coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कान्ति लोकपथको १० किलोमिटर मात्रै कालोपत्रे

काठमाडौं-६० वर्षअघि ट्र्याक खोलेको कान्ति लोकपथको (हेटौंडा–ललितपुर) कामको प्रगति ५२ प्रतिशतमात्रै भएको छ । सरकारले चालु आर्थिक वर्षभित्र कान्ति लोकपथ निर्माण सम्पन्न गर्ने भने पनि नबन्ने निश्चित भएको छ ।

सरकारले विशेष प्राथमिकतामा राखेर काठमाडौं–हेटौंडाको वैकल्पिक मार्गको रुपमा यो लोकमार्गलाई अघि सारे पनि तोकिएको समयमा आयोजना सम्पन्न नहुने निश्चित भएको हो ।कान्ति लोकपथ सडक आयोजनाका इन्जिनियर नरेन्द्रप्रसाद भट्टले अहिलेसम्म यसको काम ५२ प्रतिशत मात्रै सम्पन्न भएको बताए । ‘कान्ति लोकपथ निर्माणका लागि अहिलेसम्म ८६ करोडभन्दा बढी खर्च भइसकेको छ,’ इन्जिनियर भट्टले भने, ‘आयोजनाको प्रयास जारी छ ।’

उनका अनुसार अहिले विभिन्न गाउँपालिकाअन्तर्गत १३ प्याकेजमा लोकपथको काम भइरहेको छ । हेटौंडादेखि ललितपुरको टीकाभैरवसम्मको सडक विस्तार भइरहे पनि काम प्रभावकारी हुन सकेको छैन ।  
प्रमुख समस्या
कान्ति लोकपथ निर्माणमा सुक्खा पहिरो नै प्रमुख समस्या बनेको छ । जुनसुकै बेला पहिरो जाने भएका कारण सडक चौडा गर्ने क्रममा समस्या देखिएको छ ।यस्तै यस लोकपथको विभिन्न क्षेत्रमा बाटो चौडा गर्ने क्रममा विष्फोटक पदार्थ चाहिएको तर त्यसको अभाव भएकाले पूरा हुन सकेको छैन । आयोजनासँग विष्फोटक पदार्थ अभाव छ । करिब तीन किलोमिटरमा विष्फोट गर्नुपर्ने इन्जिनियर भट्टले बताए ।

उनका अनुसार नेपाली सेनासँग मात्रै विष्फोटक पदार्थ भएका कारण असहज भएको हो । यसका लागि सडक विभागसँग आयोजनाले समन्वय गरिरहेको जनाएको छ । विष्फोटक पदार्थ नहुँदा ललितपुरको भालुखोलादेखि कार्कीबाससम्म र डाडुखोलादेखि छबेली भन्ने ठाउँसम्म बाटो चौडा हुन सकेको छैन।  

लोकपथ आसपास बसोबास गर्ने स्थानीयले मुआब्जा माग गर्दै बेलाबेलामा सडक विस्तारमा अवरोध गर्ने गरेका छन् । यसले गर्दा पनि तीव्र गतिमा काम गर्न समस्या भएको आयोजनाले जनाएको छ । यो समस्या पटकपटक आउने गरेको छ।

यस्तै, बिजुलीको पोल सार्न पनि समस्या देखिएको छ । सडक विस्तार गर्दा बिजुलीको पोल सार्नुपर्ने अवस्था छ ।ललितपुरको टीकाभैरब पुलदेखि मकवानपुरको बुद्धचोकसम्म ७९ किलोमिडर लम्बाइ रहेको यस लोकपथमा ६ दशकमा १० किलोमिटर मात्रै कालोपत्रे भएको छ । आयोजनाका अनुसार ललितपुर खण्डमा एक किलोमिटर र मकवानपुर खण्डमा नौ किलोमिटर गरी १० किलोमिटर सडक खण्ड कालोपत्रे भएको आयोजनाका इन्जिनियर भट्टले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षभित्र ललितपुर खण्डमा १५ किलोमिटर र मकवानपुर खण्डमा १५ गरी २० किलोमिटर सडक कालोपत्रे गर्दै ४० किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने लक्ष्य लिएको छ ।
योजनाले यस लोकपथको १३ वटै खण्डमा कालोपत्रे गर्न ठेक्का समेत लगाइसकेको छ । अहिले सडक कालोपत्रे गर्ने, चौडा गर्ने, सडक संरचना तयार पार्ने, ग्राभेलिङ गर्ने काम अघि बढाएको छ ।
‘यस सडकको काम सुरु भएको ६० वर्ष भइसकेको छ । समयमा काम सकाउने उद्देश्य छँदैछ । ठेक्का अनुसार काम भइरहेको छ,’ इन्जिनियर भट्टले भने, ‘निर्माण कम्पनीहरु खटिइरहेका छन् । हेरौं सकभर यो वर्ष नै सम्पन्न गर्नेछौं ।’सडक चौडा गर्ने कामका लागि योजनाले बहुवर्षीय ठेक्का प्रणालीमार्फत कञ्चनजंगा गोल्डेन ग्रुप, कन्टेक प्रालि, हनुमान कन्सट्रक्सन, महालक्ष्मी एन्ड ब्रदर्स जेभी, एससिसी मोतिदान जेभीलाई ठेक्का दिएको छ ।  

यस सडकको ललितपुर खण्डमा रानीबास, काल्चे, मौरीभिर लगायत खण्डमा ट्र्याक मात्रै छ । सडकको चौडाइ तीनदेखि पाँच मिटर रहेको र त्यसलाई साढे आठ मिटर चौडा गर्ने लक्ष्यअनुसार काम भइरहेको आयोजनाले जनाएको छ ।
लोकपथले स्थानीयको जीवनस्तरमा सुधार
कान्ति लोकपथ बनिसकेपछि ललितपुरका दुर्गम दक्षिणी–पूर्वी भेग र मकवानपुरका उत्तरी भेगका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने प्युटारका स्थानीय प्रकाश थिङले बताए । ‘सडक बने यहाँको कृषि क्षेत्रले फड्को मार्नेछ । यस्तै, पर्यटकीय क्षेत्रमा समेत टेवा पुग्दा स्थानीयको आर्थिक स्तर वृद्धि हुन्छ,’ उनले भने ।लोकमार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटो –चापागाउँ दोबाटो) हुँदै सुनाकोठी, चापागाउँ, टीकाभैरव, तीनपाने भञ्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिंगन, मकवानपुरको आलेभञ्ज्याङ, बुद्धचोकसम्म (९० किलोमिटर) तीन घन्टामा पुग्न सकिन्छ ।

 

 

 

प्रकाशित: १२ माघ २०७४ ००:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App