सुरेश किरण
नेपालको लोकतान्त्रिक आन्दोलनमा लोकसंगीतको पनि ठूलो भूमिका रहेको छ । लोकतन्त्र प्राप्त गर्न, लोकतन्त्रको विकास गर्न र लोकतन्त्रको संवद्र्धन गर्न लोक–संगीतले धेरै भूमिका खेलेको छ । त्यसैले लोक संगीतकार वा लोक गायक-गायिकाको त यो अधिकार नै बन्छ कि लोकतन्त्र आएपछि लोकको सेवा गर्ने पहिलो लोकतान्त्रिक अधिकार उहाँहरूकै हुनेछ ।
यही दिव्यज्ञानमा आधारित भएर यसपटक सरकारोन्मुख पार्टी नेकपा (एमाले) ले एकजना बहुचर्चित लोकगायिकालाई राष्ट्रियसभाको उम्मेदवार बनाएको छ । तथापि एमालेले गरेको यो निर्णय पार्टीभित्रै विवादित पनि छ । विवादित रहे पनि केही छैन, यो नबुझ्नेले झिकेको विवाद हो । किनभने नबुझ्नेहरू झिक्ने भनेकै विवाद हो ।
एमालेले हालै जुन लोकगायिकालाई उम्मेदवार बनाएको हो, उनको एउटा अत्यन्त चर्चित गीत छ– पोइल जान पाम् शिव, पोइल जान पाम्... । आलोचकहरू यो गीतको समेत आलोचन गर्न थाल्दै छन् । उनीहरूको प्रश्न छ– एमालेजस्तो एउटा कम्युनिस्ट पार्टीले यस्तो गीत गाउनेलाई सांसद बनाउन हुन्छ ?
प्रश्न गर्नेलाई प्रश्न गर्ने अधिकार छ । जहाँसम्म गीतको कुरा छ, गीतलाई एउटा आयामले मात्र हेरेर हुँदैन । कुनै कुनै गीत बहुआयामिक हुन्छन् । यो पनि एउटा त्यस्तै बहुआयामिक जनतान्त्रिक लोकगीत हो । ‘पोइल जान पाम्’ वाक्यांशमा लुकेको नारी मुक्तिको भावनालाई बुझ्नुस् । यो लरतरो भावको गीत होइन । हाम्रो देशमा महिलामाथि कतिसम्मको थिचोमिचो छ भन्दा उनीहरू आफूखुसी पोइलसम्म पनि जान पाउँदैनन् । पोइल जान पनि आमाबाउको स्वीकृति लिनुपर्ने अवस्था छ ।
विवाहित हो भने श्रीमान्को स्वीकृति लिनुपर्ने स्थिति छ । पोइल जानु त महिलाको जन्मसिद्ध नैसर्गिक अधिकार हो । लोकतान्त्रिक अधिकार पनि हो । जुन देशमा महिलाले पोइलसम्म पनि जान पाउँदैनन्, त्यो देशमा महिलामाथि कहाँसम्मको दमन कायम रहेछ भन्ने कुरा त्यसै थाहा पाउन सकिन्छ ।यसविरुद्ध पनि महिलाले आवाज उठाउने काम भयो, संगीतमार्फत । पोइल जाने महिलाको मानव अधिकारको रक्षार्थ यो गीतको रचना गरिएको हो । जस्तो कि ‘गाउँगाउँबाट उठ’ बोलको गीत गाएपछि पूरा गाउँ नै जुरुक्क उठेर आएको थियो । ठीक त्यसरी नै ‘पोइल जान पाम्’ भन्ने गीत सुनेपछि महिलाहरू पनि जुरुक्कै उठेर आएका थिए ।
साथी भजनलालले मलाई एकपटक भनेको थियो, ‘पोइल जान पाम् गीतले महिला मात्र होइन, पुरुषलाई समेत त्यतिकै उठाएको थियो । अझ उठेको मात्र होइन उफ्रेकै थियो भन्दा पनि हुन्छ ।’
मैले अचम्म मान्दै सोधेको थिएँ, ‘पोइल त महिला जाने हो, यसमा पुरुष उठ्नुपर्ने अथवा उफ्रिनुपर्ने कुरा के छ ?’
