८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ओलम्पिकपछि पनि वार्तालाई निरन्तरता दिनुपर्छ : राष्ट्रपति इन

सोल – दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आगामी ओलम्पिक खेलकूदपछि पनि दुई कोरियाबीचको वार्तालाई जारी राख्नुपर्नेमा जोड दिएका छन्।

सोमबार आफ्नो सचिवालयका अधिकारीहरुलाई गरेको सम्बोधनमा उनले भने, ‘उक्त खेलकूदपछि पनि वार्ताको वातावरण बनाउनुपर्छ।’

उनले आफू वार्ताप्रति आशावादी भएको र आगामी दिनमा पनि वार्तालाई निरन्तरता दिनुपर्छ भन्ने गृहकार्यमा लागिपरेको उनले बताए।

आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले सहभागिता जनाउने भएको समाचार यसअघि नै आएको थियो।

सो खेलकूदका कारण दुई कोरियाबीच गएको महिना दिनयता तीन पटकसम्म उच्चस्तरीय वार्ता भएको छ भने चार वर्षयता पहिलो पटक उत्तर कोरियाली अधिकारीहरुले दक्षिणको भ्रमण गरेका छन्।

उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउने जानकारी यसअघि नै दिइसकेको छ। यसले गर्दा यी दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा सुधार आएको देखिएको छ।

उक्त खेलकूदमा २२ जना एथलेट्स र अरु खेलकूद अधिकारी उत्तरले दक्षिण पठाउन लागेको छ। ती खेलाडीको नामावली र उनीहरुले खेल्ने खेलका बारेमा ओलम्पिक कमिटीले अनुमोदन गरिसकेको बताइएको छ।

उक्त खेलकूदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहिआएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमका रुपमा विकास गर्न विश्व समुदायले नै आग्रह गरिरहेको छ।

प्रकाशित: ८ माघ २०७४ १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App