काठमाडौं- नेपाली खेलकुदको इतिहास नियाल्दा २८ वर्षअघिको सोल ओलम्पिकलाई विशेष चासो साथ हेर्ने गरिन्छ। दक्षिण कोरियाको सोलमा भएको २४ औं ओलम्पिक दुई कारणले महत्वपूर्ण छ नेपाली खेलकुदका लागि।
ओलम्पिकमा नेपालले जितेको एकमात्र पदक र नेपालबाट धेरै खेलाडीले भाग लिएको ओलम्पिक। सन् १९८८ को सोलओलम्पिकमा पहिलोपल्ट तेक्वान्दोलाई प्रदर्शन खेलका रूपमा राखिएको थियो। जहाँ नेपाली तेक्वान्दो खेलाडी विधान लामाले कांस्य पदक जितेर अविस्मरणीय बनाए।त्यो बाहेक नेपालका कुनै खेलाडीले ओलम्पिकमा पदक जित्न सकेका छैनन्।
अर्को सोल ओलम्पिकमा नेपालबाट १७ खेलाडीले भाग लिएका थिए। त्यसयता ओलम्पिकमा नेपालले त्यो संख्या पनि उछिन्न सकेको छैन।
सोल ओलम्पिकमा तेक्वान्दोलाई समावेश गर्नुमा दक्षिण कोरियाको नेतृत्वदायी भूमिका थियो। कोरियाली भूमिलाई तेक्वान्दोको जन्मथलोमा लिइन्छ। तेक्वान्दोबाट कोरियाले सर्वाधिक पदक जित्ने सम्भावना थियो। ओलम्पिक, एसियन, दक्षिण एसियाली खेलकुद (साग)जस्ता प्रतियोगिता गर्दा पनि आयोजक राष्ट्रले आफ्नो प्रभाव भएको खेल समावेश गर्न जोड दिन्छ।
नेपालले काठमाडौंमा आठौं दक्षिण एसियाली खेलकुद गर्दा करातेलाई पहिलोपल्ट समावेश गरेको थियो। नेपालले घरेलु भूमिमा गरेको तत्कालीन साफमा १४ स्वर्ण जित्यो। जुन एउटा प्रतियोगितामा नेपालले करातेबाट जितेको धेरैस्वर्णसंख्या हो।
सन् २०२० जापानमा हुने टोकियो ओलम्पिकमा कराते समावेश गर्ने पक्का भइसकेको छ। कराते ओलम्पिक समावेश गर्नुमा जापानको नेतृत्वदायी भूमिका छ।तेक्वान्दोमा कोरियाजस्तै विश्व करातेमा जापान बलियो राष्ट्र हो। ओलम्पिकमा कराते समावेश गर्नु नेपालका लागि पनि सुखद खबर हुन सक्छ, संयोगका हिसावमा पनि।
पहिलोपल्ट ओलम्पिकमा तेक्वान्दो समावेश गर्दा प्रदर्शनी खेल नै भए पनि नेपालले पदक जितेको थियो। दक्षिण एसियाली खेलकुदको आठौं संस्करणमा कराते र तेक्वान्दो पहलिो पटक समावेश गर्दा नेपालले दुवैमा १४/१४ स्वर्ण पदक जितेको थियो। पहिलो र नेपालबीचको यो संयोगले चार वर्षपछि जापानमा पनि निरन्तरता पाए त्यो नेपाली खेलकुदका लागि ऐतिहासिक हुनेछ।
नेपाललको लागि ओलम्पिक सहभागिता नै महत्वपूर्ण अवसर हो। तर घरेलु विवादका कारण करातेको ओरालो लाग्ने क्रम धेरै वर्षदेखि निरन्तर छ। कराते प्रशिक्षककै भनाइ सापट लिने हो भने कराते अहिले 'भिजन' बिनाको खेल जस्तो देखिएको छ।
१७ वर्षअघि जस्तो चर्चा छैन नेपाली करातेको। करातेलाई नेतृत्व गर्ने निकायसँग स्पष्ट योजना छैन। आठौं साफबाट सुरु भएको विवादको पीडा अहिलेसम्म भोगिरहेका छन्कराते खेलाडीले। गुमेको साख फर्काउने चुनौती छ करातेलाई। तर नेपाली करातेका सबभन्दा सफल खेलाडी तथा प्रशिक्षक दीपक श्रेष्ठ चुनौतीबीच उज्ज्वल भविष्य देखिरहेका छन्। ओलम्पिक सहभागिताले नेपाली करातेको स्तर र लोकप्रियतालाई पुनः माथि उकास्न सक्ने आशा छ, उनको। श्रेष्ठले भने, 'ओलम्पिकमा हामीले पदक जित्ने सक्ने अवस्था छैन। तर ओलम्पिक लक्षित योजना बनाए भविष्यमा पदकसँगै पुनः आफ्नो साखफर्काउन सक्षम हुन सक्छौं हामी।'
