७ वैशाख २०८१ शुक्रबार
समाज

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यावारिधी सुरु

सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि व्यवस्थापन सङ्कायतर्फ विद्यावारिधी (पीएचडी) कार्यक्रमको सुभारम्भ गरेको छ। ६ नम्वर प्रदेश प्रमुख, प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसद र विषयविज्ञको उपस्थितिमा पिएचडी कार्यक्रमको सुरुवात गरेको हो । शुभारम्भ कार्यक्रममा तीन जना विद्यार्थीले अनुसन्धान प्रस्तावनाको समना (डिफेन्स) गरेका छन्।

विश्वविद्यालयमा प्राध्यापनरत सहप्राध्यापक पूर्णमान श्रेष्ठ, सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह र विमा समिति काठमाडौंमा कार्यरत राजेन्द्र महर्जनले विद्यावारिधि अध्ययनका लागि प्रस्तावना पेश गरेको कार्यक्रम संयोजक डा. नारायण पौडेलले बताए । उनीहरु सबैले एमफिल अध्ययन पुरा गरेका छन्। विद्यावारिधि शोधार्थीहरुको निर्देशकको रुपमा रही कार्य गर्न त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरु सुर्खेत आएका छन् ।

डिएचडी कार्यक्रमको सुरुवात गर्दै ६ नम्वर प्रदेश प्रमुख दुर्गाकेशर खनालले विश्वविद्यालयमा उच्चतम तहका लागि अध्ययन अध्यापन शुरु गरिनु प्रदेशकै गौरवको कुरा भएको बताए । ‘आफ्नै घर, आँगनमा उच्च शिक्षा प्राप्त गर्ने मध्यपश्चिमवासीको तीन दशकयताको सपना पूरा भएको छ’ उनले भने, ‘यसलाई दीगो रुप दिनका लागि सबैको साथ र सहयोग आवश्यक पर्छ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नवराज रावतले ६ नम्वर प्रदेशको समग्र विकाससँगै विश्वविद्यालयको बृहत्तर विकासमा आफू क्रियाशील रहने बताए। उनले विश्वविद्यालयका लागि विगतमा गरेको योगदानको जगमा टेकेर अबको पाँच वर्षमा नयाँ उचाईमा पुर्‍याउने प्रतिवद्धता जनाए।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयको नेतृत्वका हिसावले कसैको दवाव र प्रभावमा नपरी शैक्षिक रथ हाँकिरहेको बताए। ‘हामी जे निर्णय गर्छौं ती केवल कागजमा सीमित राख्दैनौं, ऐतिहासिक महत्वका निर्णय कार्यान्वयन गरेरै छाड्छौं’ उनले भने, ‘एक वर्षअघि आजैकै दिन घोषणा गरेको कार्यक्रममा कार्यान्वयन गरेर देखायौं।’

 

प्रकाशित: १२ माघ २०७४ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App