८ वैशाख २०८१ शनिबार
समाज

मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई भत्ता


काठमाडौं – सरकारले मिर्गौला,  क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई जीवनवृत्ति भत्ता वितरण सुरु गरेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानअन्तर्गतको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा गई बिरामीलाई चेक हस्तान्तरण गर्दै भत्ता वितरणको औपचारिक सुरुवात  गरे।

सो कार्यक्रममा प्रधानमन्त्री देउवाले क्यान्सरका ११, मिर्गौलाका १० र स्पाइनल इन्जुरीबाट पक्षघात भएका ६ जना गरी २७ बिरामीलाई पाँच हजारको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री देउवाले स्पाइनल इन्जुरीबाट पक्षघात भएका बिरामीलाई भने अस्पतालमा उनीहरू भर्ना भएको वार्डमै पुगेर चेक हस्तान्तरण गरेका हुन्।

२०७४ पुुसमा बसको मन्त्रिपरिषद्को निर्णयले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीबाट पक्षघात भएका बिरामीलाई जीवनवृत्ति भत्ता दिने निर्णय गरेको थियो । सो निर्णयलाई कार्यान्वयन गर्दै बिहीबार प्रधानमन्त्रीले चिकित्सा विज्ञान प्रतिष्ठानबाट वितरण कार्य सुरु गरेका हुन् । यी रोगीले प्रतिमहिना ५ हजारका दरले भत्ता पाउनेछन् । यसको लागि सरकारले नियमावली बनाई वितरण कार्य सुरु गरेको हो । देशैभरि लागू हुने यस कार्यक्रमसँग सम्बन्धित नियमावलीअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको समितिले सिफारिस गर्ने र सो सफारिस सम्बन्धित निकायमा पेस भएपछि बिरामीले भत्ता पाउनेछन् । भत्ता पाउन योग्य बिरामीको पहिचान जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयले गर्नेछ।

चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा आयोजित भत्ता वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी रोगीको अवस्था भयावह छ । यस्ता रोगीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारले प्राथमिकतामा राखी भत्ता वितरणको काम सुरुवात गरेको हो।’

बिरामीले लामो समय झेल्नुपर्ने अप्ठेरोलाई सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रम अघि सारिएको भत्ता वितरण कार्यक्रममा उपस्थित स्वास्थ्यमन्त्री दीपक बोहोराले जनाए । ऐनअनुसार सूर्तिजन्य पदार्थमा लगाइएको करबाट संकलित कोषबाट भत्ता वितरण गरिने भएकाले यो कार्यक्रमले देशलाई आर्थिक भार नपर्ने स्वास्थ्य मन्त्री दीपक बोहोराले बताए। ‘यो कार्यक्रमले जनतालाई कुनै आर्थिक भार पर्ने छैन र नयाँ सरकारले पनि निरन्तरता दिन सक्नेछ,’ स्वास्थ्य मन्त्री बोहोराले भने।

यस कार्यक्रमले अस्पताल गइरहनुपर्ने बिरामीलाई यातायात खर्च तथा पोषणमा ठूलो राहत पुग्ने स्वास्थ्य मन्त्रालयका निमित्त सचिव विनोदमान श्रेष्ठले बताए । ‘मिर्गौला,  क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीको पोषण राम्रो होस्, उनीहरूलाई खाना राम्रो मिलोस् र आउजाउमा सुविधा होस् भनेर पाँच हजार भत्ताबाट कार्यक्रम सुरु गरिएको हो,’ सचिव श्रेष्ठले भने।

सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीसहित विभिन्न ८ वटा गम्भीर रोगका बिरामीलाई १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने  निर्णय पनि कार्यान्वयनमा आइसकेको छ । सो अनुदानबाट बिरामीले धरै राहत पाएका छन्।

प्रकाशित: १२ माघ २०७४ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App