काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्धन भण्डारणको लागि जग्गा खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बयान लिन सुरु गरेको छ।
खड्काको नेतृत्वमा चितवन, भैरहवा, झापा, सर्लाहीमा जग्गा खरिदमा राज्यलाई ठूलो व्ययभार पर्ने गरी आर्थिक अपचलन गरेको आरोपमा अनुसन्धान गरेको अख्तियारले मंगलबार खड्कालाई बोलाएर बयान लिन लागेको हो। खड्का बयान दिनको लागि मंगलबार १० बजे नै अख्तियार पुगेका छन्।
जग्गा खरिद अनियमिततामा खड्काको बयान लिन सुरु गरेको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले पुष्टी गरे। ‘ उहाँ बयान दिन अख्तियारमा आउनु भएको छ,’ पाण्डेयले भने, ‘अनुसन्धान जारी छ।’
जग्गा खरिदमा घोटाला भएको सार्वजनिक भएपछि छानबिन थालेको अख्तियारले चार महिना लगाएर करिब तीन सय जनालाई अनुसन्धानको दायरामा ल्याएर बयान लिएको जनाएको छ। अख्तियारले निगमका उच्च अधिकारी, जग्गा खरिद प्रक्रियामा संलग्न स्थानीय निकायका कर्मचारी, जग्गाधनी, बिचौलिया, जग्गाका सँधियारहरूसँग सोधपुछ र बयान लिएको छ।
जग्गा खरिद अनियमितताको ठहर गर्दै सरकारले खड्कालाई बर्खास्त गरे पनि अदालतले अन्तरिम आदेश दिएपछि पुनः निगम फर्किएका थिए। खड्कालाई निगममा राख्दा क्षति हुने भन्दै आपूर्ति मन्त्रालयले मन्त्रालय तान्ने निर्णय गरे पनि उनी हाजिर हुन गएका छैनन्।
प्रकाशित: ९ माघ २०७४ ०५:०२ मंगलबार