८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाक जेलबाट चन्द रिहा

काठमाडौं– पाकिस्तानको क्वेटा जेलमा रहेका बैतडी हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द रिहा भएका छन् । लामो समयदेखि गैरकानुनी रुपमा पाकिस्तानमा बसेको भए पनि उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएको भन्दै स्थानीय अदालतले उनलाई रिहा गर्ने आदेश दिएको हो । उनी गत पुस २९ गते रिहा भएको उनका दाइ रणबहादुर चन्दले नागरिकलाई जानकारी दिए ।

‘भाई (नरेन्द्र) लाई पाकिस्तानको अदालतले रिहा गरेको छ । जेलमुक्त भएपछि मेरो भाइसँग कुराकानी भयो, अहिले ऊ श्रीमती, छोरा र छोरीसँग छ,’ रणबहादुरले नागरिकसँग भने , ‘पाकिस्तानको अदालत र सरकारलाई धेरैधेरै धन्यावाद ।’

नरेन्द्र १३-१४ वर्षको हुँदा २०४६ सालमा भागेर भारत पुगेका थिए । त्यसपछि उनी परिवारसँग सम्पर्कविहीन भएका थिए । त्यसैवर्ष उनी एकजना पाकिस्तानीको साथ लागेर पाकिस्तान पुगेका थिए । सुरुमा पाकिस्तानको कराचीमा बसेका उनी केही वर्षपछि बलुचिस्तान पुगेका थिए । त्यहाँ उनले मुस्लिम धर्म अँगालेर अफगानिस्तानकी शरणार्थी युवतीसँग विवाह गरेका थिए । उनका एक छोरा र एक छोरी छन् ।

हराएको २७ वर्षपछि २०७३ कात्तिक ११ गते नरेन्द्र नेपालमा रहेका परिवारको सम्पर्कमा आएका थिए । सामाजिक सञ्जालमार्फत उनी परिवारको सम्पर्कमा आएका थिए । परिवारको सम्पर्कमा आएको महिना दिन बित्न नपाउँदै २०७३ मंसिर ८ मा उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको थियो । उनीसँग राहदानी तथा भिसा नभएपछि प्रहरीले क्वेटा जेलमा राखेको थियो ।

पक्राउ परेको ८ महिनापछि नरेन्द्र पुनः परिवारको सम्पर्कमा आएका थिए । पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले खोजी गरी नरेन्द्र क्वेटा जेलमा रहेको पत्ता लगाएको थियो । त्यसपछि उनलाई अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई गत पुस २९ गते जेलबाट रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित: १३ माघ २०७४ ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App