७ वैशाख २०८१ शुक्रबार
अर्थ

भट्टेडाँडामा अत्याधुनिक राडार तयार

ललितपुरको भट्टेडाँडामा जडित राडारमाथिको आकासमा काठमाडौं आउँदै गरेको हवाइजहाज । तस्बिर - अर्जुन तामाङ

 

काठमाडौं –ललितपुरको भट्टेडाँडामा अत्याधुनिक राडार (रेडियो डिटेक्सन एन्ड रेन्जिङ) तयार भएको छ । जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल नागरिक उड्डयन प्राधिकरणको एक अर्ब १० करोड रुपैयाँ लागतमा जडित उक्त राडार माघ १८ गतेदेखि औपचारिक सञ्चालनमा ल्याउने तयारी छ ।
नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानलाई सुरक्षित गराउने गरी नयाँ राडार जडान गरिएको छ ।

प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले नयाँ राडार सञ्चालनमा आएपछि नेपालको ७५ प्रतिशत क्षेत्र कभरेज गर्ने बताए । ‘पुरानो राडारले करिब एक सय १० किलोमिटरसम्मको जहाजको जानकारी दिन्थ्यो । नयाँ नयाँ राडार जडानपछि चार सय ५० किलोमिटरसम्मको जहाजको सम्पूर्ण जानकारी लिन सकिन्छ,’ महानिर्देशक गौतमले भने, ‘भट्टेडाँडामा जडित ‘इनरूट राडार’ र विमानस्थलको ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने छन् । राडारले रेडियो तरंगमार्फत विमानको स्थिति, उचाइ, गति जस्ता जानकारी दिन्छ ।’

नयाँ राडारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने सम्पूर्ण विमानको जानकारी पाउन सकिने प्राधिकरणले जनाएको छ । भट्टेडाँडाको आठ हजार दुई सय फिट उचाइमा जडान गरेको इनरूट राडार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडित टर्मिनल राडारको मंसिर २ गते परीक्षण भइसकेको छ।
संयुक्त राज्य अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनबाट आएको जहाजले फ्लाइट क्यालिब्रेसन गरी नयाँ राडार परीक्षण गरेको थियो । अमेरिकाबाट विशेष जहाजसहित ६ जनाको टोली नेपाल आएको थियो । उक्त टोलीमा जापानका चारजना प्राविधिक समेत सहभागी भएको जाइकाले जनाएको छ । यसैबाट नयाँ राडारसहित देशभरका उड्डयन उपकरण र प्रणालीको क्यालिब्रेसन गरिनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राडार सर्भिलेन्स महाशाखाका उपप्रबन्धक लेखनाथ सुवेदीले नयाँ राडार सञ्चालनमा आएपछि सुरक्षाका हिसाबले कुन विमान, कुन दिशाबाट कुन उचाइमा आउँदैछ भन्ने तथ्यपूर्ण जानकारी दिन्छ । ‘इनरूट राडार’ले नेपालको पूर्वका सबै भू–भाग र पश्चिममा दाङसम्मको विमानको गति, उचाइ लगायत जानकारी दिने सुवेदीको भनाइ छ ।

प्राधिकरणका उपनिर्देशक सञ्जिवसिंह कठायतले नयाँ राडार सञ्चालनमा आएपछि उडिरहेका जहाजहरूबीचको दूरी घट्न जाने तथा पाँचदेखि नौ किलोमिटरसम्मको अन्तर राखेर विमानले उडान, अवतरण गर्न सक्ने बताए । अहिलेसम्म २० देखि २८ किलोमिटर अन्तरमा अन्तर्राष्ट्रिय उडान हुँदै आएको उनको भनाइ छ । हाल राडारमार्फत उडानको अनुगमन सीमित भएकाले नेपाली आकाशभित्र उडिरहेका विमानको स्थिति थाहा पाउन कठिन हुने उनको भनाइ छ ।

साबिकको राडार पुरानो हुँदै गएको र स्पेयर पार्ट्स पनि बिग्रने अवस्थामा पुगिसकेकाले नयाँ जडान गरिएको प्राधिकरणले जनाएको छ । राडारको विषयमा औपचारिक जानकारी दिन नेपालस्थित जापानी दूतावासले औपचारिक कार्यक्रमको आयोजना समेत गरेको थियो ।

नेपालका लागि जापानी राजदूत मासामी ओगावाले जापान सरकारबाट राडार निर्माणका लागि दिएको सहयोगले नेपालको वायुसेवा सुरक्षामा  सुधार आउने बताए । ललितपुरको भट्टेडाँडामा नयाँ राडार जडानपछि विगतको तुलनमा विमान उडानमा जोखिम कम हुँदै जाने राजदूत ओगावाको भनाइ थियो ।  
नेपाली आकाशलाई सुरक्षित बनाउन सन् १९९७ मा पहिलोपटक जापान सरकारको सहयोगमा राडार जडान गरिएको थियो ।
भैरहवामा पनि राडार जडान गर्ने योजना
प्राधिकरणले आफ्नै लगानीमा भैरहवामा पनि राडार जडान गर्ने योजना बनाएको छ । के कति खर्चमा राडार जडान गर्ने भन्ने विषयमा भने प्राधिकरण स्पष्ट छैन । भैरहवामा राडार जडान भए देशैभरि हवाई उडानको गतिविधि कभरेज हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित: ११ माघ २०७४ ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App