coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बुद्धले किन्यो दसौं जहाज

काठमाडौं – निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले १ अर्ब रुपैयाँ लगानी गरी थप एकथान जहाज खरिद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने उक्त जहाज बुद्धको १०औं जहाज हो। 

बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजको थप एउटा जहाज खरिद गरेको हो । यस्तो जहाज फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरले उत्पादन गर्दै आएको छ । अहिले खरिद गरिएको सिरिजको जस्तो जहाज बुद्धले हाल चारथान सञ्चालन गरिरहेको छ। 

‘हाम्रो कम्पनीको दसौं तथा ७२ सिट क्षमतायुक्त एटिआर७२–५०० सिरिजको पाँचौं जहाज बिहीबार काठमाडौं आइपुग्छ,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुधबार नागरिकसँग भने, ‘यो जहाजका लागि एक अर्ब रुपैयाँ लगानी गरेका छौं ।’
पाँचौं एटिआर७२ जहाज आएपछि उडान संख्या उल्लेख्य दरमा वृद्धि गर्ने तयारीमा बुद्ध लागेको छ । हाल दैनिक ३५ उडान गरिरहेको कम्पनीले नयाँ जहाज थपिएपछि उडान संख्या बढाएर ५० पु¥याउने योजना बनाएको छ। 

‘आगामी फागुन ८ गतेबाट नयाँसहित १० जहाजबाट दैनिक नियमित ५० उडान सञ्चालन गर्छौं,’ बस्नेतले भने, ‘त्यसबेलासम्म तराईको मौसममा पनि सुधार आउने छ र दिन पनि लामो हुँदै जान्छ र त्यसैलाई लक्ष्य गरेका छौं ।’ 
नयाँ जहाज प्रशान्त महासागरको दक्षिण–पश्चिममा रहेको न्यु क्यालेडोनियाबाट उडेर अस्ट्रेलिया, त्यहाँबाट इन्डोनेसिया र त्यहाँबाट थाइल्यान्डको बैंकक हुँदै काठमाडौं आइपुग्ने बुद्धले जनाएको छ । छोटो दुरीमा उडान गर्ने जहाज भएका कारण धेरै ठाउँमा रोकिँदै आउनुपर्ने कम्पनीको भनाइ छ। 

– ७२ सिट क्षमतायुक्त एटिआर७२–५०० सिरिजको जहाज बिहीबार काठमाडौं आइपुग्ने  
 

बुद्धका बजार निर्देशक रुपेश जोशीका अनुसार मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ जहाजलाई ‘९एन–एएमएफ’ कलसाइन दिएको छ । ‘नयाँ जहाज थपिएपछि कम्पनीको उडान विश्वसनियता अझै बढ्ने छ भने यात्रुले सरल भाडा दरमा सहज तरिकाले उडान गर्न पाउनेछन्,’ उनले भने।

बुद्धका अनुसार नयाँ जहाज आएपछि वर्षको ३ सय ६५ दिन नै उडान हुनेछन् । कम्पनीसँग रहेका नौथान जहाजको मर्मत अवधि वर्षमा २ सय ७० दिन हुने गर्छ । यसको अर्थ एउटा जहाज एक वर्षमा ३० दिन मर्मतका लागि ‘ह्यांगर’ मा बस्ने गर्छ । 
बुद्धले यही मर्मत अवधिमा आफ्ना यात्रु तोकिएको समयमै गन्तव्य पुग्न सकून् भनेर नयाँ जहाज खरिद गरिएको जनाएको छ । नयाँ जहाज आएपछि १० थान जहाज हुनेछन् । त्यसपछि मर्मत तालिकाअनुसार पालैपालो जहाज मर्मतमा बस्छन् र नौथान जहाज पालैपालो निरन्तर उडान गरिरहने कम्पनीको भनाइ छ। 

‘ब्रान्ड न्यु’ (नयाँ) खरिद गर्दा २ अर्ब २५ करोड रुपैयाँहाराहारी पर्ने भएका कारण केही वर्ष उडेको जहाज १ अर्ब रुपैयाँमा खरिद गरिएको कम्पनीको भनाइ छ । मुलुकको हवाई नीतिमा १५ वर्षभन्दा पुरानो जहाज ल्याएर उडान गर्न नपाइने उल्लेख छ ।  
नेपालबाट २ घन्टा ३० मिनेट दूरीमा पर्ने सम्पूर्ण गन्तव्यमा ‘टर्बोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विगतमै अनुमति पाइसकेको छ । उसको अन्तर्राष्ट्रिय उडान लाइसेन्स अद्यावधिक छ। 

दुई दशकदेखि आन्तरिक उडानसँगै भुटानको पारो र भारतको बनारसका लागि ‘चार्टर्ड’ उडान गर्दै आएको बुद्धले आन्तरिक उडानतर्फ ६३ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीमा हाल करिब ८ सय ५० कर्मचारी काम गर्छन् । बुद्धले सन् २०२१ अगस्ट १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गत असोजमा गरेको थियो । त्यसैगरी २०७५ भदौ १६ बाट भारतको कोलकाताका लागि नियमित उडान गर्ने घोषणा पनि गरिसकेको छ। 

बुद्धले उडान सुरु गरेयता स्वदेशी तथा विदेशी गरी हालसम्म करिब १ करोड यात्रुलाई गन्तव्य पु¥याइसकेको छ । कम्पनीले पर्यटन÷घरेलु उडानतर्फ सबैभन्दा बढी कर÷राजस्व बुझाउन सफल पनि भएको थियो । हाल यसले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई गन्तव्य पु¥याइरहेको छ। 

बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका चारवटा ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् । यी नौ जहाजको मूल्य ६ अर्ब २५ करोड रुपैयाँबराबर रहेको छ । त्यसबाहेक कम्पनीसँग १ अर्ब २५ करोड रुपैयाँबराबर मूल्यका जगेडा पुर्जा पनि छन्।  

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ भने २०७५ वैशाख १ देखि पोखराबाट नेपालगन्ज उडाउने मिति सार्वजनिक गरिसकेको छ । दुर्गम भेगका गन्तव्यमा उडान गर्ने योजना कम्पनीको छैन।

कम्पनीले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर ह्यांगर’ पनि सञ्चालन गरिरहेको छ । उक्त ह्यांगरमा आफ्ना जहाजमात्र नभई बंगलादेशको नोभो एयरका एटिआर जहाज र त्यहीँकै हेल्लो एयरका बिचक्राफ्ट जहाज पनि मर्मत गरिरहेको छ । विगतमा भुटानको ड्रुक एयरको एटिआर जहाज पनि मर्मत गरेको थियो। 

यसले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमतर्फ पूर्वी तराईमा सहकारीमार्फत करिब १ हजार बिघा क्षेत्रफलमा पूर्णयान्त्रीकरण तथा ‘एसआरआई’ विधिबाट खेती सञ्चालन पनि गरिरहेको छ । 

 

प्रकाशित: ११ माघ २०७४ ०९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App