coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण, कम्तीमा दुईको मृत्यु

जलालबाद– अफ्गानिस्तानको पूर्वी सहर जलालबादस्थित अन्तर्राष्ट्रिय सहायतासम्बन्धी संस्था ‘सेभ द चिल्ड्रेन’ को कार्यालयमा आक्रमण हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

आक्रमणकारीले सुरुमा कार्यालयको हातामा बम विस्फोट गराएका थिए । विस्फोट गराएलगत्तै बन्दुकधारी आक्रमणकारी कार्यालयभित्र प्रवेश गरेर आक्रमण गरेको बताइएको छ । आक्रमण हुँदा सेभ द चिल्ड्रेनको कार्यालयमा ५० कर्मचारी रहेको बताइएको छ ।

आक्रमणको  जिम्मेवारी आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)ले लिएको बिबिसीले जनाएको छ । आइएसले आक्रमणमा आफ्ना तीन लडाकु सामेल भएको बताउँदै थप आक्रमणको चेतावनी दिएको छ । उसले आफ्नो मुखपत्र अमाकमा सन्देश प्रवाह गर्दै विस्फोट पदार्थले भरिएको कारसहित आफ्ना तीन जना लडाकुले जलालबादमा रहेका बेलायती, स्वीडिस र अफगान संस्थालक्षित आक्रमण गरेको दाबी गरेको छ ।

आफ्नो कार्यालयमा आक्रमण भएपछि ‘सेभ द चिल्ड्रेन’ले अफ्गानिस्तानमा भइरहेका आफ्ना सबै गतिविधि तत्कालका लागि स्थगन गरेको छ । ‘सेभ द चिल्ड्रेन’ले जारी गरेका विज्ञप्तिमा आफ्नो प्रमुख उद्देश्य कर्मचारीको सुरक्षा रहेको बताउँदै अफ्गानिस्तानभर जारी कार्यक्रम अस्थायी रूपमा स्थगन गरिएको र कार्यालयहरु बन्द गरिएको बताएको छ ।

स्थानीय समयअनुसार बुधबार बिहान ९ बजेर १० मिनेटमा आक्रमण सुरु भएको थियो । सुरुमा आत्मघाती आक्रमणकारीले ‘सेभ द चिल्ड्रेन’ परिसर छिर्ने मुख्य प्रवेशद्वारमा कार बम विस्फोट गराएको नाङगाहार प्रान्तका गभर्नर अतुल्लाह खोग्यानीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अपुष्ट समाचार अनुसार आक्रमणमा संलग्न दुई आक्रमणकारीसमेत मारिएका छन् ।

प्रकाशित: ११ माघ २०७४ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App