काठमाडौं –पुसको अन्तिम साता नेदरल्यान्ड्सका छ जना शक्तिशाली महिला नेपाल भ्रमणमा आए । उनीहरु भूकम्पपछिको नेपालको अर्थतन्त्रलाई केही योगदान गर्न सकिन्छ कि भन्ने बुझ्नका लागि नेपाल आएका थिए ।
ती ६ जना महिलाले आफूहरुबीच अत्यन्त आत्मियता भएको बताउँछन् । उनीहरुको व्यक्तिगत कथा र जीवनी धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । शक्तिशाली कम्पनीका सदस्यसमेत रहेका उनीहरुले संसारका धेरै देशमा विभिन्न परियोजनामा काम गरिसकेका छन् । अहिले नेपालका दूरदराजका गाउँहरुलाई विशेष ध्यान दिएका छन् ।
उनीहरुले नेपालीलाई सहयोगी, कुशल र मिहेनेती भएको पाएका छन् । उनीहरुले बालबालिकामा हुने शारीरिक अपांगतालाई घटाउनका लागि इन्सपायर टू केयर भन्ने अभियान सुरु गरेका छन् र यो अभियान नेपालको तीनवटा प्रदेशमा विस्तार गरेका छन् । यी महिलाले करुणा फाउन्डेसनको आमन्त्रणमा हालै इलाम, सुनसरी र पूर्वी नेपालको अन्य गाउँको भ्रमण गरेका छन् । करुणा फाउन्डेसन नेदरल्यान्ड्सकी प्रबन्धक बेट्टेकी दी गे फर्टम्यान धेरैपटक स्थानीय उद्यमशीलता, आत्म भरोसा र गरिबको सशक्तिकरणमा स्थानीय उद्यमी संस्थालाई समर्थन गर्न नेपाल आइसकेकी छन् । उनले आफ्नी कान्छी बहिनी म्यारीलाई पनि पछिल्लो यात्रामा नेपाल ल्याएकी थिइन् ।फर्टम्यानले आम्सटर्डामबाट काठमाडौं सीधा हवाई यात्रा सुरु गर्नका लागि नेदरल्यान्ड्सको ध्वजावाहक विमान कम्पनी केएलएमका अध्यक्षलाई सन्देश पठाएकी थिइन् ।
उनी एक कानून व्यवसायी र केएलएमको गैर कार्यकारी बोर्ड सदस्यसमेत हुन् । उनले नेदरल्यान्ड्समा उमन इंकको पनि नेतृत्व गर्छन् जसले युवतीहरुलाई उनीहरुको सपना पूरा गर्नका लागि सफल र शक्तिशाली महिलालाई आफ्नो टोलीमा लिने गर्छ ।म्यारीका अनुसार संगठनले स्वतन्त्र महिलाहरु सिर्जना गर्ने समावेशी दृष्टिकोण लिन्छ जो आफ्नो करियरको लागि जिम्मेवार हुन्छन् । उनले नेपालका युवतीहरुलाई आफ्नो सपना पूरा गर्न यस्तैखाले व्यवस्था हुनुपर्नेमा जोड दिन्छिन् ।
‘तपार्इंंले यहाँको जमिनमा जे रोपेपनि फल्छ,’ नेदरल्यान्ड्सको एक पुरानो पानीजहाज बनाउने कम्पनी चलाउने थेक्ला बोडवेज भन्छिन् । नेपालले नेदरल्यान्ड्सबाट भौतिक संरचना र परियोजनाको व्यवस्थापन सम्बन्धी धेरै सिक्नुपर्ने उनले अवलोकन गरेकी छन् । टोलीकी अर्की महिला इलोना हाइजर नेपाली कम्पनीले किन गढिएको खाना उत्पादन गर्न र निर्यात गर्न सकेका छैनन् भनेर अच्चम मान्छिन् । उनी जटिल, विश्वव्यापी, बहुमुद्रा र बहु सम्पत्ति व्यवसायको नेतृत्व गर्नमा अनुभवि छिन् । उनी शीर्ष डच व्यापारिक म्यागजिनले म्यानेजमेन्ट टिमले गरेको ‘भविष्यका सिइओ’ को रुपमा नेदरल्यान्ड्सबाट ४५ वर्षमुनिका ५० वरिष्ठ कार्यकारीमध्ये छनोट भएकी थिइन् । उनलाई पहिले नेपालबारे धेरै थाहा थिएन तर अहिले उनी यहाँका मानिसको व्यवहार र मन देखेर खुसी छिन् । उनी यहाँका मानिसलाई थप प्रशिक्षणको आवश्यकता देखेकी छन् जहाँ उनीजस्तो बहुसंख्यक प्रभावकारी भूमिका खेल्न सक्छन् ।