनिक दृष्टिको प्रतिष्ठापनमा निराजनको स्वत्व छ । तर, राजधानीका सयौं दर्शकमाझ यसलाई जगाउने काम भने पूर्णेन्दु प्रोडक्सनले गरेको छ । ‘मैथिली रंगमञ्चमा काशीदेवीको प्रदर्शन एउटा टर्निंग प्वाइन्ट हो । लगातार दश दिनसम्म फरक पृष्ठभूमि भएका दर्शक तान्न सफल यो नाटकले राजधानीमा मैथिली नाटक मञ्चनको व्यवसायिक प्रदर्शनलाई आशलाग्दो बनाएको छ,’ वरिष्ठ रंगकर्मी एवं प्राज्ञ रमेश रञ्जनको यो भनाइले काशीदेवीको रंगमञ्चीय महत्तालाई स्थापित गर्छ। 

दुर्गानन्द र काशीदेवी व्यक्ति होइनन्, सिंगो युगको एउटा कथा हो । जहाँ तकलीफदायी संघर्षको ओइरो छ । हरेक युगमा यसको पुनरावृत्ति हुन्छ । पात्रमात्र परिवर्तित हुन्छन् । शासकको कोपभाजनमा परेका हरेक काशीदेवी कालान्तरमा शासक हुँदैनन् । र, काशीदेवीको उत्पीडन अहिले कहाँ सकिएको छ र ? इतिहासलाई सम्झँदा आँसु र रोदनमात्र होइन, गौरवबोध भइरहने दिन आउन अझै बाँकी छ। 

आधा शताब्दी कम समय होइन । समय घर्कंदै जाँदा थुप्रै ऐतिहासिक पात्र विस्मृत हुँदै जान्छन्। कालान्तरमा एउटा ‘मिथक’ को रूप ग्रहण गर्छ । उनका विषयमा नानाथरिका प्रसंगहरू बिस्तारै ‘दन्त्यकथा’ बन्दै पुस्तान्तरण हुन्छन् । जहाँ यथार्थ र भ्रमका बीच प्रमाणिकताको एउटा सन्देहास्पद पर्खाल सदैव दैत्यझैं उधुम मच्चाइरहन्छ । मिथिलाञ्चलका धेरै पात्रका सन्दर्भमा निश्चित समयको अन्तरालपछि यस्तो स्थिति देखा पर्दै नपरेको होइन । यस्तोमा अत्यन्त क्रुर र कठोर कालमा गणतान्त्रिक चेतनाको बीजारोपण गर्ने दुर्गानन्द झाको बदिलानी कथा र त्यसकै पृष्ठभूमिमा विसंगत र विकृत राजनीतिक तथा सामाजिक संरचनालाई आत्मविश्वासी एवं विश्वसनीय ढंगले रंगमञ्चमा ल्याउने निराजनको दृढताले हर्षबढाइँमात्र गर्दैन । आधुनिक सिर्जनचेत कुनै खास पुस्ताको पेवा होइन, समयको आवश्यकता र मिहिनतालाई बुझ्ने सबैको साझा धरोहर हो भन्ने पुष्टि गर्छ। 

निर्दलीय पञ्चायती व्यवस्थाका प्रवर्तक राजा महेन्द्रमाथि जनकपुरमा बम प्रहार गर्ने दुर्गानन्द पक्राउ परेका सहकर्मीहरूलाई तत्कालीन राज्यव्यवस्थाले दिएको यातनाबाट द्रवित भएर स्वेच्छिक गिरफ्तारी दिन नेपाल फर्केका थिए । त्यसक्रममै उनी पक्राउ परे । ब्राह्मणलाई मृत्युदण्ड नदिइने कानुनी प्रावधानमा परिमार्जन गरी उनलाई तत्कालीन शासनले फाँसी दिएको थियो । आत्मसम्मान र स्वाभिमान बन्धकी राखेर माफीनामामा सहीछाप गर्न उनले मानेनन् । बरु गणतन्त्र नेपालको ‘दुस्साहसिक’ सपना सँगालेर उनी सहर्ष मृत्युबरण गर्न तयार भए । त्यतिबेला सोच्नै नसकिने राजनीतिक प्रणालीका पक्षमा एउटा २० वर्षे अल्लारेको यो समर्पण र निष्ठाले रंगमञ्चमा मूर्त रूप लिइरहँदा दर्शकदीर्घामा रहेका र आफै पनि प्रजातान्त्रिक आन्दोलनक्रममा पटकपटक जेलनेल भोगेका पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि आँसु थाम्न सकेनन् । तुलनात्मक रूपमा कमै भावुक देखिने निधि बोली नै अवरुद्ध हुनेगरी भावविह्वल भए । उनको घरनी अनामिकाको पनि स्थिति फरक थिएन । गत साता दस दिनसम्म प्रदर्शन भएको यो नाटकले महन्थ ठाकुर, राजेन्द्र महतोजस्ता नेतालाई मात्र भावुक बनाएन, रंगमञ्चकै यान्त्रिकतामा बाँचेका धेरैजसो रंगकर्मीलाई समेत रुन विवश तुल्यायो । दुर्गानन्दकै नाउँ सुनेर नाटकको व्यवस्थापन गर्न उत्साहित भएका पूर्णेन्दुले भने, ‘हो, यो मेरो लागि एउटा कठिन क्षण थियो । जब मेरो मनमा सर्वनाम थिएटर हाउसफुल भएको सफलताको खुसी थियो । तर, अर्कोतिर नाटकका प्रत्येक दृश्यले आँखा रूझाएको अवस्था।’

