८ वैशाख २०८१ शनिबार
राजनीति

मिडिया र अधिकारकर्मीको प्रभावमा फैसला : ढुंगेल

काठमाडाैँ – डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलले मिडियाको प्रभावमा सर्वाेच्च अदालतले आफूलाई जन्मकैदको सजाय तोकेको दाबी गरेका छन्।

अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको अवहेलना मुद्दामा कारागारबाटै पठाएको लिखित जवाफमा ढुंगेलले आफूप्रति अदालतल, मिडिया तथा मानव अधिकारकर्मी पूर्वाग्रही बनेको दावी पनि गरेका छन्।

हालै दर्ता भएको उनको लिखित जवाफमा भनिएको छ, ‘मेरो हकमा अदालत प्रभावमा परेको छ । द्वन्द्वकालीन मुद्दालाई सत्य निरूपण तथा मेलमिलाप आयोगले टुंगो लगाउन विस्तृत शान्ति संझौताको मूलमर्मको प्रतिकूल हुनेगरी प्रतिसोधात्मक रूपमा व्यक्ति हत्या हो भन्दै कथित मानवअधिकारको नाममा सडकमा मानव अधिकारको ढोल पिटेर नाटकीय रूपमा रुवावासी चलाएको भरमा तथा केही प्रकाशनगृले योजनाबद्ध ढंगले सूचनाको स्रोत, अध्ययन र आधारबिना पीतपत्रकारिताको रूपमा नियोजित तरिकाले समाचार सम्प्रेषण गरेकै आधारमा न्यायालय प्रभावित भई फैसला गरेको छ।’

ढुंगेलले सर्वाेच्च अदालत तथा यसको नेतृत्वले न्यायका सम्पूर्ण ढोका नै बन्द गरी खाँदै नखाएको विष लागे झंैगरी सर्वाेच्च अदालत, संविधान, कानुन, न्याय र नजिरको मान्य सिद्धान्तको समेत विपरित घटनास्थलमै नभएको मानिसले हत्या गरेको अभियोगमा आफूलाई दोषी ठहर गरेको जिकिर गरेका छन् । उनले आफू उक्त दिन घटनास्थलमा नभई पसलेको क्रृण तिर्न गएको र सो दिन पसलेकै घरमा बसेको भन्दै सो घटनामा आफ्नो संलग्नता नै नभएको बताएका छन्।

लिखित जवाफमा उनले थप स्पष्ट पारेका छन्, ‘म घटनास्थलमै नभएको मानिसलाई दोषी करार गरी दण्डप्रणालीको उच्चतम दण्ड सर्वस्वहरणसहित जन्मकैदको सजाय दिइन्छ भने त्यस्तो फैसला र सो फैसला गर्ने न्यायाधीसले नै न्यायालयको मानमर्दन गरेको ठहर्छ ।’

सर्वाेच्च अदालतको २०६६ पुस १९ को फैसलाले ओखलढुंगाको टारकेराबारीका उज्जवनकुमार श्रेष्ठको हत्यामा उनलाई सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको थियो । ढुंगेल लामो समय फरार रहे पनि उनलाई पक्राउ नगरेको अभियोगमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध समेत अवहेलनाको मुद्दा दायर भएपछि हालै उनी पक्राउ परी कैद भुक्तान गरिरहेका छन् ।

आफू राजनीतिक अभियन्तासमेत भएकाले बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरेमा त्यसको जमेर प्रतिवाद गर्ने चुनौती पनि ढुंगेलले दिएका छन् । ‘घरमा पालेको बिरालोलाई त झ्यालढोका थुनी पिटियो भने उसले घाँटी समाउन आउँछ भन्दछन् । म त विवेकशील प्राणी (मान्छे) हुँ । अदालतको त्रुटीपूर्ण फैसला पीडित मैले त्यस्तो अदालत र त्यसको नेतृत्वको जयजयकार गर्ने भन्ने हुँदैन,’ ढुेंगलको चेतावनी छ ।
ढुंगेलले आफूले श्रेष्ठको हत्या नगरेको, निजको शवसमेत फेला नपरेको र फैसलामा लिएको गलत तर्क र आधारका भरमा आफूलाई तोकिएको कैद पूर्वाग्रही भएको दावी गर्दै सर्वोच्च अदालतले कयौं मुद्दामा प्रतिपादन गरेको नजिरमा शव फेला नपरेको अवस्थामा सफाइ दिएको दावी गर्दै आफूप्रति नजिरको समेत पूर्वाग्रही भएर प्रयोग गरेको दावी गरेका छन्।

निवेदनमा लिएको दाबी झैं आफूलाई फैसला पालना नभएको विषयमा अवहेलनामा सजाय हुनसक्ने अवस्थासमेत नभएको ढुंगेलको दावी छ । ‘स्वयं सर्वाेच्च अदालतलले यो मुद्दा पुनरावलोकन गरी हेर्दा वा न्याय परिषद्ले उच्चस्तरीय न्यायिक समिति गठन गरी सो फैसला अध्ययन गरी छानविन गर्दा फैसला ठीक छ भन्दछ भने मलाई अवहेलनामा कारबाही गर्ने नैतिक धरातल रहला होइन भने त केवल अवहेलनामा कारबाहीले मात्रै मेरो अदालतप्रतिको दृष्टिकोण कसरी फेरिएला ?’ उनको प्रतिप्रश्न छ। अदालतको काममा अबरोध गर्ने वा आदेशको अवज्ञा गर्ने कार्य मात्र अवहेलना हुने नजिर उल्लेख गर्दै ढुंगेलले आफूमाथि  अवहेलनामा सजाय हुन नसक्ने दाबी गरेका छन् ।

प्रकाशित: १२ माघ २०७४ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App