७ वैशाख २०८१ शुक्रबार
समाज

ढुंगा तस्करीले ठूला आयोजनाको काम प्रभावित

टीकापुर- बढ्दो ढुंगा निकासीले कैलालीमा सञ्चालित विकास निर्माणका काममा प्रभाव परेको छ। जिल्लामा सञ्चालित सबैजसो सानाठूला विकास निर्माणका काममा ढुंगा अभाव हुन थालेको छ।

जिल्लामा सरकारको गौरवका आयोजना अन्तर्गतको रानी जमरा कुलरीया सिँचाई आयोजना, अत्तरीया–धनगढी–मोहना छ लेन सडक, मेडिकल कलेज, हुलाकी राजमार्ग लगायतका ठूला आयोजना निर्माणाधिन अवस्थामा छन। जिल्लामा अन्य थुप्रै साना आयोजना समेत निर्माणाधिन अवस्थामा छन। नीजि घर निर्माणको क्रम पनि पछिल्लो समयमा अत्याधिक बढेको छ।

कर्णाली नदीबाट भैरहेको ढुंगा संकलन र तस्करीले सिँचाई आयोजनालाई निकै अफ्ठ्यारो पारेको छ। आयोजनाको दोस्रो चरणको काम सुरु हुने तयारीमा छ । दोस्रो चरणको काम अन्तर्गत मोहना, पथरैया, काँडा लगायतका साना नदीमा तटबन्धको काम गर्नुपर्नेछ। जसका लागि थुप्रै ढुंगा आवश्यक पर्ने आयोजना प्रमुख सुशीलचन्द्र आचार्यले बताए।

‘अब हामीलाई प्रयाप्त मात्रामा ढुंगा चाहिने हो । यसरी नै ढुंगा संकलन पश्चात अन्यत्र निकासी हुने हो भने निकै अभाव हुन्छ’ उनले भने–‘यसलाई रोक्न अति आवश्यक छ।’

जथाभावी ढुंगा संकलनले एकातिर ढुंगा अभाव भैरहेको छ भने अर्कोतिर सिँचाई आयोजनाको मुहानमा समस्या खडा गरेको छ । नदीबाट जथाभावी ढुंगा संकलन गर्दा नदीको सतह मुहान भन्दा निकै होचो हुन पुगेको छ । जसले मुहानमा पानी चढ्न नसक्ने हो कि भन्ने आशंका उब्जिएको आयोजना प्रमुख आचार्य बताउँछन्।

सिँचाई आयोजनाका लागि मात्रै नभई अन्य आयोजनामा समेत प्रयाप्त ढुंगा आवश्यक छ । ती आयोजनामा समेत ढुंगा निकासीले नराम्ररी काम प्रभावित हुने देखिन्छ।

स्थानीय तहमा जनप्रतिनिधिको आगमनसँगै विकास निर्माणका कामले गती लिएको छ । भवन निर्माण, बाटोघाटो, पुलपुलेसा, तटबन्ध लगायतका काम सुरु भएका छन । ती सबै काममा ढुंगाको आवश्यकता अनिवार्य रहन्छ । अनियन्त्रित रुपमा ढुंगा निकासी हुन थालेपछि विकास निर्माणका काममा सोझै असर पर्न थालेको छ ।

यही समस्यालाई मध्यनजर गरेर सबै स्थानीय तहको बैठकले ढुंगा बालुवा लगायतको निकासी रोक्ने निर्णय गरेर जिल्ला समन्वय समितिलाई बुझाएको थियो । स्थानीय तहको आवश्यकतालाई मध्यनजर गर्दै जिल्ला समन्वय समितिले समेत ढुंगा बालुवा निकासीमा रोक लगाएको थियो । समन्वय समितिले रोक लगाएपछि निकासी ठेक्का पाएको गरुड कन्स्ट्रक्सनले अदालतमा मुद्दा दायर गरेको थियो । उसले समन्वय समिति, अत्तरीया र लम्की चुहा नगरपालिका तथा दुई नगरपालिकाका मेयरका नाममा समेत मुद्दा दायर गरेको छ ।

