७ वैशाख २०८१ शुक्रबार
कला

चित्रमा नेपाल कोरियाका संस्कृति र सभ्यता

काठमाडौं - नेपाल तथा कोरियाको कला, संस्कृति तथा सभ्यता दर्शाउने कला प्रदर्शनी नेपाल कला परिषद्मा शनिबारदेखि सुरु भएको छ । नेपाल र कोरियाका कलाकारले बनाएका चित्रको संयुक्त चित्रकला प्रदर्शनीलाई ‘इन्टररिफ्लेकसन’ नाम दिइएको छ । प्रदर्शनीमा उही थिममा नेपाल र कोरियाका चित्रकारले कोरेका  चित्रमा पाइने समानता तथा विविधता आकर्षणका परूमा रहेको छ ।

नेपालका तर्फबाट कला प्रदर्शनीमा सहभागी भएका कलाकार शशिविक्रम शाहले मिक्स मिडियामा बनाएको घोडाका चित्र र कोरियाका छो सङ योङले बनाएको घोडाको चित्रमा घोडा उही भए पनि यसलाई प्रस्तुत गर्ने शैलीमा भिन्नता देख्न सकिन्छ । उनले कर्क, इंक, सिटक, पिगमेन्ट विधिमा घोडाको चित्र कोरेका छन् । विषय एउटै भए पनि कसरी कलात्मक फरकपन दिन सकिन्छ भन्ने भाव यी दुई चित्र हेरेपछि पत्ता लाउन सकिन्छ । त्यसैगरी प्रोफेसर इम गुनले पनि मिक्स मिडियामा घोडाको कलाकृति रचेका छन् ।

इ जे साङले एक्रेलिक रंगमा बनाएको कोरियन चित्र र एक्रेलिक रंगमै कागजमा बनाएको नेपाली कलाकार गोविन्द डंगोलको चित्रले फरक संस्कारको धार प्रस्तुत गर्छ । डंगोलले कागजमा बनाएको गणेश भगवानको चित्र र साङले कोरियन परिवेश झल्काउँदै बनाएको विविधतायुक्त चित्रले दुई देशको बुझाइ र दर्शन चित्रित गर्न खोजेको छ । ली ओन जु ले मिक्स मिडियामा बनाएको कोरियन छापको चित्रले त्यहाँको सामाजिक परिवेश देखाउँछ । त्यस्तै कला समीक्षक मदन चित्रकारको एक्रेलिक चित्रले नेपाली संस्कृतिको प्रतिनिधित्व गर्छ ।
कलाकार जीवन राजोपाध्यायको अमूर्त चित्र होस् वा बरुण पोखरेलको बन्धन शीर्षकको तैल चित्र होस्, दुवैले मानवीय भावनालाई समेटेका छन् । विकुकुमार थापाको मनी भर्सेस हेल्थले फोहरमा काम गर्नेहरूको दैनिकीलाई आर्थिक युगमा परिवर्तन खोजेझैं लाग्छ भने देवेन्द्र थुम्केलीले क्यापिटलिज्म् शीर्षकमा मानिसको पैसा मोहलाई चित्रमा उतारेका छन् ।

कलाकार मुकेश श्रेष्ठको मिक्स मिडियाले नेपाली परम्परा हराउँदै गएको आभास दिएका छन् । मुनु बडालको चित्रले महिला र पुरुषको सहकार्यलाई एक्रेलिक रंगमा उतारेकी छिन् । ल्यान्डस्केपमा पुन हिल बनाएका नरबहादुर विकले नेपालको सौन्दर्य पस्केका छन् । उमेश शाहले मैथली कलाको पहिचान कलाबाट व्यक्त गरेका छन् । कोरियन कलाकार ह्वागं गो उनको लाइट एन्ड सेडका तैल चित्रले कोरियाका प्राकृतिक सुन्दरतालाई नेपाल भित्र्याउन सफल देखिन्छ । अ रियोंगको सुन्दरता बोल्ने चित्रले पानीभित्रका माछालाई बोतलभित्र राखेर कलात्मक रूप दिएकी छिन् ।
दुई देशबीचको कलाकारिताको सम्बन्ध बढाउन कला प्रदर्शनीले सहयोग गर्ने संयोजक मध्येका एक बरुण पोखरेलले बताए । उनी लामो समयदेखि कोरियामा बसेर नेपाली कला संस्कृतिको विस्तारमा खटिएका छन् ।

कला प्रदर्शनीको संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गरे । उनले प्रदर्शनीको उद्घाटन गर्दै कला प्रदर्शनीमार्फत कलाकारबीच मात्र नभई देशबीचमा कलात्मक सौहाद्र्रता वृद्धि हुने अपेक्षा गरे । कला समीक्षक मदन चित्रकारले विश्वमाझ कोरियाको आर्थिक समृद्धिले पहिचान पाएसँगै यस्तो कला प्रदर्शनीले कला समृद्धिको पाटो पनि उजागर गरेको उल्लेख गरे । बुधबारसम्म चलेको प्रदर्शनीमा नेपाल र कोरियाका ३८ जना कलाकारका कलाकृति थिए ।
 

प्रकाशित: ११ माघ २०७४ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App