४ वैशाख २०८१ मंगलबार
राजनीति

यस्ता छन् एमाले उम्मेदवार

काठमाडौं– नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । पार्टी स्थायी कमिटीको मंगलबार अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको बैठकले सातवटै प्रदेशमा उम्मेदवारको टुंगो लगाएको हो ।

 एमाले–माओवादी गठबन्धनबीच भएको सहमतिअनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेले २९ सिटका लागि उम्मेदवार तय गरेको हो ।

स्थायी कमिटीले प्रदेश १ बाट  नैनकला ओझा (महिला), मोरङ,  खेम नेपाली ( दलित), मोरङ,  हरिचरण शिवाकोटी (खुला), झापा, परशुमेघी गुरुङ (खुला), संखुवासभा र अगम बान्तवा (अल्पसंख्यक), इलाम तथा प्रदेश २ बाट  सुमन प्याकुरेल (खुला), सप्तरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसैगरी प्रदेश ३ बाट पार्वती रावल (महिला), चितवन, उदया शर्मा (महिला), काठमाडौं, सिंहबहादुर विक (दलित), सिन्धुपाल्चोक, बलराम बाँस्कोटा (खुला), काठमाडौं, बेदुराम भुसाल (खुला), काठमाडौं र रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर तथा प्रदेश ४ बाट रामबहादुर थापा (अपांगता), स्याङ्जा, गणेश तिमिल्सिना (खुला), पर्वत, शान्ति अधिकारी (महिला), बाग्लुङ, दीपा गुरुङ (महिला), लमजुङलाई उम्मेदवार तोकिएको छ ।

स्थायी कमिटीको निर्णयअनुसार प्रदेश ५ बाट रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा (महिला), रोल्पा र कोमल वली (महिला), दाङ तथा प्रदेश ६ बाट कविता बोगटी (महिला), हुम्ला, नन्दा शर्मा ( महिला), सुर्खेत, नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) र जाजरकोट,  ठगेन्द्र पुरी (खुला), पश्चिम रुकुमले टिकट पाएका छन् ।
त्यस्तै प्रदेश  ७ बाट कमला ओली (महिला), कैलाली, इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) र अछाम र चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ ।

एमालेले पोलिटब्युरो र केन्द्रीय सदस्यबाट केही नेतालाई उम्मेदवार बनाएको छ । पोलिटब्युरो सदस्यहरू गुरुङ, भुसाल, तिमिल्सिना र केन्द्रीय सदस्य भट्टराईलाई एमालेले उम्मेदवार बनाएको छ । उम्मेदबारको टिकट पाएका अन्य जिल्ला तहका नेता छन् ।
नोट अफ डिसेन्ट
एमालेमा उम्मेदवार चयनलाई लिएर असन्तुष्टि बढेको छ । उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले उम्मेदवार छनोट न्यायोचित हुन नसकेको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
प्रदेश  १ बाट जगन्नाथ खतिवडा, प्रदेश  ५ बाट ठाकुर गैरे र प्रदेश ६ बाट निरज आचार्यलाई उम्मेदवार नबनाएको भन्दै उनीहरूले नोट अफ डिसेन्ट लेखेका हुन् । खतिवडा उदयपुर, गैरे पाल्पा र युवा संघ नेपालका पूर्वमहासचिव निरज आचार्य जाजरकोटका हुन् । माओवादीसँगको तालमेलअनुसार उनीहरू प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न पाएका थिएनन् ।
‘मापदण्ड खासै केही तोकिएको होइन, गुटकै आधारमा उम्मेदवार चयन भएको हो,’ एमालेका एक नेताले भने, ‘आफ्नो पक्षमा जुन मान्छे ठिक हुन्छ त्यसैको आधारमा मापदण्ड बन्थ्यो ।’
 सामाजिक सञ्जालको प्रयोग गर्ने एमालेका कार्यकर्ताले नवप्रवेशी गायिका कोमल वलीलाई उम्मेदवार बनाएको भन्दै चर्को विरोध गरेका छन् ।

 

 

प्रकाशित: १० माघ २०७४ ००:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App