७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘भुक्तानी नपाएका’ ठेकेदारले कार्यालयमा ताला लगाए

डिभिजन सडक कार्यालय काठमाडौं १ को कार्यालयमा ताल्चा लगाएर विरोध प्रदर्शन गर्दै निर्माण व्यवसायी । तस्बिर - हिमाल-नागरिक

काठमाडौं – निर्माण सम्पन्न भएका योजनाको रकम समयमा भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले डिभिजन सडक कार्यालय काठमाडौं–१ को कार्यालयमा ताल्चा लगाएका छन् । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा आवद्ध व्यवसायीले आर्थिक वर्ष ०७३-७४ सम्म निर्माण सम्पन्न गरेका योजनाको रकम भुक्तानी नगरेको भन्दै कार्यालयमा ताल्चा लगाएका हुन् ।

संघले बुधबार १२ देखि १ बजेसम्म कार्यालयको मुख्य गेटमा ताल्चा लगाएर विरोध प्रदर्शनमा उत्रिएका थिए । कार्यालयमा प्रमुख तथा अन्य कर्मचारी भित्रै  थुनिएका थिए । निर्माण व्यवसायीले बारम्बार भुक्तानी माग्दासमेत सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं–१ ले बारम्बार आलटाल गरिरहेको व्यवसायीले दाबी गरेका छन् । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष बालकृष्ण थापाले गत असार मसान्तसम्म निर्माण सम्पन्न गरेका योजनाको रकम भुक्तानी  नभएकाले बाध्य भएर ताल्चा लगाएको बताए ।

‘निर्माण सम्पन्न भइसकेका योजनाको बारम्बार भुक्तानीको लागि तोकता ग¥यौं । आलटाल भएपछि ताल्चा लगाउन बाध्य भएका हौं,’ उनले भने, ‘समयमै भुक्तानी नपाउँदा निर्माण व्यवसायी मर्कामा परेका छौं ।’ उनका अनुसार ती कार्यालयबाट व्यवसायीले करिब ३० करोड भुक्तानी लिन बाँकी छ । नयाँयुग निर्माण सेवा प्रालिका सञ्चालक टिकाराम सुवेदीले पुष्पाञ्जली मार्ग कोटेश्वरको सडक निर्माण सम्पन्न गरे पनि हालसम्म ७० लाख रुपैयाँ भुक्तानी नपाएको दाबी गरे । ‘गत असार मसान्तभित्रै निर्माण सम्पन्न मात्रै होइन् भ्याटसमेत भुक्तानी गरिसक्यौं,’ उनले भने, ‘निर्माण सम्पन्न गरेको ६ महिनाभन्दा धेरै भइसक्यो । अझैसम्म भुक्तानी पाएका छैनौं ।’

 राजधानी कन्सट्रक्सन प्रालिले डिभिजन सडक कार्यालयसँग भएको सम्झौता अनुसार राष्ट्रिय अनुसन्धान परिषद्ले सिंहदरबार परिसरको सडक कालोपत्रे गरे पनि अझैसम्म ६० लाख रुपैयाँ भुक्तानी नपाएको सञ्चालक कविता भट्टराईले दाबी गरिन् । ‘समयमै भुक्तानी नपाउँदा निर्माण सामग्री सप्लायर्सले हैरान पारिसके,’ उनले भनिन्, ‘बैंकबाट ऋण लिएर काम थाल्नुपर्छ । समयमा भुक्तानी नहुँदा निर्माण व्यवसायी ऋणमा डुब्ने जोखिम बढेको छ ।’ गौरीघाट–बौद्ध सडक निर्माण सम्पन्न भइसके पनि भुक्तानी नपाएको रौताहा÷साप जेभीका सञ्चालक केदार बुढाथोकीले बताए ।

निर्माण व्यवसायीका अनुसार विभिन्न योजनामा करिब दुई सय निर्माण व्यवसायीले भुक्तानी पाएका छैनन् । डिभिजन सडक कार्यालय काठमाडौं–१ का प्रमुख मुकुन्दराज अधिकारीले अर्थ मन्त्रालयले समयमा रकम निकासा नगर्दा ठेकेदार कम्पनीलाई भुक्तानी गर्न नसकेको बताए । ‘मन्त्रालयले समयमै रकम निकासा नगर्दा गत आर्थिक वर्ष निर्माण सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी गर्न सकेका छैनौं,’ उनले भने, ‘मन्त्रालयमा पटक–पटक ताकेता गर्दा समेत रकम उपलब्ध नहुँदा समस्या भएको हो ।’

डिभिजन सडक कार्यालय काठमाडौं–१ ले एक सय ९१  वटा योजना ठेक्का लगाएको छ । उनका अनुसार निर्माण सम्पन्न भइसकेका योजनाको करिब ३० करोड रुपैयाँ ठेकेदारलाई भुक्तानी गर्न बाँकी छ । प्रमुख अधिकारीले अर्थ मन्त्रालय र सडक विभागसँग समन्वय गरेर छिट्टै व्यवसायीको बक्यौता भुक्तानी गर्ने योजना रहेको सुनाए । संघले भुक्तानी रकम नपाएसम्म चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने जनाएको छ । संघका अनुसार बिहीबार क्षेत्रिय सडक निर्देशनालय बबरमहल र डिभिजन सडक कार्यालय काठमाडौं १ मा विहान ९ बजेदेखि १ बजेसम्म ताल्चा लगाउने कार्यक्रम छ ।

 

 

 

 

प्रकाशित: ११ माघ २०७४ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App