एउटा पात्रको सेरोफेरोमा नाटककथा बुनिएको भए पनि यसको दृष्टि र धरातल मिथिलाञ्चलको भूमि नै छ । यहाँको जीवनशैली, सोच र व्यवहारका दृष्टान्तहरूको आधिक्यले नाटकलाई जीवन्त बनाएको छ । शासकको नजरमा हरेक विद्रोही बध्य हुन् र समाजमा बैधव्य पीडाप्रति समानुभूति नभएर उपेक्षा, तिरस्कार र अपहेलना छ । हो, यिनै प्लटमा दुर्गानन्दकी आमा, सासु, संगाती, शासनयन्त्रका प्रतिनिधिहरू रंगमञ्चमा देखिन्छन् । पतिको बलिदानीपछि एकल महिला भएकी काशीदेवीको गर्भ तुहिएकोे घटना रंगमञ्चमा देखिँदा दर्शकले त्यसभित्रका अन्तद्र्वन्द्वलाई समेत अनुभूत गर्छन् । एउटी आमाको आँखैसामु कोख उजाडिँदा र त्यस बखत केही गर्न नसक्ने तडपजस्ता नाटकको परिवेशले दर्शकसँग सजिलै तारतम्य मिलाउँछ । र, नाटक एवं दर्शकबीच एउटा सचेतन सम्बन्ध स्थापित हुन पुग्छ । जबजब नाटकका पात्र रुन्छन्, दर्शकको आँखा रसाउँछ। 

नाटकको भाषा संक्षिप्त र शालीन छ । यसमा एक किसिमको गत्यात्मकता र प्रवाह बोध गर्न सकिन्छ । तर, परिवेशपिच्छे भाषागत भिन्नताभाषिक पार्थक्यभन्दा संवादको प्रकृति र विविधताका आधारमा हुनुपर्ने सतर्कता अपनाइएको देखिँदैन । परिवेश चित्रणमा अनेकथरीका वस्तुभन्दा पात्रको उपस्थितिले ध्यान केन्द्रित गर्छ । केही ध्यान केन्द्रित गर्ने खालका तथ्यात्मक त्रुटि देखिन्छन् । जस्तै गणतन्त्रपश्चात् काशीदेवी राज्यमन्त्री नभएर सहायक मन्त्री बनेकी हुन् । सपथ ग्रहण गराउने पात्रको पाश्र्वमा नेपाल प्रहरी नभएर सेना हुनुपर्ने हो । तर, यी मामुली त्रुटि हुन्। 