त्यसका लागि विवाद अन्त्य गर्दै अल्प र दीर्घकालीन योजना आवश्यक ठान्छन्उनी। ओलम्पिक लक्षित योजना बनाए एसियन र सागमा हामी पदक जित्न सक्षम हुने र त्यसले नेपालमा कराते पुनः लोकप्रिय खेल बन्न सक्ने श्रेष्ठको बुझाइ छ। पदक असम्भव नभएको पनि उनी दावी गर्छन। 'हामी एसियाली खेलकुदमा करातेबाट पदक जित्ने लक्ष्य राखेर गएका हुन्छौैं। कमजोर तयारीका बावजुद पनि कहिलेकाँही पदक जित्न सफल भइरहेका छौं,' सागमा दुई स्वर्ण जितेका पूर्व खेलाडी भन्छन्, 'ओलम्पिकमा पनि करातेका महारथी एसियाली नै छन्। त्यसैले हामीले यहाँ पनि पदकको लक्ष्य बनाएर सही ढंगको तयार गर्न सक्यौं भने पदक सम्भव छ।'
३९ वर्षे श्रेष्ठ कराते विकासका लागि चार कार्य प्राथमिकतामा राख्नुपर्ने बताउँछन्। उनको विचारमा सही नेतृत्व, स्पष्ट योजना, अन्तराष्ट्रिय सहभागिता र सही पहिचान आवश्यक छ।
करातेलाई नेतृत्व गर्ने व्यक्तिले इमान्दारितासाथ काम गर्न सकिराखेकाछैनन्। खेलभन्दा व्यक्तिगत स्वार्थका कारण करातेभित्रको विवाद थप बढिरहेको छ। गुट, उपगुटमा पिसिइरहेको छ कराते।
करातेलाई नेतृत्व गर्ने नेपाल कराते महासंघ, सितोरियो कराते जस्ता संघले पनि कराते विकासका लागि योजना आवश्यक ठानेका छैनन् वा बनाउन चाहिरहेका छैनन्।
नेपाली करातेको प्रतिष्ठा घटाउने अर्को कारक बनिरहेको छ अन्तर्राष्ट्रिय सहभागिता। एसियन, साग जस्ता आधिकारिक प्रतियोगिता हुँदा खेल्ने खेलाडीको टुंगो अन्तिम समयसम्म लागेकोहुँदैन। विवादबीच आधिकारिक प्रतियोगिता खेलिरहेका हुन्छन् कराते खेलाडीले।
नेपाल ओलम्पिक कमिटीलाई खुसी बनाउन सक्ने संघ नै अन्तर्राष्ट्रिय सहभागितामा हाबी हुने गरेका उदाहरण प्रसस्त छन्।
११औं सागमा स्वर्ण जितेकी गंगादेवी अधिकारीले इन्चोन पुगेर पनि एसियाली खेलकुद खेल्न पाइनन्। छनोट चरण पार गरेकी स्वर्णधारीले समेत एसियाड खेल्न नपाउनु नेपाली करातेलाई लज्जितबनाउने एउटा घटना हो। अर्कोतिर सरकारले स्वामित्व नलिएकी विमला तामाङले इन्चोन एसियाडमा कांस्य पदक जितेर देशलाई पदकविमुख हुनबाट जोगाइन।
कराते खेलाडीले भोग्नुपरेको अर्को प्रमुख चुनौती हो 'सकारात्मक पहिचान'।
