८ वैशाख २०८१ शनिबार
राजनीति

टुंगो लाग्न सकेन भवन

बुटवल – प्रदेश ५ को राजधानी सहर बुटवलमा प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय र मन्त्रालय रहने स्थानको टुंगो अझै लाग्न सकेको छैन । पहिले सिफारिस भएका ठाउँमध्ये कतिपय सुरक्षाका हिसाबले संवेदनशील र कतिपय कार्यालय तत्काल सार्न अप्ठेरो भएकाले नयाँ विकल्प खोज्दै कार्यालय व्यवस्थान गर्न लागिएको भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सुरेश ठाकुरले बताए।

अहिले प्रदेश प्रमुखको कार्यालय रुपन्देही व्यापार संघको कार्यालयमा छ । यो ठाउँ स्थानका हिसाबले राम्रो भए पनि बनावट सुरक्षाका दृष्टिले उपयुक्त नरहेको निष्कर्ष प्राविधिकले निकालेका छन् । सकेसम्म पार्किङ स्थल भएको भवनको खोजी गरिएको छ । रुपन्देही व्यापार संघको कार्यालयमा पार्किङ स्थल छैन । त्यहीं नजिकै बन्दै गरेको उच्च अदालत सरकारी वकिलको कार्यालय भवनलाई प्रदेश प्रमुख कार्यालयको रुपमा प्रयोग गर्नेबारे छलफल भइरहेको छ ।
पहिले प्रस्तावित भवन भौतिक पूर्वाधार र सुरक्षाले उपयुक्त भएनभएको टुंगो लगाउन सहरी विकास मन्त्रालयले सहसचिव वसन्त राईलाई पठाएको छ । राईसहितको टोलीले पहिले क्षेत्रीय प्रशासन कार्यालयबाट आएको टोलीले प्रस्तावित भवनको बुधबार अध्ययन अवलोकन गरी कतिपय भवनको विकल्प खोज्नेबारे छलफल बढाएको छ ।
यातायात व्यवस्था कार्यालय रहेको भवनमा मुख्यमन्त्रीको कार्यालय र निवास राख्ने भनिए पनि उपयुक्त नभएको निष्कर्ष निकालिएको छ । तत्काल नयाँ ठाउँ खोजेर यातायातका फाइल व्यवस्थापन गर्न समस्या छँदैछ, त्यसका साथै सुरक्षाका दृष्टिले पनि उपयुक्त नभएकाले विकल्प खोज्नेबारे छलफल भएको ठाकुरले बताए । अहिले निर्माण अन्तिम चरणमा पुगेको श्रम कार्यालयको ६ तले भवनमा मुख्यमन्त्रीको कार्यालयसहित दुई मन्त्रालय राख्नेबारे छलफल भएको छ।

‘सकेसम्म नयाँ बन्दै गरेका भवनलाई प्राथमिकतामा राखेका छौं, त्यसो गर्दा मितव्ययी ढंगले कार्यालय व्यवस्थापन गर्न सकिन्छ’, भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख ठाकुरले भने । पहिले श्रम कार्यालयको नवनिर्मित भवनमा तीन मन्त्रालय राख्ने प्रस्ताव गरिएको थियो । मुख्यमन्त्रीको कार्यालय पनि राख्ने भनिएपछि दुई मन्त्रालय त्यहाँ राख्ने प्रस्ताव गरिएको छ । प्रदेशसभा सदस्यलाई शपथ गराउन आएका प्रदेश प्रमुख उमाकान्त झा सडक डिभिजन कार्यालयको अतिथि गृहमा बसेका छन् । सीप विकास कार्यालयको भवनमा निवास तयार नहुन्जेल झा त्यहीं बस्नेछन् । मुख्यमन्त्रीको निवास राजस्व अनुसन्धान कार्यालय रहेको भवनमा बनाउने तयारी गरिएको छ।

उद्योग वाणिज्य संघको हललाई संसद् बैठकस्थल र उद्योग वाणिज्य संघको  सचिवालय कक्षलाई सभामुख र उपसभामुखको कार्यकक्षको रुपमा प्रयोग गर्ने टुंगो लागेको छ । त्यसैगरी गुणस्तर तथा नापतौल कार्यालयमा एउटा मन्त्रालय राख्ने तयारी भएको छ । सकेसम्म मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयको नजिकै मन्त्रालय राख्दा सुरक्षालगायत अरु व्यवस्था मिलाउन सहज हुने ठानिएको छ । पहिले प्रस्ताव गरिएको इलाका वन कार्यालयमा कुनै एक मन्त्रालय राख्ने निष्कर्षमा टोली पुगेको छ।

मन्त्रीनिवासका लागि भैरहवास्थित भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाका भवन प्रयोग  गर्ने र आवश्यक परेमा नजिकैको राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमका केही भवन प्रयोग गर्ने तयारी भएको छ।

यसैबीच, प्रदेश प्रमुखको कार्यालयका लागि खटाइएका १४ कर्मचारीमध्ये सचिव सनतकुमार दवाडी बुटवल आइपुगेका छन् । अरु कर्मचारी केही दिनमै आउने प्रदेश सचिव दवाडीले बताए । कर्मचारी आएपछि सचिवालय व्यवस्थापनको कामले गति लिने उनको भनाइ छ।

प्रकाशित: १३ माघ २०७४ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App