इलोनाका अनुसार यसलाई शीर्ष स्थानमा ल्याउनका लागि लचकता नै प्रमुख विशेषता हो । उनी एक सम्पन्न परिवारमा जन्मिएकी थिइन तर उनको अभिभावकको पारपाचुके भयो र विश्वविद्यालय जान कुनै पारिवारिक ट्र्याक रेकर्ड थिएन ।
उनले सानै उमेरदेखि सबै कुरा आफैंले गर्नुपर्यो । ‘मलाई थाहा छ कि नेपालमा पनि धेरै महिला सानै उमेरदेखि कठिन परिस्थितिको सामना गर्दै आएका छन् र मलाई आशा छ कि उनीहरुमा आफ्नो अर्थपूर्ण करियर बनाउनका लागि यसमा लागिरहने धैर्यता छ,’ उनी भन्छिन् ।
नेपालमा मानिसबीच विभिन्न उपाय आदान प्रदान गर्नका लागि विश्वविद्यालय, अनुसन्धान र विकास केन्द्र हुनुपर्ने इलोना बताउँछिन् । उनी नेपाली चियाको उदाहरण दिँदै सही ब्रान्डिङ र मार्केटिङ गरे अन्तर्राष्ट्रिय बजारमा सजिलै पुर्याउन सकिने बताउँछिन् ।
‘नेपालले पहिला एक वा दुई उत्पादन लिएर परीक्षण गर्नुपर्छ,’ क्यारोलिइन गेहरेल्स भन्छिन् । उनी आम्सटरडामको लाइडेन एन्ड मासट्रिचका अन्तर्राष्ट्रिय सिटी मार्केटिङ कार्यक्रम चलाउँछिन् र ‘आई आम्सटर्डाम’ विकास गरेकी हुन् । उनी सन् २००६ मा आम्सटरडामको उपमेयरमा पनि मनोनयन भएकी थिइन । क्यारोलिन एक इन्जिनियरिङ कम्पनी चलाउँछिन् र सिटी टु सिटी लर्निङमा केन्द्रित भएर काम गर्छिन् । उनी सहरको व्यवस्थाको बारेमा जानकार छिन् । त्यसैले उनी संरचनात्मक वातावरणमा काम गर्न मन पराउँछिन् । उनले यसै अनुसार इन्जिनियरलाई सहरसँग जोडेकी छिन् । ‘मानिसको इच्छा र संगठनात्मक कौशलताले सहर जीवन्त बन्छ,’ क्यारोलिन भन्छिन् ।
मेलिन्दे कासेन्स २०१६ मा नेपाल आएकी थिइन र नेपालीहरु भूकम्पपछिको दैनिकीसँग कसरी जुधिरहेका छन् भनेर भिडियो निर्देशन गरेकी थिइन् । उनी नेदरल्याण्डको एक प्रमुख पब्लिक सर्भिस ब्रोडकास्टर डच ब्रोडकास्ट फाउन्डेसनकी संवाददाता र निर्देशक समेत हुन् । उनले यहाँ धेरै सम्भावनाहरु महशुस गरेकी छन् । मानिसहरु नेपालमा पैसा कमाउने भन्दा अरु धेरै कारणले काम गर्न उत्साहित हुने गरेको उनको अवलोकन छ । नेपालले कला, फिल्म र वृतचित्रहरुबाट आफ्नो कथा बताउन सक्ने उनी बताउँछिन् ।
उनका अनुसार यसले नेपाल बाहिरका नागरिकले यहाँ के यहाँ विभिन्न क्षेत्रमा प्रशस्त सम्भावनाहरु छन् भनेर जान्न सक्नेछन् । यी ६ जना महिलाहरु नेपाली उत्पादन र कम्पनीहरुलाई विश्व बजारसँग जोड्न चाहन्छन् । उनीहरु केही उत्पादनलाई अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन ब्रान्डिङ गर्न समेत इच्छुक छन् ।
प्रकाशित: १२ माघ २०७४ ०१:२५ शुक्रबार