पोखरा – धनगढीको सुदूरपश्चिम–११ स्पोर्टिङ क्लब र सहारा क्लबले आहा रारा गोल्डकपको १६औं संस्करणको उद्घाटन खेलमै प्रतिस्पर्धा गर्ने भएका छन्।
अघिल्लो संस्करणमा घरेलु टोलीसँग ४–० को नराम्रो हार बेहोरेर बाहिरिएको सूदुरपश्चिम यो पटक फेरी त्यही मैदानमा प्रतियोगिताको पहिलो खेल खेल्दैछ।
सुदूरपश्चिम गत वर्षको हार विर्साउने तयारीमा जुट्दा घरेलु दर्शकको साथ पाउने सहारा जितलाई निरन्तरता दिने योजनामा छ । त्यही अनुसार दुवै टिम मंगलबार भरपुर तयारीका साथ मैदानमा उत्रदैछन् । सहाराका प्रशिक्षक किरण गुरुङ उपाधि घरमै राख्ने लक्ष्यका साथ झन्डै २ महिनादेखि तयारी गरिरहेको बताउँछन्।
‘यो पटक हामीले करिब २ महिनादेखि तयारी गरिरहेका छौं । स्थानीय खेलाडीको बाहुल्यता भएकाले सबैको साथ मिल्छ,’ सहाराका प्रशिक्षक गरुङले भने, ‘अनुभवी र युवा खेलाडी रहेकाले सूदुरपश्चिमविरुद्ध उत्ति गाह्रो नहोला।’
सहाराले यस पटक अनुभवी गोलरक्षकका रुपमा बिशाल श्रेष्ठलाई पाएको छ । त्यस्तै मानबहादुर तामाङ, लक्ष्मण जिसी, गौरब बुढाथोकी, रन्दीप पौडेल (यू–१६) जस्ता सशक्त र अनुभवी खेलाडी सहाराबाट खेल्न तयार रहेको गुरुङ बताउ्ँछन्।
‘सिनियर र जूनियर खेलाडीको संयोजन भएकाले टोली सशक्त बनेको छ । त्यसैले खेल निकै नै प्रतिस्पर्धात्मक हुनेछ,’ १२औं संस्करणको विजेता सहारा क्लबका प्रशिक्षक गुरुङले थपे, ‘लामो प्रशिक्षणले हामी यो पटक उपाधि जोगाउने लक्ष्यका साथ खेल्नेछौं ।’
३ वर्षअघि स्थापना भएको सूदुरपश्चिम–११ माघ १ गते सकिएको प्रतियोगिताको दोस्रो संस्करणमा पनि सशस्त्र प्रहरीको एपिएफसँग १–० ले हारेर सेमिफाइनलबाट घर फर्किएको थियो । दाङमा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिपमा पनि सुदूरपश्चिम एपिएफसँगै टाइब्रेकरमा ५–३ ले हारेको थियो।
पोखरा रंगशालामा माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २ विदेशीसहित १२ टोलीको सहभागिता रहनेछ।
मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, नेपाल पुलिस क्लव, संकटा, धरान फुटबल क्लब, सूदुरपश्चिम–११ स्पोर्टिङ क्लब, थ्रीस्टार क्लव, झापा–११, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लबसहित आयोजक सहारा क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ७ लाख १ हजार रुपौयाँ नगद पुरस्कार पाउँदा उपविजेता ३ लाख ५१ हजार रुपैयाँ पाउनेछन्।
प्रकाशित: ९ माघ २०७४ ०४:२६ मंगलबार