८ वैशाख २०८१ शनिबार
अर्थ

चीनबाट कृषिजन्य सामग्रीको आयात घट्यो

रसुवा – चीनबाट नेपालमा ल्याइने कृषिजन्य सामग्रीको आयात घटेको छ। आर्थिक वर्षको पहिलो ६ महिनामा ३४.०२ प्रतिशतले आयात घटेको हो।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै साउनदेखि पुष मसान्तसम्ममा १३ हजार ३९ मेट्रिक टन सामग्री आयात भएको छ। प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले निकालेको अर्धवार्षिक तथ्याङ्क अनुसार ६५ करोड ३३ लाख ४८ हजार बराबरको सामग्री नेपाल भित्रिएको छ।  

गत आर्थिक वर्षको पहिलो ६ महिनामा १९ हजार सात सय ६३ मेट्रिक टन सामग्री आयातका लागि एक अर्ब ७२ लाख दुई हजार रकम बाहिरीएको थियो। यो वर्ष करुको पीठो, रेडिमेट मसला, ड्राइ मसरुम, क्वाची, बदाम, प्याज, कफि र ओखरको आयातमा बृद्धि भएको छ भने स्याउ, नास्पाती, लसुन, अचार, भोटे चिया र गुुन्द्रुकको आयात घटेको छ।

६२ करोड ६६ लाख ४० हजार तीन सय ५० रुपयाँको १२ हजार पाँच सय ३३ मेट्रिक टन स्याउ, एक करोड ६० लाख ५१ हजारको तीन सय २१ मेट्रिक टन लसुन, ३९ लाख ७९ हजार ५ सयको ८० मेट्रिक टन नास्पाती, तीन लाख ५१ हजार पाँच सयको ३ मेट्रिक टन अचार, एक लाख १३ हजार ५ सय २० को भोटे चिया, नौ हजार नौ सय ४० को ०.१४ मेट्रिक टन गुन्द्रुक आयात भएको छ।

त्यसैगरी १२ लाख ४५ हजारको ३९ मेट्रिक टन करुको पीठो, २ लाख २० हजारको ४ मेट्रिक टन रेडिमेट मसला, १२ लाख ७५ हजारको ५ टन ड्राइ मसरुम, २८ लाख ८० हजारको २० मेट्रिक टन ओखर, १६ लाख ४२ हजारको ३३ मेट प्याज, तीन हजार ६० को ०.८५ मेट क्वाची, ६ हजारको ०.०४ मेट बदाम, ५० हजारको ०.२ मेट कफि आयात भएको छ।

निर्यातमा बृद्धि

चीनबाट कृषिजन्य सामग्री आयातमा कमी आएको भएपनि निर्यातमा भने उल्लेख्य बृद्धि भएको छ। प्लान्ट क्वारेन्टाइन  अधिकृत रामनारायण यादबका अनुसार ३१६.३९ प्रतिशतले निर्यातमा बृद्धि भएको हो। तीन करोड २० लाख बराबरको बाँसको मुडा, काठको टेबल र अम्रिसोको कुचो निर्यात भएको छ।

१२ हजार आठ सय ८० ओटा बाँसको मुडा निर्यात गर्दा ३१ लाख २० हजार, तीन हजार दुई सय ५० केजी काठको टेबलबाट २ करोड ६० लाख र १९ हजार दुई सय केजी अम्रिसोको कुचो निर्यात गर्दा २८ लाख ८० हजार आम्दानी भएको अधिकृत यादबले बताए।

गत वर्ष साउनदेखि पुस मसान्तसम्म ७६ लाख ८५ हजारको सामग्री निर्यात भएको थियो।

प्रकाशित: १० माघ २०७४ १६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App