coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्गा-बसन्त हत्यामा एउटै हतियार प्रयोग

बुटवल – एक वर्ष अघि रुपन्देहीको देवदहमा हत्या गरिएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र तीन साता अघि देवदहमै हत्या गरिएका युवासंघका अर्का कार्यकर्ता बसन्त पौडेलको हत्यामा एउटै हतियार प्रयोग भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

हत्याको अनुसन्धानमा संलग्न अधिकारीहरुका  अनुसार, एक वर्षअघि दुर्गाको हत्यामा बरामद भएको गोली र खोका र अहिले बसन्तको हत्यामा बरामद भएको गोली र खोका तथा हत्यामा संलग्न अभियुक्तबाट बरामद इटालियन पेस्तोल र गोलीको प्रयोगशाला परिक्षणले एउटै हतियार प्रयोग भएको खुलेको हो।

दुर्गाको एक वर्षअघि पुष ४ गते देवदह कोलीयपथमा गोली  प्रहार गरी हत्या गरिएको थियो।  बसन्तको देवदह–२ ढेकारमा पुष २१ गते गोली प्रहार गरी हत्या गरिएको थियो। हत्यामा संलग्न सुटर सहितका व्यक्तिहरु फरक भएपनि मुख्य योजनाकार देवदहकै मनोज पुन रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी पवन भट्टराईले जानकारी दिए।

गत साउन २० गते रुपन्देहीको मणिग्राममा शिरिसा मार्वलमा हानिएको गोली पनि दुर्गा र बसन्तलाई हानिएको पेस्तोलको भएको प्रहरीको निष्कर्ष छ। शिरिषा मार्वलमा पनि धम्क्याउने उद्देश्य राखेर गोली प्रहार गरि दुई व्यक्ति भागेका थिए। ‘त्यहाँ प्राप्त गोली र खोका पनि बसन्त र दुर्गा हत्यामा प्रयोग भएको पेस्तोलको भएको पुष्टि भयो’, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्याम ज्ञवालीले भने।

प्रहरीले बसन्तको हत्यामा संलग्न तीन मध्ये दुईलाई पक्राउ गरी सार्वजनिक गरेको छ। हत्यामा संलग्न एक फरार छन्। पक्राउ पर्ने नवलपरासी सुनवल नगरपालिका—७ अस्नैया बस्ने ३६ वर्षीय पदम चौधरीलाई चितवनबाट र डुमराहा—५ का ३६ वर्षीय महेन्द्र भन्ने महिनारायण चौधरीलाई पोखराबाट पक्राउ गरेको हो। तीमध्ये महिनारायण मुख्य सुटर हुन्। पदम हतियार, गोली र मोटरसाइकलको व्यवस्थापन र बसन्तको दैनिक गतिविधि निगरानी गर्ने गरेको प्रहरी अधिकारीहरुले बताएका छन्। बसन्तलाई हत्या गर्ने चौथोपल्टको प्रयासमा सफल भएको अनुसन्धानका क्रममा प्रहरीलाई उनीहरुले बयान दिएका छन्।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, घटनाका बेला तीनै जना घटनास्थल पुगेका थिए। पहिले पदमले बसन्त सःमिल पुगे नपुगेको रेकी गरे। बसन्त सःमिलमा आगो तापेर बस्दै गरेको देखे। त्यसपछि अलि पर बसेका महिनारायणलाई तीन थान हतियार सहित पठाए। ढोकाको चौकस चाहिएको भन्दै पुगेका उनले बसन्तका सामु एउटा कागज देखाए, त्यससगैं पेस्तोल पनि निकाले। काठ किन्न आएका ग्राहकले पेस्तोल देखाएपछि बसन्त तोरी खेततिर भाग्न थाले। भाग्न थालेका उनी खेतमा लडे, त्यही बेला उनको छातीको दाँयातिर एउटा गोली प्रहार भयो।

प्रहरीले हत्यामा प्रयोग भएको हत्यामा प्रयोग भएको एक थान ९ एमएमको क्यालिभर इटालियन पेस्तोल, पेस्तोलमा लाग्ने ९ राउण्ड गोली,कटुवा पेस्तोल दुई थान, त्यसमा लाग्ने ५ थान गोली नवलपरासीबाट बरामद  गरेको हो। लु ४ प १४ नम्वरको मोटरसाइकल घटनास्थल भन्दा केही पर खोला किनारमा बरामद गरेको थियो भने उनीहरुको साथबाट  ९९ हजार रुपैंया नगद बरामद गरेको छ।

