७ वैशाख २०८१ शुक्रबार
खेल

चेल्सीमाथि आर्सनलको प्रहार

लन्डन– आर्सनलले बुधबार सेमिफाइनल दोस्रो लेगमा चिर प्रतिद्वन्द्वी चेल्सीलाई २–१ ले पराजित गर्दै इङलिस लिग कपको फाइनलमा प्रवेश गरेको छ ।घरेलु इमिरेटस् रंगशालामा सम्पन्न खेलको सातौं मिनेटमा इडेन हाजार्डले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । हाजार्डले पेड्रो रोड्रिग्वेजको पासलाई पोस्टको दिशा दिएका थिए ।

तर चेल्सीले धेरै समय अग्रता जोगाउन सकेन । त्यसको पाँच  मिनेटपछि नै चेल्सीका रक्षक एन्टोनियो रुडिगरको आत्मघाती गोलमा आर्सनल खेलमा फर्किएको थियो । आर्सनलका नाचो मोनरियलको कर्नर रोक्ने क्रममा बलले रुडिगरलाई छुदै पोस्टको दिशा लिएको थियो । ६६औं मिनेटमा ग्रानिट जाकाले गोल गरेपछि आर्सनल म्यानचेस्टर सिटीसँगको उपाधि भिडन्त पक्का गर्न सफल भएको थियो । जाकाले एलेसान्द्रो लाकाजेटको पासलाई जाली चुमाएका थिए ।

यसअघि गत साता चेल्सीको घरेलु मैदानमा सम्पन्न खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सिटीले मंगलबार ब्रिस्टोल सिटीलाई समग्रमा ५–२ ले पराजित गर्दै फाइनल टिकट काटेको थियो ।
आर्सनलको २१ वर्षे प्रशिक्षणमा क्लबलाई एफए कपमा धेरैपटक सफलता दिलाए पनि प्रशिक्षक आर्सेन वेंगरले अहिले सम्म लिग कपको उपाधि जित्न सकेका छैनन् ।फाइनल फेब्रुअरी २५मा वेम्बलीमा हुनेछ ।

प्रकाशित: १२ माघ २०७४ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App