८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

विद्रोहीलाई समर्थन नगर्न अमेरिकालाई टर्कीको आग्रह

अंकरा– सिरियाको कुर्दिस लडाकु समूह (वाइपिजी)का विरुद्ध कारबाहीलाई निरन्तरता दिएको टर्कीले उक्त समूहलाई समर्थन नगर्न अमेरिकालाई आग्रह गरेको छ ।

टर्कीले बुधबार अमेरिकालाई यस्तो आग्रह गरेको बताइएको छ । सिरियास्थित कुर्दिस लडाकु समूहविरूद्ध केही दिन यतादेखि हवाई र स्थलगतरूपमा समेत सैन्य कारबाही जारी राखेको टर्कीलाई अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरेका छन् । उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले हवाई आक्रमण गरेको थियो । सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेको छ ।

टर्कीले उक्त सहरमा कैयौं युद्धक विमानबाट हवाई आक्रमण गरेको छ । सो आक्रमणका बारेमा टर्कीले स्पष्टीकरण दिँदै आतंककारीमाथि कारबाही गरिएको जनाएको छ । राष्ट्रपति रिसेप तैयप एर्दोगानका प्रवक्ताले टर्कीको फौजविरूद्ध कुर्दिस लडाकुले अमेरिकाले दिएका हातहतियारको प्रयोग गरिरहेको बताएका छन् । टर्कीस् सेनाले सिरियाको अफ्रिन क्षेत्रबाट वाइपिजी लडाकुलाई लखेट्ने प्रयास जारी राखिरहेको जनाएको छ । आक्रमणपछि सिरियाका कैयौं गाउँ टर्कीको नियन्त्रणमा आएको समाचार पनि बाहिरिएका छन् ।

वाइपिजी संगठनलाई     टर्कीले आतंककारी र कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके)को विस्तारित संगठनका रूपमा विगत लामो समयदेखि हेर्दै आएको छ । उक्त संगठनले भने पिकेकेसँग आफ्नो प्रत्यक्ष सम्बन्ध रहेको विषय अस्वीकार गर्दै आएको छ । उसले टर्कीले आफूमाथि लगाएको आरोप निराधार रहेको पनि बताउँदै आएको छ । सिरियामा हमला जारी राखेको टर्की सरकारले इस्लामिक स्टेटविरूद्धको संघर्ष पूरा भइसकेको भन्दै वाइपिजीसँगको साझेदारी अन्त्य गर्ने अमेरिकासमक्ष माग गरिरहेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।

 संयुक्त राष्ट्रसंघ र अमेरिकाले टर्कीले गरेको भनिएको पछिल्लो कारबाहीका क्रममा सर्वसाधारणको ज्यान जानेगरी कुनै पनि घटना नहोस् भन्दै संयमताका लागि आग्रह गरेको छ । त्यसैगरी अमेरिकाले सर्वसाधारण नागरिक हताहत हुन नदिन र उक्त समूहविरूद्धको कारबाही सीमित समय र क्षेत्रभित्र रहेको सुनिश्चित गर्नसमेत आग्रह गरेको एएफपीले जनाएको छ ।

 त्यसैगरी फ्रान्सले पनि जतिसक्दो चाँडै युद्धविराम गर्न र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा त्यसबारे आकस्मिक छलफल गर्न माग गरेको छ । तर यस विषयमा राष्ट्रसंघले भने कुनै पनि प्रतिक्रिया दिएको छैन ।विद्रोही समूहले भने टर्कीबाट भइरहेको आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ । टर्कीले गरेको यस हवाई हमलाबाट कैयौं सर्वसाधारण मारिएको अधिकारवादीले बताएका छन् ।  सिरियामा पछिल्लो पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि चार लाख नागरिकको ज्यान गएको छ भने दशौं लाख नागरिक घरबारविहीन वा शरणार्थी भएका छन् ।

प्रकाशित: ११ माघ २०७४ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App