८ वैशाख २०८१ शनिबार
राजनीति

भारत नयाँ एजेन्टको खोजीमाः गजुरेल

उदयपुर – मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का स्थायी समिति सदस्य सिपी गजुरेलले भारतले नेपालको पुरानो एजेन्ट त्यागेर नयाँ छानेको आरोप लगाएका छन्। गाईघाटमा मंगलबार जिल्ला पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता गजुरेलले केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी ओलीलाई फोन गरेको बधाई दिनुले यो कुरा प्रमाणित भएको बताएका हुन्।

यो घट्नाबाट भारतले नेपालमा अब नयाँ एजेन्ट छनौट गरेको प्रमाणित भएको भन्दै मोदीले ओलीलाई फोन गरेर बधाई दिनु र भारत भ्रमणको निम्तो दिनुमा पुरानो एजेन्ट (देउवा) लाई त्यागेर नयाँ एजेन्ट छनौटमा भारत लागेको उनको व्याख्या थियो। ‘भारत अब पुरानो एजेन्टलाई छाडेर नयाँ एजेन्ट नियुक्त गर्ने पक्षमा छ’ जगुरेलले भने ‘त्यसैको प्रमाण हो मोदीले ओलीलाई फोन गरेर बधाई दिनु र भ्रमणको निम्तो दिनु।’

गजुरेलले नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) को एकता ‘भ्रमको खेती’ मात्र भएको आरोप लगाउदै दुई पार्टी एकीकरणबाट समाजबाद प्राप्त हुने भ्रम छर्न नक्कली एकीकरणको नाटक रचेको आरोप लगाए। बिभिन्न कम्युनिष्ट घटक मिलेर चुनावमा गएको देशभक्त गणतान्त्रिक मोर्चाको संयोजकसमेत रहेका गजुरेलले समाजबाद प्राप्त गर्नुअघि जनबादी क्रान्ति अनिवार्य आवश्यक पर्ने बताए। ‘समाजबाद ल्याउन भन्दै चुनाव जित्नका लागि एमाले र माकेबीच नक्कली एकीकरणको नाटक रचियो’ उनले भने ‘तर, संसारमा कहिँ पनि जनवादी क्रान्ति नभई समाजबाद आएको इतिहास छैन, त्यसैले यो एकता चुनाव जित्न रचिएको चाल मात्र हो।’

बाम गठबन्धनको नाममा एमाले–माके एकताको प्रयास नक्कली भएको आरोप लगाउँदै उनले यसले जनतालाई अल्पकालीन भ्रम छर्न भने सफल भएको बताए। ‘बाम गठबन्धनको नाममा एकता गर्ने भन्दै चुनाव जित्न नक्कली साँठगाँठ गरियो’ गजुरेलले भने ‘एकहदसम्म सफल पनि भए, चुनावमा बहुमत ल्याउनु जनतामा केहीहदसम्म भ्रम छर्न सफल हुनु हो।’

आप्mनो पार्टी नेकपा (क्रान्तिकारी) वास्तविक बाम एकताको पक्षमा रहेको भन्दै गजुरेलले जनबादी क्रान्ति सम्पन्न गर्ने कुरामा वैचारिक र व्यवहारिक प्रतिबद्ध कम्युनिष्टसँग मात्रै एकता हुनुपर्ने पार्टी धारणा रहेको बताए। त्यसकै पूर्वाधारका लागि भर्खरै सम्पन्न प्रतिनिधिसभा, प्रदेश र स्थानीय तह चुनावमा पार्टीले भाग लिएको उनले स्पष्ट पारे।

यथास्थितिबाद र संसदीयबादको भण्डाफोर गर्न आप्mनो पार्टी बिभिन्न बाम घटकसँग मिलेर ‘देशभक्त गणतान्त्रिक मोर्चा’को नाममा भण्डाफोर गर्ने उद्देश्यले चुनावमा भाग लिएको गजुरेलको भनाई थियो।

निर्वाचनमा आफ्नो पार्टी हारे पनि जनजीविकाका मुद्दा बोकेर अघि बढेको भन्दै उनले गठबन्धनको नाममा पैसाको खोला बगाएर चुनाव जित्नेहरुको हालत देखिन सुरु भएको बताए। प्रहरी खोजीको सूचीमा रहेका सांसद नवराज सिलवालप्रति संकेत गर्दै उनले दक्षिणपन्त्री खेमाबाट चुनाव जित्नेहरु कोही प्रहरीको आँखा छलेर भाग्नुपरिरहेको र कोही ऋणमा डुबेको बताए। यो चुनाव हारे पनि जनवादी गाणतन्त्रको मुद्दा बोकेका कारण जनताले एकदिन ठूलो पार्टी बनाएर जिताउने उनको विश्वास थियो।

प्रकाशित: ९ माघ २०७४ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App