६ वैशाख २०८१ बिहीबार
खेल

निकास निस्कने आशामा सरोकारवाला

काठमाडौं  – नेपाली क्रिकेटको विवादमा दीर्घकालिन समाधान निकाल्ने उदेश्यसाथ शनिबार काठमाडौं आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइओसी) टोली एसोसिएट उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा रहने भएको छ ।

आइसिसी र राष्ट्रिय खेलकुद परिषद (राखेप)का साथै क्रिकेट विवादका दुई पक्ष निर्वाचित कमिटी र अन्य सबैको सहमतिमा बनेको सल्लाहकार समितिका एक सदस्यले जानकारी गराएअनुसार नेपाल मामिलामा निर्णय गर्न सक्ने मुख्य व्यक्ति ख्वाजाको नेतृत्वमा तीन सदस्यीय टोली आउन लागेको हो । ख्वाजासँगै आइसिसीको विश्वव्यापी विकास प्रवन्धक एवं एसोसिएट देशहरुको विषयमा कार्यरत विलियम ग्लेनराइट र लामो समयदेखि नेपाली क्रिकेट विवाद नजिकबाट नियालेका आइसिसी कर्मचारी अमर शेख काठमाडौं आउनेछन् ।

आइसिसीको टोलीसँगै एसियाली क्रिकेट परिषद (एसिसी) बाट पनि इभेन्ट म्यानेजर सुल्तान रानाको नेतृत्वमा दुई प्रतिनिधि नेपाल आउने बुझिएको एक उच्च स्रोतले नागरिकलाई जानकारी गरायो । तर एसिसीका प्रतिनिधिहरु कस्को निमन्त्रणामा आउन लागेको भन्ने विषयमा स्रोतले अनविज्ञता प्रकट गर्यो।

‘एसिसीबाट सुल्तान रानासहित दुई जना आउने कुरा बुझिएको छ । तर उहाँहरुलाई आइसिसीले बोलाएको हो वा नेपालबाटै कसैले बोलाएको भन्ने कुरा चाँही हामीले बुझ्न सकेको छैन्,’ स्रोतले भन्यो ।
राखेप तथा विवादका सबै पक्षसँगको सल्लाहमा आउन लागेको आइसिसी टोलीले आइतबार पूरा दिन र आवस्यक परे सोमबार समेत आधा दिन सल्लाहकार समितिसँग छलफल गर्ने कार्यतालिका बनाएको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कमिटीका अध्यक्ष एवं सल्लाहकार समितिका सदस्य चतुरबहादुर चन्दले जानकारी गराए । त्यसपछि राखेप सदस्यसचिव केशवकुमार विष्ट र आवस्यक परे विवादित पक्षहरुसँग छुट्टाछुट्टै छलफल पनि हुन सक्ने बताइएको छ ।

अध्यक्ष चन्दले आफूहरु हदैसम्म लचिलो भएको तथा आइसिसी र राखेप पनि समस्या समाधानका लागि गम्भीर रहेका कारण यसपाली विवादले निकास पाउने आशा व्यक्त गरे । ‘साधारणसभाबाट अत्याधिक बहुमतका साथ विजयी भए पनि हामीले सबथोक त्याग्न तत्परता देखाएका छौं । नेपाली क्रिकेटलाई निकास दिनका लागि हामीले आफ्ना कुरा ९० प्रतिसतभन्दा बढि छोडिसकेका छौं,’ पछिल्लो समय विवादको गाँठो बनेको क्यान कार्यसमितिका १७ जनाले सोझै केन्द्रिय समितिमा उम्मेदवारी दिन पाउनुपर्ने विषयमा पनि आफूहरु छलफल गर्न तयार रहेको बताउँदै चन्दले भने, ‘हाम्रो एउटै मान्यता भनेको क्यान भन्ने संस्था नै भ्याकुममा रहनु हुँदैन भन्ने हो । समस्या मिलेर जसरी चुनाव गराए पनि हामीलाई मान्य हुनेछ । त्यसपछि आउने कार्यसमितिलाई हामी नेतृत्व हस्तान्तरण गर्न चाहन्छौं ।’

चन्दले आफ्ना सबै अडान छोड्न आफूहरु तयार रहेको बताउँदै आइसिसी, सरकार र सल्लाहकार समितिको सहमतिमा जोसुकैले साधारण सभा तथा चुनाव गराए पनि आफूहरुलाई मान्य हुने बताए । ‘वर्तमान क्यानलाई भूमिकाविहिन बनाए पनि हाम्रो कुनै गुनासो हुने छैन । तर निश्चित समयमा चुनाव हुने ग्यारेन्टी हुनुपर्यो र त्यहाँबाट आउने कमिटीलाई हामीले सत्ता हस्तान्तरण गर्न पाउनुपर्यो,’ उनले भने।

लगातारको विवादका कारण गतवर्ष वैशाखमा आइसिसीले क्यानको सदस्यता निलम्बनमा राखेको थियो । त्यही निलम्बन फुकुवा गर्नका लागि क्यानलाई विधान संसोधन गर्ने तथा सही ट्रयाकमा ल्याउने भन्दै सल्लाहकार समिति गठन गरिएको थियो । सल्लाहकार समितिले बनाएको विधान मस्यौदा निर्वाचित क्यानलाई जस्ताको तस्तै पास गर्न आइसिसीले निर्देशन दिए पनि साधारणसभाले त्यसमा क्यान कार्यसमितिका १७ जनाले मताधिकार नभए पनि उम्मेदवारी दिन पाउने गरी साधारणसभामा भाग लिन पाउनुपर्ने भन्दै संसोधन गरेको थियो ।

त्यसमा सरकारले पनि राखेप तथा मन्त्रालयका तर्फबाट ७ जनाले त्यस्तै हैसियतमा साधारणसभामा भाग लिन पाउनुपर्ने व्यवस्था विधानमा थपाएको थियो । आइसिसीले त्यसलाई अस्विकार गर्दै आएको छ।

प्रकाशित: १३ माघ २०७४ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App