७ वैशाख २०८१ शुक्रबार
विचार

माधवीको स्वाधीन बाटो

'नारी' शब्द बोल्दाखेरि देखिएको तिम्रा

आँखाको चमकलाई

मेरो हृदयको गहिराइमा नहराउने गरी छाड्न नबिर्से

किनभने त्यो चमक नभए नारीउपरको हरेक विचार

रुखो हुँदो रहेछ, त्यो चमकबिना

नारी 'नारी' शब्दमा अटाउन पनि अटाउन्न

 –गोपालप्रसाद रिमाल

राजधानीको शिल्पी थियटरमा धेरैपछि धित मार्ने नाटक प्रदर्शन भइरहेको छ। मजाकबाट थालिएर मजाकमै सकिने नाटकहरूको भीडमा भारतीय आख्यानकार भीष्म साहनीको नाटक 'माधवी' हेरुन्जेल म पूरै स्तब्ध भएँ। संवदेना र पात्रको समानुभूतिले सासै रोकिएलाझैँ भयो। उन्नत श्रव्यदृश्यको प्रभाव हलबाट बाहिर निस्केपछि हुन्छ भनिन्छ। 'माधवी' ले दर्शकलाई हलमा स्तब्ध पार्छ र बाहिर निस्केपछि सोच्न बाध्य बनाउँछ। युवा नाट्यकर्मी टंक चौलागाईँ धन्यवाद र बधाईका पात्र छन् जसले साहनीको कृतिलाई अनुवाद, परिकल्पना र निर्देशन गरेर सुन्दर नाटकको रूप दिएका छन्।

अनुपम कथा

'माधवी' भन्नासाथ नेपाली साहित्यप्रेमी मदनमणि दीक्षितको उपन्यासलाई सम्झन्छन्। वेद र महाभारतको एउटा पर्वमा आउने उपकथालाई दीक्षितले जुन उचाइ दिए त्यसले यो नेपाली साहित्यको अनुपम कृति साबित भयो। भाषा र प्रस्तुतिको अल्झो भएकाले कतिपयले २०३९ को मदन पुरस्कार विजेता यस कृतिलाई फेरि नेपालीमा 'अनुवाद' गनुपर्ने भनी ठट्टा पनि गरेका छन्। तर, त्यसको स्तर र उचाइमा भने कसैले प्रश्न उठाउन सक्दैन।

मदनमणिको उपन्यासमा भन्दा नाटकको उपकथा र प्रस्तुति केही फरक छ। श्रव्यदृश्यको महत्वपूर्ण कुरा,  यसले कथाको चुरो र संवेदनाको समभाव पक्रन सक्नुपर्छ। नाटक यसमा सफल छ। खासमा यो नाटक विश्वमित्रका महत्वाकांक्षी चेला गालबप्रति ययाति पुत्री माधवीको समर्पण र प्रेमको अनुपम कथा हो। के माधवी पनि गालबका लागि प्रेमकी प्रतिमूर्ति थिई? कि वासना र स्वार्थपूर्ति गर्ने साधनमात्र थिई? नाटकले गर्ने महत्वपूर्ण प्रश्न हो यो। यही प्रश्न हामी आजका नारी–पुरुष सम्बन्धबारे पनि गर्न सक्छौँ जुन अझै अनुत्तरित छ।

उन्नत श्रव्यदृश्यको प्रभाव हलबाट बाहिर निस्केपछि हुन्छ भनिन्छ। 'माधवी' ले दर्शकलाई हलमा स्तब्ध पार्छ र बाहिर निस्केपछि सोच्न बाध्य बनाउँछ।

