७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नामावली

भक्तपुर - नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली टुङ्गो लगाएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मंगलबार मध्याह्नबाट शुरु भएको स्थायी कमिटीको ९६औँ बैठकले नामावली टुङ्ग्याएको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

बैठकले १ नं प्रदेशबाट पाँच, २ नं प्रदेशबाट एक, ३ नं प्रदेशबाट छ र ४ नं प्रदेशबाट चार गरी १६ जनाको नाम टुंगो लगाएको हो। प्रदेश नं १ बाट नैनकला ओझा (महिला) मोरङ, खेम नेपाली (दलित) मोरङ, हरिचरण सिवाकोटी (खुला) झापा, परशुमेघी गुरुङ (खुला) संखुवासभा र अगम बान्तवा (अल्पसंख्यक) इलाम रहनुभएको छ।

त्यस्तै प्रदेश नं २ बाट सुमन प्याकुरेल (खुला) सप्तरी मात्र रहनु भएको छ भने प्रदेश नं ३ बाट पार्वती रावल (महिला) चितवन, उदया शर्मा (महिला) काठमाडौँ, सिंहबहादुर विक (दलित) सिन्धुपाल्चोक, बलराम बाँस्कोटा (खुला) काठमाडौँ, बेदुराम भुसाल (खुला) काठमाडौँ र रामचन्द्र राई दनुवार (अल्पसंख्यक) मकवानपुर रहनुभएको छ।

यस्तै प्रदेश नं ४ बाट रामबहादुर थापा (अपांगता) स्याङ्जा, गणेश तिमिल्सिना (खुला) पर्वत, शान्ति अधिकारी (महिला) बागलुङ र दीपा गुरुङ (महिला) लमजुङ रहनु भएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि सोमबार रातिसम्म चलेको बैठकले १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको थियो। जसमा ७ नं प्रदेशबाट चार, ५ नं प्रदेशबाट पाँच र ४ नं प्रदेशबाट चार जनाको नाम टुंगो लगाएको थियो। जसअनुसार प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम, चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा रहनुभएको छ।

यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालीकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुमलाई उम्मेदवार बनाएको छ।

प्रदेश नं ५ बाट रामलखन हरिजन (दलित) पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला) रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ। माघ २४ गते हुने निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरी २९ सदस्यमा उम्मेदवार दिने भएको छ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउने निर्णयसमेत गरेको सचिव ज्ञवालीले जानकारी दिए।

प्रकाशित: ९ माघ २०७४ १५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App