७ वैशाख २०८१ शुक्रबार
कला

विदेशीलाई काखा, नेपालीलाई पाखा !


काठमाडौं– धेरै पहिलादेखि पुस २८ लाई रिलिज मिति तोकेको ‘मिस्टर झोले’ले पृथ्वी जयन्तीको दिन सरकारले बिदा घोषणा गरेपछि पुस २७ गते नै फिल्म रिलिज गर्ने मनस्थिति बनाएको थियो ।

तर, यही समयको सेरोफेरोमा चलचित्र निर्माता संघले राजधानीमा दसैं, तिहारजस्ता ठूला बिदाबाहेक अन्य दिनमा बिहीबार फिल्म रिलिज गर्न नपाइने उर्दी जारी गरेसँगै ‘मिस्टर झोले’ शुक्रबार मात्र हलमा आयो । उता ‘लालपूर्जा’ र ‘पिंजडा ब्याक अगेन’ले  पनि सोनाम ल्होसारको अवसर पारेर माघ ४ गते नै देशैभर फिल्म रिलिज गर्ने प्रचारप्रसार गरेका थिए । तर, निर्माता संघले यी दुई फिल्मलाई पनि बिहीबार रिलिज हुन दिएन ।

तर, नेपाली निर्माता त्यतिबेला छक्क परे जब मल्टिप्लेक्समा हिन्दी ‘पद्मावत’को बुकिङ मात्र खुलेन बिहीबारकै दिन नेपालभर रिलिज हुने गरी सोसमेत बाँडियो । नेपाली फिल्मलाई लागेको कानुन हिन्दी फिल्मलाई किन लागेन ?

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पूर्व सम्झौताले विदेशी फिल्मको रिलिजको सवालमा केही नबोलेकाले ‘पद्मावत’ले फाइदा पाएको बताए ।‘हामीले गत हप्ता लागू गर्न खोजेको सम्झौता निर्माता संघको नयाँ कार्यसमितिले गरेको निर्णय होइन । पहिलेकै कार्यसमितिले गरेको निर्णयलाई हामीले लागू गराएका हौं । यसले नेपाली निर्मातालाई मर्का परेको छ । हामी वितरकसँग कुरा गर्छौं,’ अधिकारीले भने । चलचित्र संघसँग निर्माता संघले गरेको सम्झौतामा निर्माता संघले बिहीबार रिलिज नगर्ने भनेर स्पष्ट उल्लेख गरेको भए पनि विदेशी फिल्मको सवालमा मौन रहेको  बताए ।

‘पद्मावत’को नेपालभर वितरण अधिकार लिएको वैंकटेस फिल्मका मनोज राठीले यो हिन्दी फिल्मको ‘अफ डे’ रिलिज अपवादको घटना भएको बताए । उनले भने, ‘सामान्यतया हिन्दी फिल्म शुक्रबार नै रिलिज हुन्छन् । वर्षमा एक दुई पटक शुक्रबारबाहेक अरु दिन रिलिज हुन्छन् । संसारभर रिलिज हुने फिल्म हाम्रोमा मात्र रिलिज नहुँदा पाइरेसीको डर हुन्छ । हाम्रो पनि अप्ठ्यारो छ ।’

नेपालमा नेपाली फिल्मको भलाइका लागि भने भन्दै खुलेका पेशागत संगठनलाई विदेशी फिल्मको पक्षपोषण गर्ने गरेको आरोप छ । फिल्म रिलिजको समयमा नेपाली र विदेशीलाई गरिएको व्यवहारले पनि यही आरोपको पुष्टि गर्छ । एक निर्माताले दुःखी हुँदै भने, ‘नेपाल मात्र यस्तो देश होला जहाँका फिल्मसम्बन्धि संघ संस्था आफ्ना फिल्मको भन्दा विदेशी फिल्मको चिन्ता ज्यादा गर्छन् ।’
 

प्रकाशित: ११ माघ २०७४ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App