तपोबलले क्षत्रीय कुलमा जन्मे पनि ब्रह्मर्षि हुन पुगेका विश्वमित्र पौराणिक युगका थुप्रै दानी र धर्मात्माहरूको सेखी झार्ने ऋषिका रूपमा चिनिन्छन्। राजा सत्यहरिशचन्द्रलाई उनले चर्को परीक्षा लिए। त्रिशंकुलाई सशरीर स्वर्ग पठाउने, सुनशेपलाई यज्ञमौलोबाट मुक्त गर्ने, इन्द्रबाट बलात्कृत गौतम पत्नी अहल्याको मर्यादा पुनःस्थापित गर्ने, मेनकाबाट छोरी जन्माएर जंगलमै अलपत्र छाड्ने जस्ता अनेक कृत्य उनले गरेका थिए। यस्ता सन्काहा ऋषिका चेला गालबले गुरु दक्षिणा लिनैपर्ने अड्डी लिएपछि उनले आर्यावर्तमै नभएका ८ सय अश्वमेध घोडा मागे। कुनै उपाय नभएपछि गालब आत्महत्या गर्ने स्थितिमा पुगिसकेको थियो।  एक मित्रको सुझावपछि ऊ आशाको अन्तिम त्यान्द्रो समाउँदै राजपाठ त्यागी आश्रममा बसिरहेका ययातिकहाँ पुग्यो। दानवीर ययातिले आफूसँग नभएको अश्वमेध घोडा दिनसक्ने कुरै भएन। तर, उनीसँग चक्रवर्ती राजा जन्माउन सक्ने र हरेक व्यक्तिसँग संसर्गपछि फेरि कुमारित्व प्राप्त गर्ने क्षमताकी सुन्दरी छोरी माधवी थिइन्। राजा–महाराजाकहाँ माधवीलाई सुम्पेर गालबले घोडा पाउन सक्नेछ। याचकलाई रित्तो हात फर्काउन नचाहने ययातिले माधवीलाई गालबसँगै पठाए।

यहीँनिर एउटी नारीको अस्मिताबारे अनेक प्रश्न उठ्छन्। नारी सृष्टिको मुहान हो। तर, ऊ बच्चा उत्पादन गर्ने कारखाना मात्र होइन। हरेक पुरुष सत्तामा नारीको उपभोग भने यसरी नै भइरहेको छ। माधवी सचेत नारी हो। ऊ गालबलाई प्रेम गर्छे। चोखो प्रेमसामु कुनै पनि कुरा गौण हुन्छ। त्यहाँ असीम समर्पणका कथा जोडिन्छन्। माधवी गालबका लागि आफूलाई बेच्न तयार हुन्छिन्। गालबलाई घोडा जुटाइदिन उनी कस्ता कस्ता राजालाई आफ्नो कुमारित्व सुम्पिन्छिन् र तिनका लागि चक्रवर्ती राजकुमार जन्माइदिन्छिन् भन्ने कथा असाध्यै मार्मिक छ। नवजात सन्तानको माया चटक्क मारेर हिँड्नु एउटी नारीका लागि कति कठिन कुरा हो! तर, माधवी यही गर्न बाध्य छिन्। किनभने, उनी गालबलाई ८ सय घोडा जुटाइदिन वचनबद्ध छिन्। किनभने, गालबलाई उनी आफूलाई भन्दा बढी माया गर्छिन्। दुई दुई सय अश्वमेध घोडा भएका तीन राजाका चक्रवर्ती राजकुमार जन्माइसकेपछि माधवीलाई थाहा हुन्छ, आर्यावर्तमा अब कसैसँग अश्वमेध घोडा छैन। यस्तो स्थितिमा गालबले फेरि आत्महत्या गर्ने स्थिति आउन सक्छ। माधवी गालबबाट प्राप्त ६ सय घोडा तबेलामा बाँधेका विश्वमित्रबाटै छोरा जन्माएर गालबलाई बाँकी २ सय अश्वमेध घोडा जुटाउन तयार हुन्छिन्।

