४ वैशाख २०८१ मंगलबार
समाज

१८ वर्षको हुँदापनि बढेन शरीर, उपचार गर्न आर्थिक अभाव

१८ बर्षे छोरा हस्तेलाई बोकेर सदरमुकाम जाँदै आमा । तस्वीर : नागरिक

जाजरकोट – छेडागाड नगरपालिका १० काफलाका  हस्ते पुनको  उमेर  १८ वर्ष भयो।  उमेरले १८ बर्षको तन्नेरी अवस्थामा पुगेको भएपनि  उनको  अवस्थाका भने ५ वर्षका वालकको जस्तो  छ।  

वुवा  पुर्णे पुन र आमा लालसरीको कोखबाट   १८ वर्षअघि जिल्लाको दुर्गम गाउँमा जन्मेका हस्ते पुनको पूर्ण रुपमा शारिरीक र मानसिक विकास नहुँदा उमेर पुगेर पनि उनी ५ वर्षिय बालक जस्तै देखिन्छन्। जन्मदेखि नै  अपांग भएर पीडित भएको पुनको उपचार हुन नसक्दा शरीरको आकार पनि  सानो बालकको जस्तो छ।  जन्मको दिनदेखि १८ वर्षको उमेरसम्म पनि   अस्पताल र डाक्टर र  औषधिको दर्शन नपाएका  उनको अवस्था दयनीय  छ।  

सरकारले दिने  अपांगता परिचय पत्र तथा सो अनुसारको सुविधा पनि उनले  पाउन नसकेको  आमा लालसरी पुनले वताइन्। दुई वर्ष पहिले बुवाको मृत्यु भएपछि परिवार आर्थिक संकटमा पर्दा पुनको हेरचाह र पालनपोषणमा समेत समस्या परेको स्थानीय धनेस विकले वताए।  उनले  गरिबी अज्ञानता र पहुँचको अभावले पुनको गतिलो उपचार हुन नसकेर शरीरको विकास नभएको उनको बुझाई छ।

बुवाको मृत्युपछि पुनको सबै हेरचाह मात्र होइन दिसापिसाब गराउनेदेखि सबै  जिम्मा आमा लालसरीको भएको स्थानीयहरु वताउँछन्। अपांग छोराको हेरचाहमा समय पुरै दिनुपर्ने भएपछि अन्य काम गर्न समेत समस्या पर्ने गरेको लालसरीले वताइन्। ‘हाम्रा लागि सहयोग गरिदिने को छ र?’ उनले आफ्नो विपन्नताको पीडा पोख्दै भनिन्।

छोरो सारै  सानो कदको मात्र नभएर कान नसुन्ने, बोल्न नसक्ने  भएका कारण आफूलाई धेरै चिन्ता लाग्ने गरेको उनको भनाई छ।  खेतवारीमा फलेको अन्नले सधैं खान नुग्ने र अन्य सम्पति पनि नभएका कारण छोराको उपचार हेरचाह र  परिवार पाल्न समस्या परेको उनको दुखेसो छ।

परिवारको तेस्रो सन्तानको रुपमा जन्मिएका पुनबाहेक लालसरीकी जेठी  छोरी  र अर्का छोराको विहे भइसकेको छ भने कान्छा छोराको पनि अवस्था उस्तै छ।  परिवारमा  ४  छोराछोरी रहेको  र उनीहरुले  गतिलो खान लगाउन र स्याहार पाउन नसकेको  स्थानीयहरु बताउँछन्।  हस्ते लगायत उनका भाई र  परिवारको लागि  सरकार र अन्य निकायले  सहयोग गर्नुपर्ने  अपांग उत्थान केन्दै जाजरकोटका अध्यक्ष यामवहदुर बस्नेतले बताए। उनले   सरकारको सेवा र सुविधा  विपन्न सम्म नपुग्नु दुःखको कुरा भएको बताए।

सदरमुकाम खलंगामा १८ वर्षीय छोरालाई बोकेर डुलाउदै गरेकी लालसरीले अपांगता परिचय पत्र पाए भत्ता पाइन्छ भन्ने सुनेर  सदरमुकामा आएको वताइन्।

प्रकाशित: ९ माघ २०७४ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App