काठमाडौं– फागुन ४ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’को ट्रेलर सार्वजनिक भएको छ । झन्डै तीन वर्षअघि फिल्म ‘कोहिनूर’मा अभिनेता श्रीकृष्ण श्रेष्ठको अपोजिटमा देखिएकी नायिका स्वेता खड्काले निर्माण गरेको यो फिल्ममा दयाहाङ राई उनको अपोजिटमा छन् ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा नायिका तथा निर्मात्री स्वेताले निकै मेहनतका साथ फिल्म निर्माण गरेको बताइन् । ‘सकेसम्म राम्रो फिल्म बनाउने कोशिस गरेका छौं । झन्डै तीन वर्षपछि दर्शकमाझ आउन लाग्दा डर र उत्साह दुबै छ,’ उनले भनिन् । श्वेताले श्रीकृष्ण श्रेष्ठलाई सम्झन छाडेको टिप्पणीमा प्रतिउत्तर दिँदै आफूले श्रीलाई कहिलै बिर्सेको भए पो सम्झिनु भन्दै श्रीकै प्रेरणाले फिल्म क्षेत्रलाई निरन्तरता दिइरहेको बताइन् ।निर्देशक आकाश अधिकारीले फिल्मको रिलिज मिति हेरफेर भए पनि दर्शकले फिल्म मनपराउनेमा आफू विश्वस्त रहेको बताए ।
‘पूर्व निर्धारित मितिबाट फिल्म सार्नु प¥यो तर जे हुन्छ राम्रोका लागि हुन्छ भन्ने अनुभव भएको छ,’अधिकारीले भने । कुलपूजामा गएका कारण दयाहाङ भने कार्यक्रममा उपस्थित थिएनन् । गीतमा देखिएका प्रज्वल सुजल गिरी र अनु शाह पनि कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित नभएको कार्यक्रममा जानकारी गराइयो ।मुस्ताङमा छायांकन गरिएको फिल्मको ट्रेलरमा स्वेता खड्का, दयाहाङ राई, विनोद न्यौपाने, नीर शाहलगायतका कलाकारको अभिनय समेटिएको छ । कायरा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा अनु शाह, कामेश्वर चौरसिया, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ, रमेश अधिकारी, जयनन्द लामाको पनि अभिनय छ ।
फिल्ममा स्वेतासँगै शैलेश खड्का निर्माता र रविन खड्का सह–निर्माता छन् । शम्भुजित बास्कोटा अतिथि संगीतकार रहेको फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेलको संगीत, वसन्त श्रेष्ठको नृत्य, यम थापाको लेखन, हिमाल केसीको द्वन्द्व, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन तथा पुरुषोत्तम प्रधानको छायांकन छ।
प्रकाशित: १० माघ २०७४ ०४:०८ बुधबार