coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बैंकको ढिलासुस्तीले भूकम्पपीडितलाई सास्ती

बैंकले पटकपटक बोलाएर रकम नदिएको भन्दै गुनासो लिएर जिल्ला प्रशासन कार्यालय पुगेका भूकम्पपीडित । तस्बिर : मन्जु उप्रेती -नागरिक

रामेछाप – जिल्लामा रहेका बैंकहरूले भूकम्पपीडितको नाममा निकासा भएको रकम समयमा नदिँदा भूकम्पपीडित मारमा परेका छन् । आफ्नो नाममा निकासा गरिएको रकम समयमा नपाएको भन्दै पीडितहरू गुनासो लिएर जिल्ला प्रशासन कार्यालयसमेत पुगेका छन् ।

जिल्ला समन्वय समितिबाट करिब एक महिनाअघि पीडितहरूको नाममा निकासा छोडिएको रकम  मन्थलीमा रहेको एनसीसी बैंकमा पटकपटक धाउँदा पनि नपाएको सुनापति गाउँपालिका २ का सुकवीर तमाङले बताए । उनले  पैसा निकासा भएर दुई पटकसम्म बैंकमा आउदासमेत पैसा नपाएको बताए । उनले उनी जस्तै गाउका अन्य भूकम्पपीडितलाई समेत २÷३ पटकसम्म बोलाएर पनि रकम नदिएको बताए ।

बैंकले पटकपटक बोलाएर रकम नदिएको भन्दै मंगलबार वडासचिव रुद्रप्रसाद चापागाईसहित जिल्ला प्रशासन पुगेर पीडितहरूले बैंकको ढिलासुस्तीले आपूmहरू मारमा परेको भन्दै गुनासो पोखेका छन । बैंकले पटकपटक बोलाउने तर रकम नदिने गरेको र मंगलबार पनि बैंक पुग्दा आज फर्म भरेर जानु भनी फर्काएको दिमी पोखरीका अर्का भूकम्पपीडित शम्भुलाल लामाले बताए ।
‘टाढादेखि आफ्नो नामको पैसा लिन समय र प्रैसा खर्च गरेर पटकपटक आयो, बैकले रकम नदिँदा पाउने रकमभन्दा बढी जान आउनै खर्च हुने अवस्था भइसक्यो’ लामाले थप्दै भने । भूकम्पपिडीतहरू आफ्नो नाममा आएको रकम झिक्न जादाँ बैंकले समेत फरक व्यवहार गर्ने गरेको वडासचिव रुद्र प्रसाद चापागाई बताउँछन् ।

दुइ दिनअघि मात्र बैंकले पीडितको पैसा निकासा भएर पनि समयमा नदिएको भन्दै खाँडादेवी गाउँपालिका ८ गागल भदौरेका वडाध्यक्ष इन्द्र बहादुर तमाङले समेत मन्थलीमा रहेको टुरिजम डेभलपमेन्ट बैंकले आफ्ना वडाका पीडितलाई समेत बैंकले उनीहरूको नाममा निकासा भएको रकम नदिएको भन्दै जिल्ला प्रशासनमा गएर गुनासो व्यक्त गरेका छन । बैंकले गरेका लापर्वाहीले पीडितले सास्ती व्यहोर्नु परेकाले समस्या समाधान गरिदिन जिल्ला प्रशासन कार्यालय रामेछापमा आग्रह गरेका छन् । बैंकले आफ्नो नाममा आएको पैसा अन्यत्र लगानी गरी फाइदा लिनका लागि  झुलाएको आरोप लगाएका छन् । बैंकले गरेको ढिलासुस्ती तथा आलटालका विषयमा पीडितहरूको गुनासोका आधारमा वास्तविकता के हो बैंकमा बुझ्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले जानकारी दिए ।
 

प्रकाशित: १० माघ २०७४ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App