८ वैशाख २०८१ शनिबार
समाज

शिविर भित्र सकस र अन्योल

भुटानी शरणार्थी शिविर भित्र बाँसको दाउरा बाँध्दै बिष्णु क्षेत्री ।युवराज विवश-नागरिक

दमक – भुटानी शरणार्थी शिविर छिर्दा वाइएफसी नजिकै अशक्तका लागि बनाइएको टहरामा बिष्णु क्षेत्री सकिनसकी दाउराको भारी मिलाउँदै थिए । ८२ वर्षे दमका रोगी उनका आङभरि पुग्ने लुगा पनि थिएनन् । जाडो बढेपछि उनलाई कसरी जाडो भगाउने चिन्ता छ । खुट्टा राम्ररी चल्दैनन, श्रीमतीको पनि त्यति भर छैन । उनी पनि अशक्तै छन् ।

छिमेकीले दिएका जाडोमा आगो ताप्न, उनले दुखेसो गरे, तर पैसा तिर्ने उपाय नै छैन । भुटान छाडेको २६ वर्षपछि पनि उनलाई भुटानकै अगाध पीर छ । छोराछोरी पनि छैनन् । दुखजिलो गरी निर्वाह गरेका उनी सहायता संस्थाले दिने राहतका भरमा जिन्दगी निर्वाह गरिरहेका छन् । आफ्ना सन्तान छैनन्, आखाँभरि आँशु पार्दै उनले भने, ‘दाजुभाइका छोराछोरी सबै अमेरिका गइसके, हामी यहाँ बस्न दिने हुन् वा हैनन् टुंगो छैन ।’

राहतका भरमा निर्वाह गरिसकेका क्षत्री परिवार अहिले भुटान जाने आशमा बसेका छन् । बिरामी परियो भने के गर्नुहुन्छ भन्दा उनी एकछिन टोलाए । ‘नजिकै छिमेकी छन् लगेर हेल्थपोष्टसम्म राखिदेलान्,’ उनले भने, ‘भाग्य रहेछ भने फर्केर आउला नभए रतुवा खोलामा बगि जाउँला ।’

शिविरकै सोेह्रघरे भित्रकै एउटा छाप्रामा ३ वटी श्रीमती भएपनि अहिले एक्लै भएका ८७ वर्षीय पूर्णबहादुर लिम्बू बस्छन् । १७ महिनाअघि उनकी कान्छी श्रीमतीको पनि देहान्त भयो । जेठी श्रीमतीको भुटानमै चोला उठ्यो, माइलीको भने बेलडागीँ शिविरमै मृत्यु भयो ।  नजिकैका नाता गोता पनि भुटानमा छन् । २ भाइ छोराको  पनि उहिल्यै मृत्यु भयो । भएका ३ छोरी अहिले भुटानमै छन् । २६ वर्षपछि १४ वर्षको उमेरमा अन्माएकी कान्छी छोरीकी छोरी उनलाई भेट्न आउँछिन् ।  ‘भुटान लगिहाले जान्छु, छोराछोरी उतै छन्,’ दुःख बिसाउँदै भने उनले, ‘उता पुगे कम्तीमा छोराछोरीको अनुहार देख्न पाउँछु ।’ अमेरिका पुनर्वास हुन उनलाई पटक्कै मन छैन । उनले भने, ‘श्रीमतीभन्दा अगाडि मर्न पाएको भए यस्तो दुःख त भोग्नुपर्ने थिएन । थलिएको ३ वर्षपछि उनकी श्रीमती सधैंका लागि छाडेर गइन् । यति भन्दाभन्दै उनको अनुहारमा आँखामा आँशुको छल्को देखिन थाले ।

लिम्बूलाई राहतका रूपमा दिइएको खान्की रुच्दैन । राहतमा पाएको ११ केजी चामलमध्ये आधा बढी ३० रुपैयाँ केजी बेच्छन् । आउने रकमबाट जेनतेन जिन्दगी चलाउँछन् । ‘चामल, दाल बेच्छु, अनि त्यसैबाट सब्जी किनेर खान्छु,’ पूर्णबहादुरले भने, ‘रासन लिन जान सक्दिँन, सक्नेले ल्याइदिन्छन् ।’ दाल पनि राहतको आएको उनलाई रुच्दैन, त्यो पनि ५० रुपैयाँ केजीमा बेच्छन् अनि लुगाफाटो किन्छन् । ‘जेनतेन जिन्दगी चलाइरहेको छु,’ उनले भने, ‘मिलेछ भने भुटानै फर्कन्छु ।’