हत्या गर्नेलाई हुण्डीबाट पैसा

हत्यामा संलग्न अभियुक्त पटक—पटक अपराधमा संलग्न भइ जेल बसेर निस्केका व्यक्ति हुन्। उनीहरुलाई मनोजले ३ लाख २० हजार रुपैंया हुण्डी मार्फत पठाएको कागज फेला परेको डिएसपी भट्टराईले जानकारी दिए। ‘त्यही मध्येको ९९ हजार बरामद भएको छ,’ उनले भने- ‘अरु थप अनुसन्धान भइरहेको छ।’

यहाँका व्यवसायीलाई धम्क्याएर व्यापारीबाट उठाउने पैसा पनि हुण्डी हुँदै मनोजले हात पार्ने गरेको प्रहरीको भनाई छ। पहिले उनले पैसा उठाउन सहयोगी खटाउँदै आएकामा अहिले सहयोगी होइन्,व्यापारीलाई नै परिचालन गरेका छन्।

तिवारी हत्याका दुई फरार पक्राउ

एक वर्ष अघि दुर्गाको हत्यामा संलग्न मध्ये फरार दुई लाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। हत्यामा मनोजसहित १२ जनाको संलग्नता भएको प्रहरीको निष्कर्ष छ। त्यसमध्ये सात जनालाई पक्राउ गरी प्रहरीले २०७३ फागुन १५ गते सार्वजनिक गरेको थियो। मनोजसहित पाँच फरार रहँदै आएका थिए। हत्यामा संलग्न अर्का अभियुक्त समिरमानसिंह बस्नेत निर्माण व्यवसायी शरद गौचनको हत्याको अभियोगमा पक्राउ परिसकेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले तिवारी हत्याका स्थानीय योजनाकार श्याम  गोम्बेलाई चितवनबाट पक्राउ गर्न सफल भएको छ। बाराको गढिमाई-१ का बासिन्दा गोम्बे निर्माण व्यवसायी गौचन हत्याका सुटर भएको प्रहरीको भनाई छ। सेनाका भगौडा गोम्बे हत्यामा संलग्न भएको भेटिएपनि सिआइबीको टोलीले निरन्तर खोजी गरेको थियो। त्यसैगरी हत्यापछि भागेर कतार पुगेका तुलबहादुर सिंजालीलाई प्रहरीले त्यहाँबाट ल्याउन सफल भएको छ। हत्याका मुख्य योजनाकार पुन सहित सहयोगी सोमबहादुर  आलो  गरी दुई अझै फरार रहेको प्रहरीले जनाएको छ।

देवदह बसन्तपुरमा केविआई इट्टा उद्योग चलाउदै आएका दुर्गामाथि २०७२ फागुन ६ गते देवदह बसन्तपुर इट्टा उद्योग नजिकै गोली प्रहार भएको थियो। त्यसबेला मिस फायर भएकाले तिवारी सकुशल रहे। त्यस घटनामा पनि प्रहरीले मनोजकै संलग्नता रहेको निष्कर्ष निकालेको थियो।

प्रहरीले २०७३ फागुन १५ गते सार्वजनिक गरेका अभियुक्तमा देवदह नगरपालिका ६ का ३१ वर्षीय बसन्तबहादुर चापागार्इं, तिलोत्तमा नगरपालिका १५ का २७ वर्षीय बुद्धीसागर यादव र उनका भाइ राजेश यादव, तिलोत्तमा ८ का ३३ वर्षीय प्रयास भनिने खेमानन्द भट्टराई, देवदह ८ का २३ वर्षीय सागर थापा, नवलपरासीका २८ वर्षीय अगंद थारु र देवदहका २८ वर्षीय ऋषिश्वर कुमाल हुन्। पक्राउ परेका सात जनामध्ये उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि बुद्धिसागर यादव र राजेश यादव साधारण तारेखमा छुटेका छन्।

प्रकाशित: ९ माघ २०७४ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App