६ वैशाख २०८१ बिहीबार
कला

‘सहिदको रगत’ लाई दशरथ चन्द स्मृति पुरस्कार

सहिद दशरथ चन्द स्मृति पुरस्कार लिदै सुब सेन र प्रदान गर्दै बेणी माधव ढकाल (बाँया) । तस्बिरः रमेश- नागरिक

चितवन – पूर्व प्रशासक सुर्यबहादुर(सुब) सेनले लेखेको इतिहासमा आधारित नाटक ‘सहिदको रगत’ले ‘दशरथ चन्द स्मृति पुरस्कार’ प्राप्त गरेको छ । सहिद सप्ताहको अवसर पारेर बिहिबार यो पुरस्कार कृतिकार सेनलाई हस्तान्तरण गरिएको छ । यहाँ आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयको सेवा आयोगका प्रमुख प्राडा बेणीमाधव ढकालले सेनलाई पुरस्कार प्रदान गरे ।

चितवनबाट प्रकाशित हुने त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले पुरस्कार स्थापना गरेको हो । पुरस्कारका लागि पुराना शिक्षासेवी तथा साहित्यकार आनन्ददेव भट्ट र सुशिला भट्टले अक्षयकोष निर्माण गरेका हुन् । सोही कोषबाट प्राप्त ब्याजले सहिद दिवसको अवसर पारेर साहित्यकारलाई पुरस्कृत गर्ने परिपाटी सुरु गरेको पत्रिकाका सम्पादक तथा प्रकाशक डीआर पोखरेलले बताए ।

सुब सेनले लेखेको नाटक ‘शहीदको रगत’ राणा शासनविरुद्ध संघर्ष गरेका तत्कालिन राजनैतिक दल प्रजा परिषद र राणाहरुले मृत्युदण्ड दिएका चार सहिदहरुको कथामा आधारित छ । ‘नाटकमा ११ अंक र ३३ दृश्यव्यापी कथाहरु छन् । यो नाटक नाटक मात्रै नभएर महानाटक झै छ’ कृतिबारे साहित्यकार प्राडा नारायणप्रसाद खनालले भने ।

नाटकमा राणा शासनविरोधी संघर्षकाल विसं १९९० को पुस २५ गते बिहानदेखि १९९७ साल माघ १५ गतेको आधारातसम्मको समय समेटिएको खनालले बताए । ‘त्यो बेला राणाशासन उन्मुलन गर्न क्रान्तिकारीहरुले गरेको वार्तालाप, प्रजा परिषदको गठन, गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराजलाई मृत्युदण्ड दिएपछि युवा जमातले सहिदको सपना साकार पार्ने कसम खाएसँगै नाटक सकिन्छ’ खनालले भने । विसं २०७३ सालमा आएको नाटकले देशमा सहिदले त्यो बेला देखेको सपना अहिलेसम्म पुरा नभएको अवस्था दर्शाउने पत्रिकाका सम्पादक पोखरेलले बताए ।

पञ्चायत कालमा सुब सेन प्रमुख जिल्ला अधिकारी र अञ्चलाधिससम्म भएका प्रशासक हुन् । जनमत संग्रह अर्थात ३६ सालमा सेन चितवनकै सिडिओ थिए । उनले विभिन्न विधाका ४० पुस्तक निकालेको कार्यक्रममा जानकारी दिइयो । भट्ट दम्पत्तिले विस २०६९ सालमा २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेपछि ‘हाम्रो सिर्जना’ पत्रिकाले ७० सालयता सहिद सप्ताहको अवसरमा पुरस्कार दिदै आएको छ । १० हजार रुपैया नगद राशीको सो पुरस्कार यसअघि चारजना साहित्यकारहरुले पाएका छन् । ७० सालमा पोखराका रविलाल अधिकारी, ७१ सालमा भैरहवाका बुँद राना, ७२ सालमा झापाका चुडामणि रेग्मी र गत वर्ष हरिहर खनालले सो पुरस्कार पाएका थिए ।


 

प्रकाशित: १२ माघ २०७४ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App