६ वैशाख २०८१ बिहीबार
खेल

चौंतीस वर्षपछि भिडन्त

हङकङ र मकाउविरुद्धको मैत्रीपूर्ण खेलको तयारीका लागि मंगलकार लगनखेलस्थित नेपाली सेनाको तालिम केन्द्रमा अध्यास गर्र्दै नेपाली राष्ट्रिय भलिबल पुरुष टोलीका खेलाडी ।

काठमाडौं –हङकङसँग नेपाली भलिबल टोलीले पछिल्लो पटक खेलेकै तीन दशक नाघिसकेको छ । नेपालले जापानमा सम्पन्न एसियन गेम्समा हङकङविरुद्ध खेलेको थियो । त्यसपछि दुई टोलीबीच जम्काभेट हुने साइत जुर्न सकेन ।

सुलभ रूपमा देशभर खेल्न सकिने भन्दै नेपाल सरकारले गत जेठमा भलिबललाई राष्ट्रिय खेल घोषणा गर्यो । राष्ट्रिय खेलका रूपमा स्थापित भएपछि बीचमा सेलाउन लागेको भलिबल पुनः जुरमुराउन थालेको छ । पछिल्लो समय निजी क्षेत्रले गरेको प्रायोजन सम्झौताले त्यसलाई पुष्टि गरेको छ । देशभित्रबाट मात्र नभई बाहिरबाट सहयोगी हातहरू थपिएका छन् । त्यसैमध्येका एक निरञ्जन गुरुङ र जयनारायण चौधरीको पहलमा नेपाल र हङकङको पुरुष भलिबल टोलीबीच आमनेसामने  हुने साइत जुरेको छ ।

नेपालले माघ १४ र १५ मा हुने मैत्रीपूर्ण खेलका लागि हङकङको भ्रमण गर्दै छ । नेपालले  युइन चाउ कोक स्पोर्ट्स सेन्टरमा पहिलो र पो विङ रोड स्पोर्ट्स सेन्टरमा दोस्रो खेल खेल्नेछ । त्यहीबाट मकाउ प्रस्थान गर्ने नेपालले माघ १७ मा मकाउको राष्ट्रिय टोलीसँग मैत्रीपुर्ण खेल खेल्नेछ । यही भ्रमणका लागि नेपालले झन्डै एक महिनादेखि तयारी थालेको छ ।

‘छोटो अवधिका बावजुद हामीले राम्रो तयारी गरेका छौं,’ राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान इम रानामगरले भने, ‘हामी लामो  समयदेखि सँगै खेलिरहेका छौं त्यसैले खेलाडीबीचको तालमेल राम्रो छ । पछिल्लो खेलका नतिजाले हाम्रो मनोबल पनि बढाएको छ ।’

पाँच महिनाअघि डेनमार्कको भिलवोभा क्लबलाई घरेलु मैदानमा हराएको नेपाली टोलीले लगत्तै भएको अर्को मैत्रीपूर्ण खेलमा छिमेकी प्रतिद्वन्द्वी बंगलादेशमाथि पनि विजय हासिल गरेको थियो । भिलवोभाविरुद्धको दुई मैत्रीपूर्ण खेल १–१ बराबरी गरेको नेपालले बंगलादेशविरुद्ध २–० को नतिजा निकालेको थियो । त्यसअघि गत वर्ष माल्दिभ्समा भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले कांस्य पदक जित्न सफल भएको थियो ।

‘पछिल्लो पटक खेल्दा भएका कमीकमजोरीलाई हामीले सुधार गरेका छौं । सबैले भन्ने गरेको हाम्रो रिसिभ कमजोर हो । त्यसमा सुधार गरेका छौं । अहिले रिसिभ र ब्लकमा बडी जोड दिएका छौं । स्पाइक त हाम्रो पहिले पनि राम्रो थियो,’ हङकङ र मकाउलाई हराउनेमा विश्वस्त देखिएकाले कप्तान इमले थपे, ‘हामी जित्नकै लागि खेल्ने हो । मकाउलाई हराउँछौं । हङकङलाई पनि हराउन हामी सक्षम छौं ।’जापानमा नेपालले हङकङविरुद्ध मिश्रित नतिजा निकालेको थियो । सागामिहारामा भएको पहिलो खेलमा हङकङलाई ३–२ को सेटमा हराएको नेपालले दोस्रो खेल ३–१ को सेटमा गुमायो । हङकङविरुद्ध ३४ वर्षपछि खेल्न लागेको नेपाली टोलीका प्रशिक्षक जगदीश भट्ट यो भ्रमणमा सुखद नतिजा निकाल्नेमा विश्वस्त छन्।

‘झन्डै चार दशकपछि हङकङविरुद्ध खेल्दै छौं । एसियन तथा एफआइभीले आयोजना गरेको प्रतियोगितामा धेरै नखेलेकाले हाम्रो वरीयता नदेखिएको हो । तर, हामी हङकङकै हाराहारीमा छौं,’ नेपालका प्रशिक्षक जगदीश भट्टले थपे, ‘मकाउलाई हामी हराउँछौं । हङकङलाई पनि हराउने विश्वास छ । त्यो नभए पनि कडा टक्कर दिनेछौं ।’

अन्तर्राष्ट्रिय भलिबल संघले गत वर्ष जुलाइमा जारी गरेको वरीयतानुसार हङकङ ७८औं र मकाउ १ सय ३७औं स्थानमा छ । सेटर र स्पाइकलाई बलियो आधार मानेका प्रशिक्षक भट्टले सर्भिस र रिसिभमा पनि टोलीले सुधार गरेको बताए । उनले थपे, ‘हामीसँग एकदमै अनुभवी सेटर छन् । विगतको कमजोरी सुधार गरेका छौं । तर, उनीहरूको रणनीतिअनुसार आफ्नो रणनीति तय गर्नेछौं ।’

नेपाल र हङकङबीच मैत्री खेलको समन्वय गरेका निरञ्जन पूर्वखेलाडी पनि हुन् । निरञ्जन र पूर्वमहासचिव समेत रहेका जयनारायणलगायत हङकङमा बसोबास गर्दै आएका नेपालीहरूले माघ १३ गत नेपाली भलिबल टोलीलाई सम्मान गर्नेछ । गत वर्ष एभिसी सेन्ट्रल जोन प्रतियोगितामा कांस्य जितेकाले भलिबल टोलीलाई उनीहरूले सम्मान गर्न लागेका हुन् ।मकाउ र हङकङबीचको मैत्रीपूर्ण खेललाई प्रशिक्षक भट्टले दक्षिण एसियाली खेलकुद (साग) र एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीका रूपमा लिएको बताए ।

‘एसियन च्याम्पियनसिपमा पनि भाग लिनेबारे हामीले सोचिरहेका छौं । च्याम्पियनसिपलगायत साग र सेन्ट्रल जोनको तयारीलाई पनि सहयोग पुग्नेछ,’ प्रशिक्षक भट्टले थपे, ‘तर, उपलब्ध खेलाडीले मात्र हामीलाई एसियन स्तरमा आफूलाई अब्बल गर्न गाह्रो हुन्छ । त्यसका लागि विकासका कार्यक्रमहरू ल्याएर नयाँ खेलाडी उत्पादन गर्नु आवश्यक छ  । हामीले अझै पनि छुट्टै फिजियो राख्न सकेका छैनौं । प्राविधिक रूपमा पनि सुधार गर्ने हो भने नेपालको स्तर अझ माथि पुग्नेछ  ।’

 

 

प्रकाशित: १० माघ २०७४ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App