भजनले भनेको थियो, ‘यो गीत मात्र होइन, गीत गायनको प्रस्तुति पनि त्यस्तै थियो नि । गीत गाइरहेकी गायिकाको पोज नै यस्तो थियो कि त्यो देखेर पुरुष पनि चुप लागेर बस्न सकेन । र, गीतसँगै उफ्रिन गइहाले । मै पनि गएको थिएँ ।’
यसैबाट थाहा हुन्छ, जुन गीतले भजनलाललाई उफ्राउन सक्छ, अरु ‘लाल’हरूलाई नउफ्राउने कुरै भएन । जहाँ यो गीत बज्छ, त्यहाँ महिला र पुरुष दुवै उफ्रिन पुग्छन् । आफू बसिरहेको ठाउँबाट जुरुक्क उठेर गइहाल्छन् । यस्तो ताकत छ यो गीतमा । ‘गाउँ गाउँबाट उठ’ गीतले त गाउँगाउँबाट मात्र उठाउँछ । ‘पोइल जान पाम्’ गीतले ठाउँठाउँबाटै उठाउँछ । वास्तवमा गाउँगाउँबाट उठाउने गीतभन्दा ठाउँठाउँबाट उठाउने गीतको वजन बढी नै हुन्छ ।
त्यस्तै, यो गीतले दिने सन्देश जो छ, त्यो पनि अरु क्रान्तिकारी गीतले दिने सन्देशभन्दा फरक धारको छ । नेपालका कतिपय प्रगतिशील कलाकारले ‘स्कुल जान पाम्’ भन्ने गीत गाए, कतिले ‘राजनीतिमा जान पाम्’ भन्ने गीत गाए, तर ‘पोइल जान पाम्’ बोलको गीत कसैले गाएन ।
के महिलालाई पोइल जानका लागि जागृत गर्नुपर्दैन ? स्कुल जाउँ, राजनीतिमा जाउँ, अफिस जाउँ, जहाँसुकै जाउँ । अन्तमा कहाँ जाने ? उही पोइल होइन ? पोइल जाने भनेको त्यस्तो ठाउँमा जाने हो, जहाँ पुरुष कदापि जान सक्दैन । त्यसैले त्यतातिर जानका लागि पुरुषले कहिल्यै पहल गर्दैन । ‘पोइल जान पाम्’ गीतलाई पुरुषले आलोचना गर्ने मूल कारण पनि त्यही हुनुपर्छ ।
किनभने यो गीतले महिलालाई त्यस्तो ठाउँमा जानका लागि अभिप्रेरित गर्छ, जुन ठाउँमा पुरुष टाउकै फुटाए पनि जान सक्दैन । पुरुषहरू सगरमाथा गए, अन्तरिक्ष गए, चन्द्रमा गए, तर जहाँ गए पनि पोइल गए भन्ने चाहिँ आजसम्म सुनेको छैन । पुरुषहरू जहाँ पनि जान सक्छन्, तर पोइल जान सक्दैनन् । आफूले सक्दै नसक्ने काम गर्न महिलालाई जागृत तुल्याएका कारण पनि यो क्रान्तिकारी गीतप्रति पुरुषहरू इष्र्या गरेका हुन सक्छन् । त्यसैले पनि उनीहरू ‘पोइल जान पाम्’ गीतको कट्टर आलोचना गर्छन् । ‘पोइल जान पाम्’ त एउटा विशुद्ध नारीवादी गीत हो । यसमा पुरुषलाई कहीँ पनि ठाउँ छैन । त्यसैले यो गीतको प्रवद्र्धन पुरुषले गर्दैन । जे गर्नुपर्ने हो, महिला आफैँले गर्नुपर्छ ।
विश्व यति धेरै पितृसत्तात्मक हुँदाहुँदै पनि यहाँ त्यस्ता केही पुरुष पनि बाँकी चाहिँ रहेछन्, जो नारीलाई अन्तरदेखि नै सम्मान गर्छन् । तीमध्ये एक (वा, भनौँ एक मात्र) नेता हुनुहुन्छ, नेकपा एमालेका अध्यक्ष एवं पूर्व तथा भविष्यका प्रधानमन्त्री कमरेड खड्ग ओली । नारीप्रति उहाँको ठूलो सम्मान छ । त्यही सम्मानभावका कारण उहाँले एक नारीलाई नै नेपालको राष्ट्रपति बनाउनुभएको थियो ।
आफ्नो किड्नी प्रत्यारोपण गर्दा त्यो किड्नी पनि उहाँले एक नारीबाटै प्राप्त गर्नुभएको थियो । सायद शरीरभित्रै नारी अंग प्रत्यारोपण गरिएका कारण हुनुपर्छ, नारी भनेपछि उहाँ भुतुक्कै हुनुहुन्छ । अतः ‘पोइल जान पाम्’ गीतलाई अरुले बुझ्न नसके पनि उहाँको नारी–किड्नीद्वारा सञ्चालित पुरुष हृदयले राम्ररी नै बुझे । यो गीतको गहिराइ, उचाइ, प्रगतिशील भाव, क्रान्तिकारी सन्देश सबै बुझेर नै हुनुपर्छ, उहाँले यसका रचयिता एवं गायिकालाई यसपटक राष्ट्रियसभामा पार्टीको उम्मेदवार बनाउनुभयो । दुवै ओलीद्वयलाई बधाई ! अरु के भनौँ ?
प्रकाशित: १३ माघ २०७४ ०३:३८ शनिबार