स्थानीय तहको निर्वाचन अघि नै समन्वय समितिले गरुड कन्स्ट्रक्सनका नाममा निकासी ठेक्का सदर गरेको थियो । सोही निर्णयलाई आधार मानेर उसले अदालतमा मुद्दा दायर गरेको हो । हाल ढुंगा निकासी बारेको मुद्दा अदालतमा बिचाराधिन अवस्थामा छ । मुद्दा अदालतमा बिचाराधिन अवस्थामा रहेपनि ढुंगा निकासी भने अनियन्त्रित रुपमा भैरहेको छ । कर्णाली नदीमा संकलन भएको ढुंगा बर्दियाको बबई नदीमा भैरहेको तटबन्धमा प्रयोग भैरहेको छ ।

टीकापुर नगरपालिकाको बाटो हुँदै ढुंगा निकासी हुन थालेपछि प्रमुख तपेन्द्रबहादुर रावलले रोक्नका लागि प्रहरीलाई निर्देशन दिएका छन्। उनले इलाका प्रहरी कार्यालय टीकापुरलाई पत्राचार गरेर ढुंगा तस्करी रोक्न भनेका हुन । ‘स्थानीय स्रोत स्थानीयले नै प्रयोग गर्न पाउनु पर्छ भन्ने हाम्रो लडाईँ हो’ उनले भने–‘आफूलाई अभाव हुने गरी अरुलाई बेच्नु हुँदैन।’

लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईले राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित हुनु दुःखद भएको बताए। उनले स्थानीय आवश्यकतालाई वेवास्ता गरेर भैरहेको अनियन्त्रित ढुंगा निकासीले समस्या उत्पन्न गर्ने बताए। ‘ढुंगा निकासी रोकिएन भने समस्या हुन्छ’ उनले भने–‘पछि हामीलाई चाहिएको ढुंगा कहाँबाट ल्याउने?’

जिल्लामा सञ्चालित सानाठूला आयोजनाको काम प्रभावित हुन नदिने तर्फ जिल्ला समन्वय समितिले सजगता अपनाएको छ । उसले ढुंगा बालुवा लगायतका स्थानीय स्रोतको प्रयाप्तताका बारेमा अध्ययन गर्ने भएको छ । विभिन्न विज्ञ सम्मिलित टोलीले अध्ययन पश्चात स्थानीय आवश्यकता र निकासी गर्न मिल्ने वा नमिल्ने बारेमा समन्वय समितिलाई प्रतिवेदन बुझाउने संयोजक सूर्यबहादुर थापाले जानकारी दिए ।

उनले स्थानीय आवश्यकतालाई परिपूर्ती गरेपछि मात्रै निकासी गर्न सकिने बताए । ‘हाम्रो पहिलो प्राथमिकता स्थानीय नै हो’ उनले भने–‘बढी भएको मात्रै निकासीका लागि अनुमति दिने हो ।’

उनले हाल बन्द रहेको ढुंगा बालुवा निकासी अदालतको फैसला पछि मात्रै खुल्ने वा बन्द रहने भन्ने बारेमा टुङ्गो लाग्ने बताए । उनले अदालतको फैसला अघि समन्वय समितिले कुनै निर्णय गर्न सक्ने कानूनी आधार नभएकाले निकासीका लागि अनुमति दिन नमिल्ने बताए । उनले अहिले भैरहेको ढुंगा निकासीलाई अवैध बताएका छन्।

ढुंगा तस्करीमा प्रहरीका साथै केही राजनीतिक नेता कार्यकर्ताको समेत संलग्नता रहेको बताईएको छ। केही व्यक्तिले राजनीतिक संरक्षणका आडमा ढुंगा तस्करी गर्दै आएको स्रोतको भनाई छ।

 

 

प्रकाशित: ९ माघ २०७४ १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App