विषयवस्तुको संवेदनशीलता र प्रभावका दृष्टिले नाटकमा कतिपय दृश्य अनावश्यक, झन्झटिलो र बोझिलो लाग्छ । हासपरिहास मिथिलाञ्चलिक जीवनको अटुट पाटो हो । तर, अथाह पीडाको प्रक्रियाबाट नाटक गुज्रिरहँदा जथाभावी समाविष्ट गरिएका दुर्गानन्द–काशीदेवीबीचका प्रणय–दृश्यले मूल कथावस्तुबाट दर्शकको दृश्य अन्यत्र तान्छ । यसलाई दिक्कलाग्दो भन्नुपर्दा सोह्रन्नी गलत हुँदैन । दम्पतीबीचको प्रेम–प्रसंग अवास्तविक हुनसक्दैन तर नाटकश्रृंगाराभासको यो धुरीमा फन्को मार्दा अस्वाभाविक प्रतीत हुन्छ । यद्यपि विशुद्ध ग्रामीण परिवेश झल्कने हासपरिहासका अर्का दृश्य भने दर्शकलाई आँसु पुछ्ने र गह्रुंगो हुँदै गएको मन थाम्ने समय दिन्छ । यस्ता दृश्य कुन ठाउँमा अटाउने भन्नेमा अलमल छ । 
नाटकलाई स्तरीय बनाउने नवोदित निर्देशक सरिता साहको प्रयास सराहनीय छ । खासगरी परिवेश चित्रणका लागि जुन किसिमका प्रतीक र संकेतहरू प्रयोग गरिएका छन्, तिनले एउटा पात्रको भाव र संवादबाट प्रक्षेपित हुने चित्र कोरेको छ । रंगमञ्चमा काशीदेवीले धेरैपटक दियो निभाएकी हुन्छिन् । हरेकपटक निभ्दै गरेको दियोसँगै अन्धकारले साम्राज्य फैलाउँछ र त्यहाँ जन्मिन्छन् नाटकमा भन्न खोजिएका तर देखाउन नसकिएका अनेकन उपकथा । जसले दर्शकको मनमस्तिष्कलाई अर्को दृश्यमा प्रवेश गर्नुपूर्वसम्म रत्तिभर आत्तिन दिँदैनन् । यो निर्देशकीय कुशलता हो । महेन्द्र मलंगिया र रमेश रञ्जनजस्ता अतिप्रतिभाशाली निर्देशकमाझ सरिताको यो उपस्थिति मैथिली रंगमञ्चको सुखद दिनतर्फ संकेत गर्छ । यसो भनिरहँदा निर्देशककी रूपमा काशीदेवीमा प्राण भर्ने सरिताको मूलपात्रका रूपमा मञ्चमै देखिने लालसा वा महत्वाकांक्षाले समग्रमा नाटकको प्रभावस्तरलाई कमजोर तुल्याएको छ । केन्द्रीय पात्र निर्देशक नै भएपछि नाटक अब्बल नभएको धेरै उदाहरण छन् । यसबाट अछुतो छैन यो नाटक । कतै न कतै निर्देशकले काशीदेवीकी रूपमा अन्य उपयुक्त पात्र चयन गरेकी भए नाटक अझ उत्कर्षोन्मुख हुन्थ्यो कि भन्ने टिप्पणी गर्ने ठाउँ दिएको छ । दुर्गानन्दका रूपमा उत्पल झाको अभिनय प्रशंसनीय छ । आवाजमा बुलन्दी छ । उनीसँग थप उम्दा अभिनयको अपेक्षा गर्नु अनुचित हँदैन । प्रिति प्रणिता रंगमञ्चमा देखिएकी नयाँ कलाकार हुन् । तर, कुनै पनि हिसाबले उनी सिकारु भएको अनुभव हुँदैन । सम्वाद सम्प्रेषणमा उनमा सहजता र स्वाभाविकता देखिन्छ । अभिनय पनि उत्तिकै प्रभावोत्पादक । राजधानीमा पत्रकारिता गर्न आएका ध्रुव झालाई रंगकर्ममै रस बस्न बेर नलाग्ने उनको रंगमञ्चीय क्रियाशीलताले देखाएको छ। 
कला सीमाविहीन हुन्छ । अझ क्षेत्रीय र भाषिक संकीर्णताभन्दा माथि । नेपाली मातृभाषी कलाकारहरूको बिछट्ट आकर्षक अभिनयले यस्तै छनक दिन्छ । हो, दुर्गानन्दकी आमाको भूमिका निर्वाह गरेकी सरस्वती अधिकारीको प्रस्तुतिले बुढापाकाको ‘कला बखान’ लाई सत्य साबित गर्छ । सिपालु कलाकर्मीका रूपमा सुरभि सापकोटाले पनि ध्याानाकर्षित गरेकी छिन्।  

नाटकको अन्त्य कहाँ हुन्छ ? हुन्छ कि हुँदैन ? यो प्रश्नबारेको छलफल कहिल्यै सकिँदैन । तर, प्रेक्षागृह बाहिर दर्शकको मस्तिष्कमा नाटक रहिरहोस् भन्ने यत्न हुनैपर्छ । नाटकलाई सुखान्त बनाउने जबर्जस्तीले काशीदेवीलाई यो सुविधा प्राप्त हुँदैन । दुर्गानन्द र काशीदेवी व्यक्ति होइनन्, सिंगो युगको एउटा कथा हो । जहाँ तकलीफदायी संघर्षको ओइरो छ । हरेक युगमा यसको पुनरावृत्ति हुन्छ । पात्रमात्र परिवर्तित हुन्छन् । शासकको कोपभाजनमा परेका हरेक काशीदेवी कालान्तरमा शासक हुँदैनन् । र, काशीदेवीको उत्पीडन अहिले कहाँ सकिएको छ र ? इतिहासलाई सम्झँदा आँसु र रोदनमात्र होइन, गौरवबोध भइरहने दिन आउन अझै बाँकी छ। 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

Ncell Footer Ad