८ वैशाख २०८१ शनिबार
कला

अर्पण ऋचाको ‘फेरि फेरि’

काठमाडौं– अभिनेत्री ऋचा शर्मा र अभिनेता अर्पण थापालाई प्रमुख भूमिकामा लिएर बन्न लागेको नयाँ फिल्म ‘फेरि फेरि’को मुहूर्त गरिएको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा पुरन थापाको निर्माण, लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको मुहूर्त गरिएको हो।

निर्देशक पुरनले कमेडी कथामा पारिवारिक फिल्म बनाउन लागिएको बताए । ‘फिल्ममा नारीप्रधान कथा समेटिएको छ । दर्शकले हासोसँगै सामाजिक सन्देश पनि पाउनुहुनेछ,’ उनले भने । कार्यक्रममा अर्पण, ऋचा र नायक धर्मेन्द्र आचार्यले मुहूर्त सट दिएका थिए ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले फिल्मलाई शुभकामना दिँदै नेपाली फिल्म क्षेत्रले आफूमाथि राखेको विश्वास पूरा गर्न आफू लागिपरेको बताइन् । उनले आफ्नो कार्यकालमा नेपाली फिल्म क्षेत्रको विकासका लागि ठोस काम हुने दाबी गरिन् ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्म निर्माणमा मात्र नभई प्रदर्शनमा पनि अध्याधुनिक प्रविधिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले सहरी क्षेत्रका कतिपय हलमा अहिलेसम्म पनि एचडिमै फिल्म देखाइने गरिएको बताउँदै कम्तीमा सबै हलमा टु–के प्रोजेक्सनको अपरिहार्यता औंल्याए ।
माघ १८ गतेदेखि छायांकन सुरु हुने फिल्म पहिलोपटक ३५ सेन्सरयुक्त अत्याधुनिक प्रविधिको रेड इपिक डब्लु हेलियम एट के क्यामेराबाट खिचिँदैछ । फिल्ममा अर्पण थापा, ऋचा शर्मा, विकास चापागार्इं, धर्मेन्द्र आचार्य, ओमप्रतीक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनिका बास्तोला, राम बुढाथोकीलगायतले अभिनय गर्दैछन् ।

निरज थापा निर्माता रहेको फिल्ममा सुरेश बज्राचार्यको छायांकन, एनबी महर्जनको द्वन्द्व, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी, पुरन थापाको गीत, विकास चौधरी र पुरन थापाको संगीत छ ।
कार्यक्रममा फिल्म निर्माण कम्पनी माता बसुन्धारा मुभिजले प्रथम महिला बोर्ड अध्यक्ष निकितालाई सम्मान गरेको थियो । लामो समयदेखि फिल्मका विविध पक्षमा क्रियाशील अध्यक्ष निकिताको कार्यकालमा नेपाली फिल्म क्षेत्रको श्रीवृद्धिको कामनासहित उनलाई सम्मान गरिएको निर्देशक पुरनले बताए ।

 

प्रकाशित: ११ माघ २०७४ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App