६ वैशाख २०८१ बिहीबार
खेल

विश्वकप ट्रफीको अन्तर्राष्ट्रिय भ्रमण सुरु

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमेसिंगेले अनावरण गरेसँगै बुधबार कोलम्बोबाट यसै वर्ष रुसमा हुने फिफा विश्वकप ट्रफीको अन्तर्राष्ट्रिय भ्रमण सुरु भएको छ। तस्बिर: अजय फुयाल

कोलम्बो- श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमेसिंगेले अनावरण गरेसँगै बुधबार कोलम्बोबाट यसै वर्ष रुसमा हुने फिफा विश्वकप ट्रफीको अन्तर्राष्ट्रिय भ्रमण औपचारिक रुपमा सुरु भएको छ।

विश्वकपअघि संसारभर फुटबलको लोकप्रियता बढाउँदै विश्वकपप्रति चासो जगाउने उदेश्यमा गरिएको टुरअन्तर्गत यसपाली ट्रफीले ५१ देशको भ्रम्ण गर्नेछ। सेप्टेम्बर ९ मा मस्कोबाट सुरु गरिएको टुरअन्तर्गत २०१७ भित्रमा ट्रफीले रुसका १५ सहरको भ्रमण गरेको थियो। जनवरीबाट अन्तर्राष्ट्रिय भ्रमणमा निस्कने क्रममा ट्रफी टुरका संयुक्त आयोजक फिफा र कोकाकोलाले कोलम्बोलाई पहिलो शहरको रुपमा रोजेका हुन्। अन्तर्राष्ट्रिय भ्रमणमा निस्केको ट्रफी सबै ६ महादेशका ५१ देश हुँदै फेरी मस्को फर्किनेछ। रुसमा अन्य ९ सहरको परिक्रमा गरेर ट्रफी जुन ७ मा मस्को पुग्ने कोकाकोलाका अधिकारीहरुले जानकारी गराएका छन्।

विश्वकपको सक्कली ट्रफी लिएर सोमबार लन्डनबाट उडेको फिफाको विशेष जहाज खराव मौसमका कारण मंगलबार राती ढिलो गरी कोलम्बो आइपुगेको थियो। मंगलबारै मध्यरातमा फ्रान्स १९९८ का विजेता मिडफिल्डर क्रिस्टियन कोरम्बोले अनावरण गरेपछि ट्रफीको कोलम्बो भ्रमण अनौपचारिक रुपमा सुरु भइसकेको थियो । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले मंगलबार राती ट्रफीको औपचारिक अनावरण गर्ने कार्यक्रम भए पनि जहाज समयमा अवतरण हुन नसकेपछि कार्यक्रम फेरिएको थियो।

विश्वकपको उपाधि विजेता खेलाडीले मात्र ट्रफी बोक्न वा छुन पाउने फिफाको नियम छ। यात्रा क्रममा विजेता खेलाडीबाहेक सम्बन्धित देशका राष्ट्र प्रमूखले ट्रफी बोक्न पाउने छन् । यसअनुसार श्रीलंकाका राष्ट्रपति सिरिसेनाले ट्रफी बोक्ने कार्यक्रम थियो । तर राष्ट्र प्रमूखको अनुपस्थितीमा सरकार प्रमूखले अनावरण गर्ने र छुने चलन अनुसार प्रधानमन्त्री विक्रमेसिंगे र फ्रान्सका विश्वाप विजेता खेलाडी क्रिस्टियन केरम्बोले संयुक्त रुपमा ट्रफी अनावरण गरेका थिए। 

प्रत्येक चार वर्षमा हुने विश्वकपको हरेक संस्करणको एक वर्षअघि फिफाको मार्केटिङ नीतिअनुसार ट्रफीलाई विश्व भ्रमणमा निकालिन्छ । यसै वर्ष जुन १४ मा रुसमा सुरु हुने विश्वकपअघि ट्रफीले ५१ देश घुम्ने क्रममा १ लाख २६ हजार किलोमिटरभन्दा बढि दुरीको भ्रमण गर्दा दक्षिण एसियाका नेपाल, भारत, भुटान र बंगलादेश यसपाली भ्रमणतालिकामा समावेश छैनन् । चार वर्षअघि ब्राजिलमा विश्वकप हुनुअघि ट्रफीले दक्षिण एसियामा नेपाल, भारत, भुटान र बंगलादेशसहित ८८ देशको भ्रमण गरेको थियो।

२००६ र २०१० को संस्करणमा ट्रफीको प्रतिरुपलाई विश्व घुमाइए पनि २०१४ को संस्करणदेखि सक्कली नै घुमाइन लागेको हो । सन् २००६ को विश्वकपबाट ट्रफी टुर सुरु गरिएको हो । जर्मनीमा विश्वकप आयोजना हुनुअघि जनवरी ७ देखि अप्रिल १० सम्म ३१ राष्ट्रमा ट्रफीको भ्रमण गराइएको थियो । दोस्रोपल्ट २००९ को सेप्टेम्बरदेखि मे २०१० सम्म ट्रफी ८४ राष्ट्रमा घुमाइएको थियो ।

प्रधानमन्त्री विक्रमेसिंगेले विश्वकपको ट्रफी कोलम्बो आउनुले श्रीलंकाली फुटबल विकासमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे । ट्रफीको आगमनबाट युवा पुस्तामा फुटबलप्रतिको चासो जाग्ने बताउँदै उनले भने, ‘फुटबल विश्वमा भाइचारा र सदभाव स्थापनाका लागि प्रभावकारी माध्यम हो । कोलम्बोमा विश्वकप ट्रफीलाई स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौं । श्रीलंका फुटबल संघ, फिफा र कोकाकोलालाई धन्यवाद ।’

१८ क्यारेट सुनबाट निर्मित ३६.८ सेन्टिमिटर उचाइ तथा ६ किलो १ सय ७५ ग्राम तौलको हालको ट्रफी सन् १९७४ को विश्वकप विजेताले पहिलोपल्ट पाएको थियो । ट्रफीको तल १९७४ यताका विश्वकप विजेता राष्ट्रको नाम उल्लेख गरिएको छ ।

श्रीलंकाका  खेलकुदमन्त्री दयाश्री जयाशेखराले ट्रफीको आगमनबाट श्रीलंकामा फुटबल क्रेज बढ्ने बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय भ्रमण कोलम्बोबाट सुरु गरिएकोमा हामी फिफा र कोकाकोलालाई धन्यवाद दिन चाहन्छौं । यसले श्रीलंकाका फुटबल समर्थक, खेलाडी र फुटबलकर्मीमा विशेष उर्जा शंचार गर्नेछ।’

कोकाकोलाका भारत र दक्षिण पश्चिमी एसिया अध्यक्ष टी कृष्णकुमारले नयाँ पुस्तालाई फुटबलको माध्यमबाट उत्साह प्रदान गर्न र फुटबलमा आकर्षित गर्न ट्रफी टुर महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

स्थानीय सम्मेलन केन्द्रमा १ हजारभन्दा बढि समर्थकका बीच ट्रफी अनावरण गर्दै कोरोम्बोले दुई दशकअघि विश्वकप जित्दाको स्मरण आफूसँग अझै ताजा रहेको बताए। बुधबार सम्मेलन केन्द्रमा ट्रफीको सार्वजनिक प्रदर्शन गर्नुअघि विहान श्रीलंकाको महिला र पुरुष राष्ट्रिय फुटबल टोलीका खेलाडीले ट्रफीसँग फोटो खिचेका थिए।

प्रकाशित: १० माघ २०७४ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App