८ वैशाख २०८१ शनिबार
अर्थ

वीरगन्जको अर्धवार्षिक बजेट

वीरगन्ज – चालु आर्थिक वर्षको आधा अवधि अर्थात माघदेखि असार मसान्तसम्मका लागि वीरगन्ज महानगरले पहिलो नगर सभाबाट चार अर्ब २२ करोड २५ लाख ८९ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

मुलुककै नमुना सहरको रुपमा विकासको लक्ष्य हासिल गर्ने दीर्घकालीन उद्देश्य अनुरुप ल्याइएको भनिएको नीति तथा कार्यक्रम अन्तर्गत नगरप्रमुख विजय सरावगीले प्रस्तुत गरेको बजेट नगर सभाले सर्वसम्मत पारित गरेको हो ।

महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीका अनुसार नीति तथा कार्यक्रमलाई सफल कार्यान्वयन गर्न आर्थिक वर्ष ०७४-७५ का बाँकी अवधिका लागि अनुमानित आय–व्ययसहितको बजेट नगर सभाले पारित गरेको हो । ‘निर्वाचित जनप्रतिनिधि सहितको महानगरपालिकाको काम कारबाही अगाडि बढाउन यो बजेट आधार हुनेछ,’ रेग्मीले भने, ‘साउनपछिको नयाँ आर्थिक वर्षका लागि पूर्ण बजेट त्यति बेला आउने छ ।’

‘आयतर्फ आन्तरिक आयमा कर, सेवा शुल्क र दस्तुरबाट २१ करोड, राजस्व बाँडफाँडबाट तीन करोड, जनसहभागिताबाट दुई करोड र नेपाल सरकारबाट सशर्त अनुदानबाट तीन अर्ब चार करोड ६९ लाख ८९ हजार चार सय ४५ रुपैयाँ, समानीकरण अनुदान ९० करोड सात लाख ६२ हजार पाँच सय ५७ रुपैयाँ र अन्य आय ११ लाख तथा गतवर्षको एक करोड ४७ लाख ३७ हजार आठ सय ३७ रुपैयाँ गरी कुल जम्मा चार अर्ब २२ करोड २५ लाख ८९ हजार आठ सय ३९ रुपैयाँ आय अनुमान गरिएको छ,’ नगर प्रमुखद्वारा प्रस्तुत भएर नगर सभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख छ । ‘व्ययतर्फ चालु खर्चमा एक अर्ब २३ करोड ५९ लाख ६८ हजार, पुँजीगत खर्चमा दुई अर्ब ९८ करोड ६६ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।’

चालुतर्फ विनियोजित रकम कुल बजेटको २९.२७ प्रतिशत र पुँजीगततर्फको ७०.७३ प्रतिशत हुन आउँछ । विनियोजित बजेटको क्षेत्रगत रुपमा आर्थिक विकासमा एक करोड ५२ लाख १९ हजार, सामाजिक विकासमा ५४ करोड ९३ लाख ६० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ दुई अर्ब ९४ करोड २१ लाख १२ हजार, वातावरण तथा विपद व्यवस्थापन क्षेत्रतर्फ एक करोड ८५ लाख, संस्थागत विकास तथा सेवा प्रवाह एक करोड तीन लाख ३६ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६८ करोड ७० लाख ६२ हजार रुपैयाँ रहेको छ ।

‘योजनाको तर्जुमा भएपछि अब कार्यान्वयन महत्वपूर्ण पक्ष हो । हामीले तर्जुमा गरेका कतिपय कार्य सम्पादन गर्न हाम्रो सहकार्य, साझेदारी तथा रचनात्मक सहयोग आवश्यक पर्छ । त्यस कारण विभिन्न सरकारी निकाय, निजी क्षेत्र, दातृ निकाय, अन्तर्राष्ट्रिय संघ–संस्था, सहयोगी मित्र राष्ट्र, गैरसरकारी तथा सहकारी संघसंस्था, टोल विकास संस्था लगायत अन्य सबै रोकारवालालाई सहकार्यका लागि हामीले अह्वान गरेका छौं,’ महानगर प्रमुख सरावगीले भने, ‘वीरगन्ज महानगर नेपालको समृद्ध सहर बन्ने प्रचूर सम्भावना छन् । वीरगन्जको विकास र समृद्धिका हकमा यो नगरसभामा कोही पक्ष र प्रतिपक्ष छैन । नगर सभाको साझा संकल्प छ वीरगन्जलाई देशकै नमुना र उदाहरणीय सहर बनाइछाड्ने छौं ।’
 

प्रकाशित: ९ माघ २०७४ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App