८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश सांसदलाई रावलको सुझाव : समृद्धिका नयाँ योजनासहित काम गर्नुस्

धनगढी – नेकपा एमालेका उपाध्यक्ष एवं प्रदेश नम्बर ७ का संयोजक भीम रावलले समृद्धिका लागि नयाँ योजनासहित काम गर्न प्रदेशसभाका सांसदलाई सुझाव दिएका छन्।

मंगलबार नेकपा एमाले ७ नम्बर प्रदेशका संगठन समितिले आयोजना गरेको प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूलाई स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले देशमा राजनीतिक आन्दोलनको अन्त्य भइसकेकोले विकास र समृद्धिमा देशलाई अघि बढाउन नयाँ योजनासहित निर्वाचित सांसदहरूले काम गर्नुपर्ने बताए।

‘अब तपाई आफ्नो प्रदेशको सम्भावना, चुनौति र समाधानका बारेमा अध्ययन गरेर काम गर्नुहोस्’ उनले भने ‘यदि तपाईले अध्ययननै नगरि पदभार गर्नुभयो भने जनताको हितमा काम गर्न सक्नु हुन्न।’ उनले प्रदेशको प्रथम बैठक नभएसम्म यस ७ नम्बर प्रदेशको अध्ययन गर्न नवनिर्वाचित सांसदहरूलाई आग्रह गरे।

‘तपाईले कर्मचारी चलाउने हो, कर्मचारीले तपाईलाई होइन’ उनले भने ‘यदि तपाईमा क्षमता छैन भने कर्मचारीले तपाईलाई चलाउने छ।’ उनले कर्मचारी चलाउन सांसदहरू योग्य, निष्ठवान, ईमान्दार र अध्ययनशील हुनुपर्ने सुझाव दिए।

बाम गठबन्धन सरकारको यात्राको आरम्भ भइसकेकाले अबको पाँच वर्षभित्र पार्टीले जारी गरेका घोषणापत्रका आधारमा देशलाई समृद्धितर्फ डोहोऱ्याउन जुट्नुपर्ने बताए। ‘यदि हामी पनि पुरानै सरकारको शैलीमा काम गर्न लाग्यौ र जनतालाई दिएको आश्वासन पुरा गर्न सकेनौं भने पाँच वर्षपछि पार्टीको अवस्था दयनिय बन्ने छ’, उनले भने।

उनले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर छाड्ने स्पष्ट पारे। ‘दुई पार्टीबीच एकता हुँदैन कि भन्ने जुन आशंका छ त्यो मनबाटै तपाईहरू हटाईदिनुहोस्’, उपाध्यक्ष रावलले भने ‘जनताले देशमा स्थायीत्व चाहेका छन्, त्यही भएर बाम गठबन्धनलाई मत दिएका हुन। जनताको मतको कदर गर्न पनि पार्टी एकता गर्न जरुरी छ।’

उनले देशमा स्थायित्व नचाहने केही दलले पार्टी एकता हुँदैन भन्ने हल्ला फैलाएको र हल्लाको पछि नलागी संगठनका सदस्यहरूले पनि पार्टी एकताको वातावरण बनाउन आह्वान गरे। अब प्रदेश र केन्द्रमा बामगठबन्धनकै सरकार बन्ने उनको भनाई छ।

प्रकाशित: ९ माघ २०७४ १३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App