अन्र्तराष्ट्रिय आप्रवास संगठन आइओएमले सन् २०१७ को नोभेम्बर १५ बाट पुनर्वासका सबै प्रक्रिया रोकेको छ । पुर्नवास रोकिएपछि अन्योल भने उस्तै छ । तेस्रो मुलुक पुनर्वासमा अयोग्य ठहरिएका र स्वदेश फिर्तीको आशामा बसेका शरणार्थी अहिले छाप्रामा छन् । दमकको बेलडाँगी शरणार्थी शिविरका सचिव टिकाराम रसाइलीले तेस्रो मुलुक पुनर्वासको प्रक्रिया रोकिएपछि अन्योलता छाएको बताउँछन् । ‘पारिवारिक बिखण्डनमा परेका शरणार्थीहरू बढी छन्’, उनले भने, ‘अब प्रक्रिया बन्द भएपछिको अन्योल अझै धेरै छ ।

शरणार्थीलाई पुनर्वास, घर फिर्ती र स्थानीयमा समायोजनका विकल्प अन्तर्राष्ट्रि रूपमा प्रचलनमा छन् । शरणार्थी सम्बन्धी राष्टरूसंघीय उच्च आयोग (युएनएचसीआर)ले भने करिब एकलाख १० हजार भुटानी शरणार्थीको पुनर्वास भइसकेको जनाएको छ । भुटानी शरणार्थी युवराज साङपाङले शरणार्थी समस्याको दीर्घकालीन समाधानको पहल गर्नुपर्ने बताउँछन् । रासन कटौती र पुनर्वास पनि रोकिएपछी शरणार्थीहरू भविष्यको चिन्ता छ । साङपाङ भने स्वदेश फिर्तीका लागि पटकपटक आन्दोलन भए पनि प्रभावहीन भएको बताउँछन् । ‘अब एकपटक स्वदेश फिर्ताका लागि पहल गर्नुपर्ने छ,’ उनले भने, ‘त्यसपछी भने नेपाल सरकारको निर्णय अन्तिम हुने छ ।’
समस्या समाधानको अन्योल
पटकपटक स्वदेश फिर्तीका लागि आन्दोलन भए पनि भारतले बाटो नखुलेपछि शरणार्थी आन्दोलन यत्तिकै छ । स्वदेश फिर्तीका लागि भएका आन्दोलन र नेपालका राजनीतिक दललाई दिइएको ज्ञापनपत्र पनि काम लाग्ने भएनन् । हजारांै पटक शरणार्थीले शिविरभित्रै अनशनसमेत गरे । पार नलागेर तत्कालीन परराष्ट्रमन्त्री केपी शर्मा ओलीले शरणार्थीका लागि तेस्रो मुलुक पुनर्वासको प्रक्रिया सुरु गरे । १ लाख २० हजार शरणार्थी तेस्रो मुलुक पुनर्वास भइसकेका छन् । युएनएचसीआर स्रोतले भन्यो, ‘अब १ हजार शरणार्थी फ्लाइट पर्खिरहेका छन् ।’

भुटानी शरणार्थी शिविर बेलडाँगीका पूर्व सचिव डिबी सुब्बा पनि नेपाल सरकारले समस्या समाधानका लागि पहल गर्नुपर्ने बताउँछन् । ‘नेपाल हामीलाई आश्रय दिने मुलुक हो,’ उनले भने, ‘अब नेपालले नै भुटानसम्म फर्काउने प्रबन्ध गरिदिनुपर्छ ।’ सुब्बाका पनि परिवारका सबैजसो सदस्य तेस्रो मुलुक पुगिसके । उनलाई भुटान नै फर्कने दृढइच्छा छ । फर्कन सकिएला जस्तो उनलाई पनि लागेको छैन । ‘घरमा श्रीमती म र छोरी छाै, छोरीले पनि जाने चाहना राखेकी छ,’ उनले भने, ‘मर्नुअघि भुटानै पुग्न पाउँ भन्ने इच्छा भने छ ।’

तर उनलाई मनमा चिसो पनि छ । ‘बाँकी रहेका शरणार्थीलाई स्थानीयसँग घुलमिल गरी स्थायी रूपमा नेपाल बसाउने हो कि भन्ने पीर पनि छ,’ उनले भने, ‘त्यसैअनुसार शरणार्थी सम्बन्धी उच्च आयोगले काम अघि बढाइरहेको छ । स्थानीयसँग सम्बन्ध सुधारका लागि कार्यक्रमसमेत त्यस्तै ल्याउन थालिएको छ ।’ अब शिविरमा रहेको विद्यालय पनि बन्द गर्ने र पढ्ने शरणार्थीलाई बाहिरको विद्यालयमा पढाउने तयारी थालिएको छ । सुब्बालाई त्यसै आधारमा अब शरणार्थीलाई स्थानीय समायोजन गर्न लागिएको शंका छ ।

तर दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोगले यस्तो प्रस्ताव नराखेको बताउँछन् । ‘यो सरकारले गर्ने निर्णय हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय कानुनको पनि विचार गरेर सरकारले पक्कै निर्णय गर्ने छ ।’
 

प्रकाशित: १० माघ २०७४ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App