करातेमा ठूलो सम्मान पाउने खेलाडी हुन् दीपक। ६ वर्षअघि खेलजीवनबाट संन्यास लिदा उनले टाटाको टि्रपर पुरस्कार पाएका थिए। त्यस्तै उनले सागमा लगातार दुई स्वर्ण जितेको भन्दै महर्जन निर्माण सेवाबाट पल्सर मोटरसाइकल र सरकारबाट कराते प्रशिक्षकको स्थायी जिम्मेवारी पाएका थिए। उनीपछि नेपाली करातेमा चर्चा र धेरै सम्मान पाउने खेलाडी इन्चोन एसियाडीकी कांस्य विजेता विमला तामाङ हुन्। तर उनीहरू दुवैले कुनै कम्पनीको ब्रान्ड एम्बेसडर बन्ने अवसर पाएनन्।
विवादका कारणले पनि कराते खेलाडीलाई निजी कम्पनी र संस्थाले त्यस्ता प्रस्ताव नराख्ने गरेको सागका दुई स्वर्णधारी श्रेष्ठ बताउँछन्। नवौं सागमा स्वर्ण जितेर फर्केपछि उनलाई तत्कालीन अवस्थाको मेरो मोबाइल(हाल एनसेल) ले नेपालका लागि ब्रान्ड एम्बेसडर बनाउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो। तर अन्त्यमा त्यो सम्झौता हुन सकेन। सम्झौता नहुनुमा करातेको विवाद एक मुख्य कारण भएको उनी सम्झन्छन्। उनले भने, 'जुनसुकै कम्पनी वा संस्था विवाद भएको ठाउँमा लगानी गर्न चाहँदैन। उनीहरूलाई त्यस्ता व्यक्ति वा संस्थासँग जोडिँदा विवादमा आउने डर हुन्छ। त्यसैले सामाजिक प्रतिष्ठा खेलाडी र संघ दुवैका लागि महत्वपूर्ण छ।'
कराते विकासमा सरकारको सहयोग नभएको होइन। सातदोबाटोस्थित पौडी पोखरी नजिकै कराते एकेडेमी निर्माण हुँदैछ। अबको ९ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ। त्यो भवन निर्माण भए एउटा निश्चित खेलका लागि एकेडेमी बनाउने कराते मार्सल आर्टसको पहिलो खेल हुनेछ।
सफल खेल करिअरपछि प्रशिक्षणमा लागेकाश्रेष्ठ ११ वर्षीया छोरी काव्यालाई आफ्नै खेलबाट आकर्षित गर्न सकिराखेका छैनन्। लिटिल एन्जल्समा पढ्ने काव्या पौडी खेलाडी बन्ने बाटोमा छिन्।
उनी भन्छिन्, 'मैले आफ्नै छोरीलाई कराते खेल्न प्रेरित गर्न सकिरहेको छैन। आफूले उपलब्धि र सफलता पाएको खेलमा छोरीलाई आकर्षित गर्न सक्दिनँभने म जस्ता अरु अभिभावकको रुचिकसरी जाग्छ करातेमा।'
करातेमा आफ्ना सन्तानको भविष्य सुरक्षित नभएको अभिभावकको बुझाइठान्छन् उनी। त्यसैले सर्वप्रथम कराते परिवारभित्र आत्मविश्वास र हौसला बढाउन जरुरी देख्छन् उनी।
योजनाबद्ध रुपमा काम गरे गुमेको पहिचान फर्कन सक्ने उनको बुझाइ छ। त्यसका लागि नेपालले ओलम्पिकका लागि जुनियर स्तर (यु–१४)बाट तयारी अगाडि बढाउन जरुरी छ। जापानमा हुने ओलम्पिकमा करातेको ८ तौल समूह समावेश गरिँदैछ। नेपालले अहिलेदेखि १० तौल समूहमा ओलम्पिक लक्षित योजना योजना बनाएर अगाडि बढ्नुपर्ने श्रेष्ठको सुझाव छ।
ओलम्पिकमा पदक जित्न सजिलो छैन नेपालका लागि तर ओलम्पिक अवसर बन्न सक्छ खेल विकास गर्न। ओलम्पिकलक्षित पूर्वाधार, योजनाले करातेको मात्र होइन अन्य खेल विकासमा पनि छलाङ मार्न सकिन्छ। त्यसका लागि प्रायोजक, मिडिया, सामाजिक प्रतिष्ठा र अभिभावकलाई विश्वास दिलाउन जरुरी ठान्छन् स्वर्णधारी कराते स्टार दीपक।
प्रकाशित: २८ श्रावण २०७३ ०४:११ शुक्रबार