७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘सूचना प्रविधिको विकासबाट आर्थिक समृद्धि’

काठमाडौं –बिहीबार सुबिसु क्यान इन्फोटेक–२०१८ उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना, सञ्चार प्रविधि क्षेत्रलाई प्राथमिकतामा नराख्दासम्म मुलुकको आर्थिक समृद्धि नहुने बताएका छन् । क्यान महासंघले २४औं संस्करणको रुपमा सुरु गरेको सूचना प्रविधि मेला राजधानीको भृकुटीमण्डपमा मंगलबारसम्म सञ्चालन हुनेछ ।

राजनीतिक गतिरोधका कारण लामो समयदेखि देशमा विकास निर्माणका काम हुन नसकेको चर्चा गर्दै मन्त्री बस्नेतले अब राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धिका लागि प्रविधिमैत्री देश निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।  ‘सूचना प्रविधिको विकास गर्न स्कुलस्तरबाट विद्यार्थीलाई ज्ञान दिन आवश्यक छ,’ मन्त्री बस्नेतले भने, ‘यसको लागि मन्त्रालयबाट केही कार्यक्रम सञ्चालन हुन लागेका छन् ।’

सरकारले सन् २०२७ लाई ‘डिजिटल नेपाल वर्ष’को रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिँदै उनले यसका लागि सबैको सहयोगको अपेक्षा राखेको बताए । यसको सुरुवातको लागि १४ जिल्लाका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा निःशुल्क उपलब्ध गराउने र आवश्यक सामग्री सञ्चार मन्त्रालयले उपलब्ध गराउने काम प्रक्रियामा गइसकेको र तीन वर्षमा देशैभर यो कार्यक्रम कार्यान्वयन गर्ने गरी काम भइरहेको समेत उनले जानकारी गराए ।मन्त्री बस्नेतले मुलुकमा प्रविधिको विकास गर्न निजी क्षेत्रले कस्तो कार्यक्रम चाहेको छ, त्यो प्रस्ताव लिएर आउन आग्रह गरे ।

प्रदर्शनीमा महासंघका सदस्य संस्थाका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित व्यवसायीको सहभागिता छ ।कार्यक्रममा बोल्दै कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा राजधानीमा ६ दिनसम्म ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला’ औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी गराए । उद्घाटनको क्रममा ड्रोन उडाएर पुष्पवृष्टि गरिएको थियो ।

यसपटकको प्रदर्शनीमा भृकुटीमण्डपस्थित मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र बाहिर पाँचवटा ब्रान्डिङ प्रदर्शन कक्ष (स्टल) रहने छन् । त्यसैगरी, ट्रसमा एक सय ४४, खुल्ला स्थानमा १४ र फुड स्टल १० गरी दुई सय २२ स्टल रहेको महासंघले जनाएको छ । प्रदर्शनीमा हार्डवेयर सेल्स एन्ड मेन्टेनेन्स, पावर सोलुसन, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन लगायतका स्टल रहेका छन् ।
यो वर्षको क्यान इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादित सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले ४४ वटा स्टल विशेष सहुलियतमा उपलब्ध गराइएको महासंघले जनाएको छ ।

यसपटकको प्रदर्शनीमा चार लाख अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अपेक्षा छ । सर्वसाधारणका लागि टिकट शुल्क सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । अनलाइनमार्फत टिकट खरिद गर्दा २० प्रतिशत छुट दिइने बताइएको छ । माघ १४ ‘बिजनेस डे’को दिन भने विद्यार्थीका लागि छुट हुने छैन ।

एकै थलोमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको नयाँ–नयाँ प्रविधिबारे जानकारी दिने तथा व्यावसायिक सम्भावना विस्तार गर्ने उद्देश्यले महासंघले प्रत्येक वर्ष प्रदर्शनी आयोजना गर्दै आएको छ । महासंघले सन् १९९५ देखि आयोजना गर्दै आएको यो प्रदर्शनीमा सहभागीले सूचना तथा सञ्चार क्षेत्रमा भित्रिएका पछिल्ला प्रविधिको अवलोकन तथा खरिदको अवसरसमेत पाउँछन् ।

 

प्रकाशित: १२ माघ २०७४ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App