८ वैशाख २०८१ शनिबार
समाज

दिपायल आन्दोलन स्थगित, अब धर्ना कार्यक्रम मात्रै

डोटी – आसन्न राष्ट्रिय सभा निर्वाचनलाई सहयोग गर्न दिपायलमा जारी आन्दोलन थप खुकुलो पारिएको छ। संघर्ष समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले धर्ना बाहेकका सम्पूर्ण कार्यक्रमहरु तत्कालका लागि स्थगित गरेको छ।

यसअघि आइतबार संघर्ष समितिले राष्ट्रिय सभा निर्वाचनलाई ‘उपयोग’को रणनीति तय गर्दै सार्वजनिक तथा निजि यातायात, शिक्षण संस्था, बजार, बैंक तथा बित्तीय संस्था, राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालय खोल्ने निर्णय गरेको थियो। सो निर्णयले सरकारी तथा गैह्रसरकारी कार्यालयहरु भने बन्द गर्ने निर्णय गरेको थियो। यस्तै सरकारी सवारी साधनहरुमा पनि बन्देज लगाईएको थियो।

सो बैठकको निर्णयले माघ १२ गतेसम्मका लागि मात्रै त्यस्तो निर्णय दिएकोमा मंगलबारको बैठकले पुरै निर्वाचन अबधिभरका लागि थप निर्णय लिएको छ। ‘अब निर्वाचन अबधिभर नै परिमार्जित निर्णय लागु हुनेछ,’ संघर्ष समितिका संयोजक नरेन्द्र बहादुर खड्काले भने, ‘अब जिल्ला प्रशासन कार्यालय डोटी र क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा धर्ना बाहेकका सबै कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेका छौ।’

७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै २८ दिनदेखी दिपायलमा आन्दोलन भैरहेको छ। जसमा दुईपटक गरी १० दिनसम्म हड्ताल चलेको थियो। सरकारले प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि यहाँ तीब्र जनआक्रोश छ।

तर, ७ नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचन डोटीमै हुने र जसमा सहभागि हुने आउने प्रदेश सांसद र स्थानीय सरकारका प्रमुख/उपप्रमुखसंग दिपायलका पक्षमा ‘लविङ’ गर्ने रणनीति अनुसार आन्दोलनको स्वरुप फेरिएको संघर्ष समितिले जनाएको छ।

उता, मंगलबार पनि क्षेत्रीय प्रशासन कार्यालय दिपायल र जिल्ला प्रशासन कार्यालय सिलगढीमा राजधानी माग गर्दै धर्ना दिईएको छ। दिपायलको धर्नामा डोटी प्रदेश सभा (ख)बाट निर्वाचित सांसद त्रिलोचन भट्ट पनि धर्नामा सहभागी बनेका छन्। २८ दिनदेखीको आन्दोलनमा उनी पहिलोपल्ट प्रत्यक्ष सहभागी बनेका हुन् । यसअघि उनी काठमाडौमै थिए।

प्रकाशित: ९ माघ २०७४ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App