७ वैशाख २०८१ शुक्रबार
राजनीति

८३ जनाको उम्मेदवारी


काठमाडौं – राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ८३ जनाले उम्मेदवारी दिएका हुन् ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्यमा प्रदेश नम्बर १ मा १२ जना, प्रदेश २ मा ९ जना, प्रदेश ३ मा १७ जना, प्रदेश ४ मा १२ जना, प्रदेश ५ मा ११ जना, प्रदेश ६ मा १२ जना र प्रदेश ७ मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन आयोगले बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकेको थियो ।

राष्ट्रियसभाका ५९ सदस्य संख्यामध्ये एकल संक्रमणीय मत प्रणालीअनुसार ५६ सदस्य छानिने व्यवस्था छ । बाँकी ३ सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने व्यवस्थ छ । ५६ सिटमध्ये प्रत्येक प्रदेशमा तीनजना महिला, एकजना दलित, एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट र अन्य तीन जना गरी ८ जनाका दरले ७ वटै प्रदेशबाट निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश नम्बर १ मा एमालेबाट ६, कांग्रेसबाट ४, माओवादी केन्द्रबाट १ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेश नम्बर २ मा एमालेबाट १, कांग्रेसबाट २, माओवादी केन्द्रबाट १, संघीय समाजवादी फोरमबाट २, राष्ट्रिय जनता पार्टीबाट २ र नेपाल संघीय समाजवादी पार्टीबाट १ जनाको उम्मेदवारी परेको छ । प्रदेश ३ मा एमालेबाट ६, कांग्रेसबाट ४, माओवादी केन्द्रबाट २, राप्रपाबाट १ र मजदुर किसान पार्टीबाट ३ जनाको उम्मेदवारी परेको छ।

प्रदेश नम्बर ४ मा एमालेबाट ४, कांग्रेसबाट ४, माओवादी केन्द्रबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जनाको उम्मेदवारी परेको छ । आयोगका अनुसार प्रदेश ५ मा कांग्रेसबाट ४, एमालेबाट ४, माओवादी केन्द्रबाट २ र जनमोर्चाबाट १ जनाको उम्मेदवारी परेको छ । प्रदेश ६ मा उम्मेदवारी दिनेमा एमालेका ५, कांग्रेसका ४, माओवादी केन्द्रका ३ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश ७ मा एमालेबाट ४, कांग्रेसबाट ४ र माओवादी केन्द्रबाट २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभाको निर्वाचनका लागि आयोगले प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुरको पाटन, प्रदेश नम्बर ४ को कास्कीको पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगका प्रवक्ता ढकालका अनुसार उम्मेदवारी दर्तापछि अब उम्मेदवारको विरोधमा बिहीबारसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ । निर्वाचन अधिकृतको कार्यालयले उजुरीउपर छानबिन गरेपछि माघ १४ गते निर्वाचन अधिकृतको कार्यालयले कायम उम्मेदवारको नामवली प्रकाशन गर्नेछ । सोही दिन उम्मेदवारी फिर्ता लिन समय तोकिएको छ ।

माघ १५ गते उम्मेदवारको अन्तिम नामवली प्रकाशन भएपछि सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता ढकालले बताए । त्यसपछि माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यले तोकिएको मतदान केन्द्रमा गई मतदान गर्नेछन् । मतदानका लागि आयोगले सात स्थानमा १४ वटा मतदान केन्द्र तोकेको छ । मतदान सम्पन्न भएर मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि सोही दिन अपराह्न ४ बजेपछि मतगणना कार्य सुरु गरिने कार्यतालिकामा उल्लेख छ ।

राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० सदस्य गरी २ हजार ५६ जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ तोकिएको छ ।
 

प्रकाशित: ११ माघ २०७४ ००:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App