माधवीले यो सबै गालबको प्रेमका लागि त गरेकी थिइन्! तर, गालबको के चाला हो यो! ऊ त माधवीलाई अब बूढी देख्न थाल्छ। गुरुपत्नी रहिसकेकी माधवीलाई स्वीकार्न नसक्ने बताउँछ। जब गालब प्रेमको बदलामा प्रेम दिन सक्दैन, त्यसपछि सारा पुरुषले शिर झुकाउनुपर्ने स्थिति साक्षात्कार हुन्छ। कठै, माधवीको प्रेम! उनले गालबलाई आत्महत्याको स्थितिबाट जोगाइदिइन्। आफैँलाई बेचेर पनि उनले गालबलाई गुरु ऋणबाट मुक्त गराइन्। तर, गालबका लागि अब माधवीको प्रयोजन सकियो। जब मान्छे अरूलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्छ, त्यहाँ मानवताले पनि आत्महत्या गर्छ। यही स्थितिमा माधवी भावी महारानी पदको लोभ त्यागेर स्वाधीनताको बाटोमा हिँड्छिन्।

आगामी बाटो

पिता ययातिको आश्रम, उनले आयोजना गरेको स्वयंवर र गालबलाई समेत छाडेर गएपछि माधवीको भविष्य के होला? हुन सक्छ, उनी जंगलमा बाघभालुको सिकार हुन्छिन्। कि त नगरवधू भएर उनले दिन बिताउनुपर्ने हुन्छ। यस्तो सोच्नु कति अत्यासलाग्दो छ! तर, आर्थिक अधिकारबिना स्वतन्त्र नारीको नियति त यही हुन्छ! यहाँनिर नर्वेली नाटककार हेनरिक इब्सेनको 'पुतलीको घर' की नायिका नोराको सम्झना हुन्छ। झन्डै ५ हजार वर्षअघिको वैदिक युगकी माधवी र २ सय वर्षअघिकी युरोपेली नारीको हालत उही हुन्छ जब उनीहरू स्वाधीनताको बाटो अँगाल्छन्। नोराको नियतिबारे चिनियाँ साहित्यकार लु सुनले भनेका थिए, 'नोरासामु दुईमात्र विकल्प छन्। झन् खराब हुनु वा पतिकै घर फर्कनु।' लुसुनको जोड आर्थिक अधिकारमाथि थियो जसले नारीलाई आत्मनिर्भर बनाउँछ। आत्मनिर्भरताबिनाको स्वतन्त्रता लहडमात्र हुन्छ। माधवीको हकमा पनि यही भन्न सकिन्छ। किनभने, उनको कथा आजका नारीको पनि निःस्वार्थ प्रेम र समर्पणको कथा हो।

नाटकको सबैभन्दा ठूलो सफलता मञ्चलाई वैदिक युगकै झल्को दिन सक्नु हो। विषयवस्तुलाई छाड्ने हो भने पनि नाटकमा आएका नयाँ पुस्ताले अभिनयमा बाजी मार्न थालेको छ। यो नेपाली नाटकको उज्ज्वल भविष्यको संकेत हो। शीर्ष पात्रको चुनौतीपूर्ण भूमिकामा अर्चना पन्थीलाई सशक्त अभिनय गराउन सक्नु निर्देशकको सफलता हो। गालबको भूमिकामा घिमिरे युवराज, विश्वमित्रको भूमिकामा राम केएसी, ययातिको भूमिकामा जीवन बरालको अभिनय तारिफयोग्य छ। नाटकमा राजा दिवोदासको भूमिकालाई विदूषक बनाउनुको औचित्य पुष्टि हुँदैन। तथापि, प्रदीप रेग्मी, सरोज अर्याल, किशोर चौलागाईँ, सविन कट्टेल, आकांक्षा जिसी, सुबी लामा, भावना न्यौपाने, उषा चौलागाईँलगायत कलाकारको अभिनयमा खोट लगाउने ठाउँ भेटिन्न।

प्रकाशित: २८ श्रावण २०७३ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App