coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पूर्वराष्ट्रपति उपचारमा सरकारको दश लाख

काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि एक सातादेखि भारतमा छन्। उनी अघिल्लो बिहीबार चण्डीगढस्थित पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा भर्ना भएका हुन्। यादवले उक्त अस्पतालमा  अध्ययन गरेका थिए।

त्रिवि शिक्षण अस्पतालमा परीक्षणक्रममा यादवको पिसाब नलीमा संक्रमणसाथै प्रोस्टेटसम्बन्धी समस्या देखिएको थियो।

यसैबीच सरकारले पूर्वराष्ट्रपतिको उपचारका लागि दस लाख रुपैयाँ दिने भएको छ। अघिल्लो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रपति यादवलाई उपचार गराउन बिल प्राप्त भएपछि हिसाब मिलाउने गरी पेस्कीस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

पारिवारिक स्रोतका अनुसार यादवको प्रोस्टेटमा जटिल समस्या देखिएपछि उनलाई भारत लगिएको हो। उनका साथमा छोरा चन्द्रमोहन र छोरी अनिता छन्। 'टिचिङ अस्पतालमा परीक्षणका क्रममा बायप्सी गर्नुपर्ने भनिएको थियो,' स्रोतले भन्यो, 'समस्या जटिलझैं लागेपछि आफू अध्ययन गरेकै अस्पतालमा जानुभएको हो।' उनका अनुसार पूर्वराष्ट्रपति यादव २० गते छोराछोरीसहित बिहान ९ः ५० बजे जेट एयरको विमानबाट दिल्ली हुँदै चण्डीगढ पुगेका हुन्।

साउन दोस्रो साता जनकपुरमा रहेका बेलामा यादवको पिसाब नलीमा समस्या देखिएको थियो। अस्पताल स्रोतका अनुसार डा. यादवको प्रोस्टेट ग्रन्थी बढेको छ। प्रोस्टेट पुरुषको पिसाब नलीमा हुने एक ग्रन्थी हो जुन विभिन्न कारणले बढ्ने वा सुक्ने गर्छ।

वरिष्ठ युरोलोजिस्ट अर्जुनदेव भट्टका अनुसार प्रोस्टेट ग्रन्थी बढ्ने क्रममा एकनासले नभएर दाँया–बायाँ वा बीचको भागमा विशेष आकारले वृद्धि हुन सक्छ। ग्रन्थीको बीच भाग वृद्धि हँुदा बिरामीको मूत्र निष्कासनमा सबैभन्दा बढी समस्या हुनेगर्छ।

प्रोस्टेट ग्रन्थीका कारण छिटोछिटो पिसाब लाग्ने, तुरुन्त पिसाब नखुल्ने, पिसाब रोक्नै नसकी चुहिने, निखि्रएको अनुभूति नहुनेजस्ता लक्षण देखिने उनले जानकारी दिए।

'पिसाबमा रगत जाने, मूत्र संक्रमण भइरहने, पिसाब थैलीमा पत्थरी जम्ने, मिर्गाैलाको काम गर्ने क्षमतामा ह्रास आउनेजस्ता लक्षण पनि प्रोस्टेट ग्रन्थी संक्रमणको कारण हुन सक्छ,' उनले भने, 'प्रोस्टेट ग्रन्थी बढेका वा खुम्चिएको पुरुषको मूत्र प्रवाह जाँचेर हेरिन्छ र त्यसका आधारमा कस्ता बिरामीलाई शल्यक्रिया गर्ने वा औषधिले नै व्यवस्थापन गर्ने भन्ने निर्णय गरिन्छ।'

डा. यादवको आन्द्रामा समेत समस्या रहेको छ। तीन वर्षअघि उनी ठूलो आन्द्रामा देखिएको घाउ उपचारका लागि जापान पुगेका थिए।

प्रकाशित: २८ श्रावण २०७३ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App